नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकीका सबै जिल्लामा हुने



पोखरा । 

सरकारले आगामी जेठ २२ देखि २८ गतेसम्म नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अघिल्लो वर्ष हुनुपर्ने प्रतियोगिता कोरोनाका कारण स्थगन भएपछि जेठ अन्तिम साता गण्डकी प्रदेशमा गर्ने निर्णय गरेपछि प्रतियोगिताको तयारी थालिएको छ । 

गण्डकीमा हुने प्रतियोगितामा पुराना ३५ सहित रग्बी र ठेलो खेल थप गर्ने प्रस्ताव गरिएको छ । आयोजक प्रदेशले यहाँको मौलिक दोहोरी तथा लोक नृत्यलाई पनि प्रतियोगितामा थप गर्न प्रस्ताव गरेको छ । प्रतियोगिताका अधिकांश खेल पोखरामा सञ्चालन हुने भए पनि प्रदेशका ११ वटै जिल्लामा कम्तीमा एक खेल सञ्चालन गरिने पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ ।

“सबै जिल्लामा कम्तीमा एउटा खेल सञ्चालन गर्ने गरी राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा प्रस्ताव पठाएका छौँ”, समितिका कार्यालय प्रमुख लक्ष्मण योगीले बताए । खेलकुदको कुम्भमेला राष्ट्रिय खेलकुदको रौनक र अपनत्व सबै प्रदेशवासीलाई होस् भनेर सबै जिल्लामा न्यूनतम एक खेल आयोजनाको प्रस्ताव गरिएको उनको भनाइ छ ।

योगीले भने, “खेल पूर्वाधारको अवस्था तथा सम्बन्धित जिल्लामा खेलप्रतिको आकर्षणलगायत पक्षलाई हेरेर प्रस्ताव पठाएका छौँ । केन्द्रको प्राविधिक टोलीले प्रस्तावितस्थलको अनुगमन सुरु गरेको छ । केही दिनमै प्रस्तावितस्थलमा नै राखेपले खेल सञ्चालनको तालिका बनाउने छ ।”

प्रदेशका सबै जिल्लालाई समावेश गरेर खेल आयोजना गर्दा जिल्लामा खेलप्रतिको आकर्षण बढ्ने र खेलाडीको चापलाई व्यवस्थित गर्न सकिने छ । प्रतियोगिताको तयारी र पूर्वाधारका बारेमा जानकारी लिन युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको टोली आज पोखरा आउने समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलसहित एथलेटिक्स, बक्सिङ, भारोत्तोलन, भलिबल, ब्याडमिन्टन, उसु, ह्याण्डबल, हक्की, स्क्वास र सुटिङका महिला तथा पुरुषका खेल पोखरामा सञ्चालन हुनेछन् । यसैगरी जिम्न्याष्टिक, लनटेनिस, सफ्टटेनिस, क्रिकेट, साइक्लिङ, आर्चरी, पौडी, गल्फ, शारीरिक सुगठन, प्याराग्लाइडिङ र ट्रायथोलनका महिला तथा पुरुषका खेल पनि पोखरामा प्रस्ताव गरिएको छ ।

महिला फुटबल स्याङ्जाको वालिङ, तेक्वान्दो (महिला–पुरुष) बागलुङ, कराते (महिला-पुरुष) लमजुङ, टेवलटेनिस (महिला-पुरुष) मुस्ताङ, कबड्डी, कुस्ती र खोखो (महिला-पुरुष) नवलपुर तथा जुडो र सेपाकताक्रो (महिला-पुरुष) गोरखामा खेलाउने योजना छ । 

बास्केटबल (महिला-पुरुष) तनहुँ, बुद्धिचाल (महिला–पुरुष) मनाङ, आइटिएफ तेक्वान्दो (महिला-पुरुष) म्याग्दी, फुलकन्ट्याक्ट कराते (महिला-पुरुष) स्याङ्जा र फेन्सिङ (महिला-पुरुष) पर्वतमा गर्न राखेपसमक्ष प्रस्ताव गरी पठाइएको समितिले जनाएको छ । 

यस वर्षदेखि आयोजना गर्न प्रस्ताव गरिएको लोकदोहोरी तथा लोकनृत्य प्रतियोगिता पोखरामा गर्ने योजना छ । राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधार निर्माणका लागि चालु आवमा राखेपबाट रु १६ करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja