पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित मिछुर्लुङमा भ्यूटावर निर्माण



पोखरा

ग्रामीण पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यसहित तनहुँको भिमाद नगरपालिका-५ स्थित मिछुर्लुङमा दृश्यावलोकन स्तम्भ (भ्यूटावर) निर्माण गरिएको छ । देश तथा विदेशमा रहेका नेपालीबाट सङ्कलन गरिएको रकमबाट दृश्यावलोकन स्तम्भ निर्माण सम्पन्न भएको हो । गत मङ्सिर २१ गते दृश्यावलोकन स्तम्भको शिलान्यास गरिएको थियो । 

मिछुर्लङमा जन्मेर हाल बेलायतमा रहेका महेन्द्र आलेको परिकल्पनामा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको हो । यसका लागि उनकै सक्रियतामा रु ३० लाख सङ्कलन भएको थियो । “गाउँको विकासका लागि केही गरौं भन्ने भावनासहित विदेशमा रकम सङ्कलन अभियान चलाएको थिएँ, गाउँमा आन्तरिक पर्यटक भित्र्याउने मुख्य लक्ष्य हो”, उनले भने, “ग्रामीण पर्यटनको माध्यमबाट स्थानीयवासीको आयआर्जन वृद्धिका लागि पनि स्तम्भ सहयोगी हुनेछ ।”

कूल रु ३८ लाख चार हजार ९०० को लागतमा दृश्यावलोकन स्तम्भ निर्माण गरिएको मिछुर्लुङ क्षेत्र विकास तथा भ्यूटावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले जानकारी दिए । मिर्छुलुङ गाउँमा सञ्चालित घरवासको प्रवर्द्धनका लागि स्तम्भले सहयोग पुग्ने विश्वास लिइएको छ । “विगत केही वर्षदेखि यहाँ घरवास सञ्चालनमा छ, तर घरवासको प्रचारप्रसार हुन नसक्दा पर्यटकको चहलपहल हुन सकिरहेको छैन”, उनले भने, “स्तम्भ निर्माणपछि घरवासको पनि प्रवर्द्धन हुनेमा विश्वस्त छौँ ।”

मगर समुदायको कौरा, झ्याउरे, अर्गानिक परिकार मिर्छुलुङ घरवासको विशेषता हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण मिर्छुलुङमा झरना पनि छ । उक्त झरनामा एकपटक क्यानोनिङसमेत सञ्चालन गरिसकिएको छ । कोभिड-१९ को सङ्क्रमणका कारण दुई वर्ष घरवास प्रभावित बनेको थियो । अब कोभिडको जोखिम नरहेकाले घरवासमा पर्यटकको चहलपहल हुने अध्यक्ष थापाले बताए । 

दृश्यावलोकन स्तम्भको उद्घाटन गर्दै भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले यसले मिर्छुलुङको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । “गाउँमा होमस्टे सञ्चालन छ, होमस्टेमा आउने पर्यटकलाई भ्यूटावरबाट प्राकृतिक दृश्यावलोकन गराउन सके यहाँको थप प्रवद्र्धन हुन्छ”, उनले भने । पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जनमा वृद्धि हुन सके मात्र भ्यूटावर निर्माणको औचित्य रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja