सामुदायिक विद्यालयबीच एकीकरण



पोखरा, ९ माघ ।

नवलपरासीको नवलपुरमा रहेका सामुदायिक विद्यालय एकीकरणमा जान थालेका छन् ।

विद्यार्थी सङ्ख्या कम रहेका र शिक्षक दरबन्दीसमेत कम भएका भौगोलिक रुपमा नजिकको दूरीमा रहेका सामुदायिक विद्यालयबीच एकीकरण हुने क्रम शुरु भएको हो । नवलपरासीको देवचुली नगरपालिका रहेका सात वटा विद्यालय हालसम्म एक अर्कामा एकीकरण भएका छन् ।

दुई वटा विद्यालय एकीकरणको तयारीमा रहेका छन् । देवचुली नगरपालिकामा रहेको लक्ष्मी आधारभूत विद्यालय र कुमारवर्ती आधारभूत विद्यालय, बरचुली माध्यमिक विद्यालयमा गाभिएका छन् । सोही नगरपालिकामा रहेको धु्रवज्योति आधारभूत विद्यालय देवचुली माविमा गाभिएको छ भने देवचुली आधारभूत विद्यालय भिमसेन आधारभूत विद्यालयबीच एकीकरण भएको छ ।

देवचुली नगरपालिकामा रहेको प्रगति आधारभूत विद्यालय र जनज्योति माविबीच एकीकरण गर्ने अन्तिम तयारी गरिएको छ । कक्षा छसम्म पढाइ हँदै आएको प्रगति आधारभूत विद्यालयमा करीब ११२ विद्यार्थी भर्ना भए पनि ८० को हाराहारीमा मात्रै विद्यार्थी नियमितरुपमा विद्यालय आउने गरेका छन् ।

विद्यालयमा पाँच जना स्थायी, एक अस्थायी, एक कार्यालय सहायक र दुई बाल शिक्षामा कार्यरत शिक्षक रहेका छन् । विद्यार्थीको सङ्ख्या कम भएकै कारण नजिकै रहेको अर्को विद्यालयमा समायोजन गर्न लागिएको नगर शिक्षा संयोजक मोती रिजालले जानकारी दिए ।

विद्यार्थी सङ्ख्या, शैक्षिक उपलब्धि र शिक्षाको गुणस्तर वृद्धिका लागि एकीकरणले सहयोग पुग्ने संयोजक रिजालले बताए। विद्यालय एकीकरणपश्चात् विद्यालयको भौतिक संरचना कम बनाए पुग्ने भएकाले यसले सरकारको आर्थिक भारसमेत घटाउने उनले बताए। एकीकरणपश्चात् शिक्षक सङ्ख्या धेरै भएमा अन्य दरबन्दी आवश्यक भएको स्थानमा खटाउन सकिने हुँदा आवश्यकताअनुसारको शिक्षक दरबन्दी मिलानमा समेत सहयोग पुग्ने संयोजक रिजालले बताए ।

विद्यार्थी सङ्ख्या कम भएका, भौतिक संरचना कमजोर भएका विद्यालय नजिकै रहेका विद्यालयसँग एकीकरण गरिएको जनाइएको छ । बढीमा आधा घण्टाको पैदलयात्रामा विद्यालय पुग्न सकिने गरी एकीकरण गरिएको संयोजक रिजालले जानकारी दिए । एकीकरणले शिक्षाको गुणस्तर वृद्धिमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

विद्यालय समायोजन गर्दा राज्यको लगानी र दायित्व कम हुने, शैक्षिक गुणस्तरसँगै तल्लो तहका विद्यार्थीले माथिल्लो तहका विद्यार्थीबाट संरक्षकत्वसमेत पाउन सक्ने शिक्षा तथा समन्वय एकाइ नवलपुरका प्रमुख कृष्णचन्द्र पोख्रेलले बताए।

प्रमुख पोखे्रलका अनुसार नवलपुरका अन्य स्थानीय तहमा भने एकीकरणको कार्य शुरु हुन सकेको छैन । एकीकरणका लागि एकीकरणमा जान चाहेका विद्यालय व्यवस्थापन समितिबीच समझदारी हुनुपर्ने भएकाले अन्यमा समेत एकीकरणको बहस शुरु भएको उहाँले जानकारी दिए। शैक्षिक गुणस्तर सुधारका लागि र कर्मचारी मिलानका लागि यसले सहयोग पुग्ने उहाँको धारणा रहेको छ ।

 

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja