गएरातिदेखि मुस्ताङमा हिमपात शुरु



पोखरा

गएरातिदेखि मुस्ताङमा हिमपात भएको छ । म्याग्दीका उच्च लेकाली क्षेत्रमासमेत शुक्रबार बिहानदेखि हल्का हिमपात शुरु भएको स्थानीय बासिन्दाले बताएका छन् ।

लोमान्थाङ गाउँपालिका, लो–घेकर दामोदर कुण्ड गाउँपालिका र मुक्तिनाथ क्षेत्रका साथै म्याग्दीको गुर्जामा पनि हिमपात सुरु भएको स्थानीयवासी मनबहादुर विकले जानकारी दिए ।

माथिल्लो क्षेत्रमा हिमपात भएपछि तल्लो क्षेत्रमा वर्षासँगै कुहिरो र हुस्सु लागेको छ । मुस्ताङको सदरमुकाम जोमसोम र म्याग्दीको सदरमुकाम बेनी आसपास क्षेत्रमा आज बिहानैदेखि पानी परेको छ ।

वर्षा, हिमपात, हुस्सु र कुहिराका कारण जोमसोम–पोखरा हवाई उडान पनि हुन सकेको  छैन । मौसम प्रतिकूल बनेको हुँदा पोखराबाट जहाजले उडान भर्न नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए ।

उनका अनुसार मुस्ताङमा यो बेला दोस्रो पटक हिमपात भएकाले यहाँको जनजीवनमा समेत असर परेको छ । हिमपात र वर्षाले त्यहाँको तापक्रम माइनसतर्फ झर्दै गइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

मुस्ताङ र म्याग्दीका उच्च लेकाली क्षेत्रमा हिमपात भएपछि तल्लो म्याग्दीमा जाडो बढेको छ । अत्यधिक चिसोका कारण गाउँगाउँका शिवालयमा शतबीज छर्ने भक्तजनलाई समस्या भएको छ ।

हिउँदे वर्षा गहुँबालीका लागि निकै उपयुक्त हुने स्थानीय तहको कृषि शाखाले जनाएको छ । गहुँबालीका लागि मात्रै नभएर हिउँदे फलफूलदेखि स्याउका नयाँ बिरुवालाई वर्षाका कारण राहत मिलेको छ ।

अहिले हिउँदे फलफूलका बिरुवा रोप्ने समय भएको र  फल लाग्ने हिउँदे फलफूलका लागि पनि वर्षाको आवश्यकता पर्छ । गहुँ छरिसकेका किसान पनि हिउँदे वर्षा भएपछि बाली सप्रने भन्दै खुसी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja