घडियाल गोहीको संरक्षणमा चुनौती



पोखरा आज/रासस
पोखरा, ६ फागुन ।

संसारमै दुर्लभ अवस्थामा रहेको घडियाल गोहीको संरक्षणमा चुनौती देखिएको छ ।

यसको संरक्षण गर्न चितवन राष्ट्रिय निकुञ्जले कसरामा ४० वर्षदेखि गोही प्रजनन केन्द्र स्थापना गरेको छ । निकुञ्जले प्रजनन केन्द्रमा गोही संरक्षण गर्दै आए पनि प्रकृतिमा छाडिएका गोहीको सङ्ख्यामा भने वृद्धि आउन सकेको छैन ।

निकुञ्जले वर्षेनी पाँच वर्ष उमेर पुगेका १५० वटाभन्दा बढी घडियालाई राप्ती, नारायणी तथा बबई नदीमा छाड्ने गरेको छ । निकुञ्जको तथ्याङ्कअनुसार अहिलेसम्म एक हजार ३०० भन्दा बढी गोही नदीमा छाडिसकिएको छ ।

निकुञ्जका अनुसार हाल यी नदीमा जम्मा २०० वटा घडियाल भेटिन्छन् । प्रजनन केन्द्रले राप्ती तथा नारायणी नदीको जोखिमयुक्त ठाँउमा रहेका घडियालका गुँडबाट अण्डा सङ्कलन गरी यसबाट बच्चा उत्पादन गर्ने गरेको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वेदबहादुर खड्काले दिए।

“एउटा घडियाललाई पाँच वर्षको बनाउन करीब रु १० लाख खर्च हुन्छ”उनले भने, “वर्षेनी गोहीलाई नदीमा छाड्ने गरे पनि सङ्ख्यामा भने वृद्धि आएको छैन । यसको मुख्य कारण पानी प्रदूषण नै हो ।”

गोहीको बासस्थानमा भइरहेको गिट्टी बालुवाको उत्खनन, माझीको तियारी जालमा परेर गोही मर्ने र केही गोहीलाई बाढीले भारततिर बगाउँदा गोहीको संरक्षणमा थप चुनौती देखिएको खड्काले बताए। निकुञ्जको तथ्याङ्कअनुसार गत भदौदेखि माघसम्म तियारी जालमा परेर ४ वटा घडियाल मरेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालले नदीमा हुने प्रदूषण र जलचर प्राणीलाई असर गर्ने गतिविधि नरोकिए घडियाल लोप भएर जाने बताए । घडियालले अण्डा पार्नेदेखि बच्चा जन्माउने काममा बालुवाकै प्रयोग गर्ने भएकाले गोही पाइने क्षेत्रमा नदीजन्य पदार्थको उत्खननमा पूर्णरूपमा रोक लगाउनुपर्ने उनको भनाइ छ ।

घडियाल संरक्षण गर्न १० जना कर्मचारी खटिएका छन् । केन्द्रले गोहीको आहाराको लागि वार्षिक १३ सय किलो पोखरीको माछा खुवाउने गरेको छ । गोहीको क्षेत्रमा ठूलो खर्च भए पनि प्राकृतिकरूपमा यसको सङ्ख्यामा वृद्धि नहुँदा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja