पर्वतमा २२ उम्मेदवारको धरौटी जफत



पोखरा

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका २२ उम्मेदवारको धरौटी जफत भएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार सदर मतको कम्तीमा १० प्रतिशत मत नल्याउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था छ ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ १० उम्मेदवारको धरौटी जफत भएको हो । त्यस्तै प्रदेशसभातर्फ १ (१) मा ७ र १ (२) तर्फ उम्मेदवारी दिएकामध्ये ५ जना उम्मेदवारको धरौटी जफत भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी एवं सहायक निर्वाचन अधिकृत राजु ढुंगानाका अनुसार प्रतिनिधिसभातर्फ १२ जनाले उम्मेदवारी दर्ता गरेका थिए । त्यस्तै प्रदेशसभा १ (१) मा ९ जना र १ (२) मा ७ जनाको उम्मेदवारी परेको थियो । प्रतिनिधिसभा र प्रदेशसभातर्फ एमाले र गठबन्धनबाहेकका सबै उम्मेदवारको धरौटी रकम जफत भएको हो ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फको उम्मेदवारले १० हजार र प्रदेशसभामा प्रत्यक्षतर्फको उम्मेदवार बन्नका लागि ५ हजार रुपैयाँ उम्मेदवारी दर्ता गर्दा धरौटी राख्नुपर्ने व्यवस्था छ । ती उम्मेदवारले सम्बन्धित क्षेत्रमा सदर भएकामध्ये १० प्रतिशत मत पाएमा धरौटी फिर्ता हुने निर्वाचन कानुनमा व्यवस्था छ । प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनमा जिल्लामा कुल ६६ हजार एक सय २९ मत खसेकोमा तीमध्येका ६३ हजार सात सय १६ मत सदर र २ हजार ४ सय १३ मत बदर भएका छन् ।

सदर मतको १० प्रतिशत हुनका लागि ६ हजार ३ सय ७२ मत ल्याउनुपर्छ । तर पर्वतबाट प्रतिनिधिसभामा भिडेका एमाले र कांग्रेसका उम्मेदवारबाहेक अन्य उम्मेदवारले तोकिएको मत ल्याएनन् । एमालेका पदम गिरी २९ हजार ८ सय ७२ मतसहित विजेता बन्दा कांग्रेसका अर्जुनप्रसाद जोशी २७ हजार ६ सय ९ मत सहित पराजित भए । उनीहरूबाहेक १० उम्मेदवारले भने सदरको १० प्रतिशत मत पाएनन् ।

प्रदेशसभा १(१) मा कुल ३५ हजार एक सय ६८ सदर भएका छन् । यसको १० प्रतिशत अर्थात् ३ हजार पाँच सय १७ ल्याउनेको मात्रै धरौटी फिर्ता हुने व्यववस्था छ । यो क्षेत्रमा एमाले र गठबन्धनबाहेकका उम्मेदवारको धरौटी जफत हुने छ । एमालेका भक्त कुँवरले १६ हजार ८ सय २५ मत ल्याएर निर्वाचित हुँदा गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका सुदीप कुँवरले १४ हजार चार सय २७ मत पाएका छन् ।

प्रदेशसभा १ (२) मा पनि एमाले र गठबन्धनका उम्मेदवारबाहेक अन्य उम्मेदवारले धरौटी जोगाउन सकेनन् । यो क्षेत्रमा २७ हजार ५ सय १ मत सदर भएका थिए । एमालेबाट निर्वाचित मित्रलाल बस्यालले १४ हजार एक सय ३२ र नेपाली कांग्रेसका ऋषिकेश तिवारीले १२ हजार २ सय १० मत पाए । अन्य ५ जना उम्मेदवारले भने १० प्रतिशत मत कटाउन सकेनन् ।

जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माका अनुसार सदर मतको १० प्रतिशत मत पाएका उम्मेदवारले अन्तिम परिणाम आएको तीन महिनाभित्र जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएपछि धरौटी रकम फिर्ता हुन्छ । १० प्रतिशत मत प्राप्त नगरेका उम्मेदवारले जम्मा गरेको रकम तीन महिना कटेपछि नेपाल सरकारको राजस्व खातामा जम्मा हुन्छ ।

गत आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको सम्पूर्ण प्रक्रिया सकिएको छ । एक प्रतिनिधि र दुई प्रदेशसभा सदस्य रहेको पर्वतका सबै क्षेत्रको प्रत्यक्ष तथा समानुपातिकतर्फको मतगणना कार्य सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja