आजदेखि माओवादी केन्द्रको आठौं महाधिवेशन



पोखरा

नेकपा माओवादी केन्द्रले रातारात राष्ट्रिय सम्मेलनलाई महाधिवेशनका रुपमा परिणत गर्दै आजदेखि काठमाडौंमा पार्टीको आठौँ महाधिवेशन गर्न लागेको छ ।

दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ । माओवादीले यसअघि प्रथम राष्ट्रिय सम्मेलन गर्ने भने पनि वडा तहदेखि नै सबै प्रक्रिया सम्पन्न गरेको र गर्नैपर्ने संवैधानिक व्यवस्थाका कारण यसलाई आठौँ महाधिवेशनका रुपमा सम्पन्न गर्न लागेको नेता चक्रपाणी खनालले बताएका छन् । 

नाम परिवर्तन गरी महाधिवेशन गर्ने निर्णय अनुमोदनका लागि अहिले बिहान ८ बजे केन्द्रीय कमिटीको बैठक बस्दैछ । यसअघि हिजो बसेको स्थायी कमिटी बैठकले राष्ट्रिय सम्मेलनको सट्टा महाधिवेशन गर्ने निर्णय गरेको थियो । महाधिवेशन पाँच दिनसम्म चल्ने आँकलन गरिएको छ । यसअघि तीन दिनसम्म चल्ने बताइएको थियो । 

सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वजस्ता राजनीतिक परिवर्तनका एजेण्डा स्थापित गरेको माओवादीको महाधिवेशनको सबै तयारी पूरा भइसकेको छ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सहायक सङ्गठन वाइसीएलले विभिन्न स्वागतद्वार बनाएको छ ।

सम्मेलन परिसरमा पार्टीको झण्डा, तुल र ब्यानरसमेत राखिएका छन् । यस्तै, राजधानी प्रवेश गर्ने नाकामा फ्लेक्स राखिएको वाइसिएलले जनाएको छ । जनता, नेता तथा कार्यकर्ता तहको आग्रह र उत्साहका कारण राष्ट्रिय सम्मेलनलाई महाधिवेशनमा परिणत गरिएको शनिबार साँझ बसेको स्थायी समितिको बैठकपछि प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

संविधानसभाबाट संविधान, गणतन्त्रजस्ता राजनीतिक परिवर्तनको संवाहकको रुपमा रहेको माओवादीले पहिलोपटक पार्टीभित्र संविधान अनुकूल सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी केन्द्रीय समिति निर्माण गर्ने भएको छ ।

विभिन्न टुटफुट, एकता र सङ्घर्ष अनुभव गरेको माओवादीले आफूलाई विचार, राजनीतिक कार्यदिशामा सम्मेलनपछि नयाँ उचाईमा पुर्याउने र भरपर्दो कम्युनिष्ट शक्तिका रुपमा स्थापित गर्ने बताएको छ ।

शनिबार आयोजना गरिएको पत्रकार भेटघाटमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विचार, नीति र कार्यक्रमका हिसाबले पार्टीलाई थप परिस्कृत बनाउने र आफ्नै बुतामा स्थापित भएको परिवर्तनको एजेण्डालाई नयाँ आधारमा स्थापित गर्दै अगाडि बढ्ने सङ्कल्प सम्मेलनले गर्ने बताएका थिए । 

राजनीतिक स्थायित्वसहितको बृहत् वामपन्थी एकताको कार्यसूचीसहित तत्कालीन नेकपा (एमाले) सँग पार्टी एकता गरेको माओवादी गत फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको हो ।

नेपालको संविधानमा नै उल्लेख गरिएको समाजवाद उन्मुख भन्ने प्रावधानलाई समेट्ने गरी नयाँ वैचारिक राजनीतिक कार्यदिशा र योजना समेत तय गर्ने माओवादीले स्पष्ट पारेको छ । माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार आइतबार दिउँसो १ बजे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नेछन् । 

प्रज्ञा भवन परिसरमा डिस्प्लेमार्फत उद्घाटन सत्रको प्रत्यक्ष हेर्ने व्यवस्था मिलाइएको छ । सहभागी हुनका लागि देशभरका सात वटै प्रदेश र तीनवटा गैरभौगोलिक प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षण काठमाडौँमा आइसकेका छन् । माओवादीले सहभागीलाई आफैं खाने बस्ने प्रबन्ध गर्न भनेको छ ।

महाधिवेशनमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन, विधानलगायतका दस्तावेज पेश हुनेछन् । ती प्रतिवेदनमाथि विभिन्न २० वटा समूह बनाएर छलफल गर्ने कार्यक्रम तयार भएको छ । त्यसमा आवश्यकताअनुसार केही परिवर्तन पनि हुन सक्नेछ । माओवादीले प्रज्ञा प्रतिष्ठानका सबै हल र पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सामूहिक छलफलको व्यवस्था मिलाएको छ ।

उद्घाटनसत्र सकिएलगत्तै राजनीतिक प्रतिवेदन, विधानमाथि छलफल शुरु हुनेछ । त्यस्तै नेतृत्व चयनको कार्यक्रमसमेत रहेको छ । राष्ट्रिय सम्मेलन (आठौँ महाधिवेशन) ले केन्द्रीय समिति चयन गर्ने र त्यसैबाट पदाधिकारी छान्ने वा निर्वाचन प्रक्रिया नै पूर्णरुपमा अवलम्बन गर्ने भन्नेबारेमा हालसम्म स्पष्ट खाका भने आइसकेको छैन ।

सम्मेलनमा कूल एक हजार ६३१ को प्रतिनिधित्व हुनेछ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनीत १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने माओवादीको भनाइ छ । माओवादीले यसभन्दा अगाडि पाँच प्रतिशत प्रतिनिधि मात्रै मनोनयन गर्ने बताएको थियो । 

त्यसलाई शुक्रबारको बैठकले १० प्रतिशत बनाएको छ । राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि मनोनयन गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई शुक्रबारको बैठकले नै दिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja