पोखरा गण्डकी अस्पतालमा आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण



पोखरा

पोखरामा आमाको मिर्गौला छोरामा सफल प्रत्यारोपण गरिएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा मिर्गौला प्रत्यारोपण गरिएको हो । 

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नं. ४ तङ्ग्राम निवासी कमला पुनको मिर्गौला उनका छोरा २५ वर्षका बोमबहादुर पुनकोमा प्रत्यारोपण गरिएको हो । स्थानीय सहयोगदाताको साथ र आफ्नो मिर्गाैलाका कारण छोराको जीवनरक्षा भएकोमा आमा कमला निकै खुसी भएकी छन् ।

“आफैँले जन्माएको छोरा मृत्युको मुखमा पुगेको कसरी हेर्नु ? अङ्गदान दिएर छोरालाई बचाएँ, बरु उसैको काखमा मरुँला”, छोरालाई मिर्गाैला दान दिएर पुनर्जन्म दिएकी आमा कमला भनिन्, “मिर्गाैलाको सफल प्रत्यारोपणपछि छोराले पुनर्जन्म पाउँदा निकै खुसी छु, छोराको जीवनरक्षाका लागि आर्थिक सहयोग गर्नेलाई हृदयदेखि धन्यवाद छ ।” छोराको जीवनरक्षाका लागि आफूले मिर्गाैला दिने निर्णय गरेको बताउँदै पुनले आफूले जन्म दिएको छोरा बाँचेको हेर्ने रहर पूरा भएको बताइन् । 

दुवै मिर्गाैला फेल भएर जीवनमरणको दोसाँधमा पुगेका २५ वर्षीय बोमबहादुरले जन्मदाता आमाको मिर्गाैला पाएर पुनर्जीवन पाएका हुन् । आमाको मिर्गाैला पाएर पुनर्जीवन पाएका २५ वर्षीय बोमबहादुर अहिले पोखरामा उपचारकै क्रममा छन् । 

“अहिले चिकित्सकको प्रत्यक्ष निगरानीमा पोखरामै आमा छोरा बस्दै आएका छौँ, आमाले दिएको मिर्गाैलाले पुनर्जन्म पाएँ”, मिर्गाैलाको सफल प्रत्यारोपण गरेका बोमबहादुरले भने, “उपचारका लागि धेरै रकम खर्च भयो, जसका लागि हाम्रो परिवारको क्षमताभन्दा माथि थियो, तर देश विदेशमा रहनुभएका आफन्तजन र शुभेच्छुकबाट रु २० लाख सहयोग प्राप्त भयो, जसले मेरो जीवनरक्षाका लागि सहयोग पुग्यो ।”

गत भदौमा दुवै मिर्गाैला फेल भएको पत्तो पाएका बोमबहादुरको उपचारका लागि आर्थिक समस्या परेको थियो । भदौमा मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दुवै मिर्गाैला फेल भएको पत्ता लाए पनि बोमबहादुरको मणिपाल अस्पताल, फिस्टेल अस्पताल र आस्था अस्पतालमा डायलासिस भएको थियो । स्वास्थ्य परीक्षणका क्रममा आमाले छोरालाई मिर्गाैला दिन मिल्ने भएपछि गण्डकी अस्पताल पोखरामा हालै मिर्गाैलाको सफल प्रत्यारोपण गरिएको पुनले बताए । 

“आमाले मैले दिन्छु भनेपछि परिवारमा सल्लाह भयो, उहाँको मिर्गाैला परीक्षणपछि मिर्गाैला प्रत्यारोपण गर्न मिल्ने चिकित्सकको सल्लाहअनुसार प्रत्यारोपण गरिएको हो, अहिले  आमा र मेरो स्वास्थ्यमा सुधार आएको छ, केही समयकोे उपचारपछि घर फर्कने तयारीमा छौँ”, छोरा पुनले खुसी हुँदै भने, “आमाले जन्म त दिनुभएको थियो, २५ वर्षपछि आफ्नै मिर्गाैला दिएर पुनर्जन्म दिनुभयो, आमाप्रति कसरी धन्यवाद भनुँ, कुनै शब्द छैन ।”

डायलासिस गराउने क्रममा उपचार खर्चको अभाव भए पनि आफन्त गिरीबहादुर पुन संयोजक भएर ‘मिर्गौला पीडित बोमबहादुर बचाउ अभियान’ अन्तर्गत आर्थिक सङ्कलन समिति गठन गरिएको थियो । उक्त आर्थिक सङ्कलन समितिले बोमबहादुरको डायलासिस तथा मिर्गाैला प्रत्यारोपणका लागि विभिन्न चरणमा गरेर रु १९ लाख २९ हजार सहयोग रकम प्रदान गरिसकेको मिर्गाैला पीडित बोमबहादुर बचाउ अभियानका संयोजक पुनले बताए । 

बोमबहादुरका आफन्त, देश विदेशमा रहेका शुभेच्छुक, युके समाज तङ्ग्राम, पोर्चुगलमा रहनुभएका आफन्तजन, ताराखोला गाउँपालिका समाज कतार, कोरियामा रहेका नेपालीलगायत २७ सङ्घ, सङ्गठन तथा शुभेच्छुकको पहलबाट सङ्कलित रकम रु १९ लाख २९ हजार मिर्गाैला पीडित बोमबहादुरलाई हस्तान्तरण गरिएको संयोजक गिरीले बताए । 

“आर्थिक अवस्था कमजोर रहेको मिर्गाैला पीडित बोमबहादुरको परीक्षणका क्रममै धेरै रकम खर्च भइसकेको थियो, प्रत्यारोपण र थप औषधि उपचारका क्रममा परिवारले थेग्न सक्ने अवस्था थिएन, मिर्गौला रोगका लागि धेरै खर्च लाग्ने रहेछ”, संयोजक गिरीले भने, “बोमबहादुरको अहिले मासिक रु ६० हजार खर्च औषधि उपचारमा लाग्ने रहेछ, उहाँको उपचारका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।” अहिले आमा कमला पुन र छोरा बोमबहादुर पुन पोखरामा बसेर गण्डकी अस्पतालको प्रत्यक्ष निगरानीमा उपचार गराइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja