भलिबलमा खेलाडी रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित



पोखरा

भलिबलमा उदाउँदा खेलाडी रवि केसीले टाइगर कपको उपाधि घरेलु टिम गण्डकीलाई दिलाउन योगदान गरे र प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । केसी उनै खेलाडी हुन् जसले गत पुसमा बङ्गलादेशमा भएको ‘बङ्गबन्धु एसियन यु–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ मा राष्ट्रिय टिमबाट खेलेका थिए ।

पोखरामा आयोजित तेस्रो संस्करणको टाइगर कपमा सर्वोत्कृष्ट खेलाडीका रूपमा केसीले २५ हजार रुपैयाँ र ट्रफी हात पारे । राष्ट्रियस्तरको प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुनुलाई उनले खेल जीवनको उपलब्धिका रूपमा लिएका छन् ।

गण्डकीका टिम प्रशिक्षक रमेश केसीले प्रतियोगिताभर रविले उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । उमेरले जुनियर खेलाडी भए पनि उचाइ र जम्पले केसीलाई साथ दिएको उनको भनाइ छ । “विपक्षी खेलाडीभन्दा धेरै माथिबाट रविले स्पाइक गर्न सक्छन्, उनको एडभान्टेज भनेको हाइट र जम्प गर्न सक्ने क्षमता हो ।”

“भलिबल टिम वर्क हो, खेल जिताउन सबै खेलाडीको उत्तिकै भूमिका हुन्छ र पनि यसपालि नतिजा निकाल्न रविले उत्कृष्ट योगदान गरे”, प्रशिक्षक केसीले सुनाए । प्रतियोगिताको अनुभव कम भए पनि रवि प्रतिभावान खेलाडीका रूपमा नेपाली भलिबलमा उदाएको उनको भनाइ छ ।बागलुङको गलकोट नगरपालिका–७ मल्ममा जन्मेका रवि छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुन् । दुई वर्षअघि काठमाडौँमा भएको ‘एनभिए कप’ बाट उनले राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गरेका थिए ।

गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जितेका थिए । ओपन स्पाइकर रविले पछिल्लो नवौँ राष्ट्रिय खेलकुदमा पनि गण्डकी प्रदेशबाट खेलेका थिए । चौध–पन्ध्र वर्षको उमेरदेखि भलिबल खेल्न सुरु गरेका केसीले अहिलेसम्म कुनै औपचारिक प्रशिक्षण भने लिएका छैनन् । प्रतियोगिताअघि हुने अभ्यासबाहेक नियमित प्रशिक्षण लिने अवसर नपाएको रविले बताए । उनी अहिलेसम्म कुनै क्लबमा पनि आबद्ध छैनन् । व्यावसायिक सुरक्षा र अवसरको सुनिश्चितता भए भलिबलमै समर्पित भएर लाग्ने रवि बताउँछन् ।

खेल कौशलसँगसँगै अनुशासनमा पनि उनी अब्बल मानिन्छन् । उक्त प्रतियोगितामा महिलातर्फको खेलमा भने सशस्त्र प्रहरी बलको एपिएफ क्लबकी सरस्वती चौधरीले सर्वोत्कृष्ट खेलाडीको उपाधि जितेकी थिइन् । उनले पनि नगद २५ हजार रुपैयाँ र ट्रफी हात पारिन् । टाइगर ग्रुप अफ पोखराद्वारा आयोजित प्रतियोगिताको पुरुषतर्फ शनिबार भएको फाइनल खेलमा ३–२ सेटले साविक विजेता एपिएफलाई हराउँदै गण्डकी च्याम्पियन बनेको थियो । उपाधिसँगै गण्डकीले पाँच लाख रुपैयाँ हात पारेको छ ।

गण्डकी पहिलो संस्करणको टाइगर कपमा पनि च्याम्पियन बन्न सफल भएको थियो । सात दिनसम्म चलेको प्रतियोगितामा महिलातर्फको उपाधि भने एपिएफले हात पार्‍यो । त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ लगातार दोस्रोपटक च्याम्पियन बनेको हो ।प्रतियोगितामा महिलातर्फ चार र पुरुषतर्फ पाँच टोलीको सहभागिता रहेको थियो । महिलातर्फ गण्डकी प्रदेश, त्रिभुवन आर्मी क्बल, एपिएफ क्लब र न्यू डायमण्ड स्पोर्टस् क्लबले सहभागिता जनाएको थियो ।

पुरुषतर्फ श्रीलङ्काको एसटी जोशेफ वाज स्पोर्टस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपिएफ क्लब र गण्डकी प्रदेश सहभागी थियो । महिला र पुरुष दुवैतर्फ उपाधि विजेताले रु पाँच–पाँच लाख, उपविजेतालाई समान रु दुई लाख ५० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । यस्तै प्रतियोगितमा तेस्रो हुने टिमलाई नगद रु एक लाख २५ हजार र सान्त्वना हुने टिमलाई रु ६५ हजारसहित ट्रफी प्रदान गरिएको थियो । विधागतरूपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई रु १० हजार र ट्रफीसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja