सूर्योदय र सूर्यास्तको अवलोकनका लागि उपयुक्त पोखराको ‘हुँडीकोट’



पोखरा

माछापुच्छ्रे अन्नपूर्ण, धौलागिरिलगायतका हिमश्रृंखला तथा सेती नदी, सात तालको बगैँचा भनेर चिनिने लेखनाथसहितको बृहत् पोखरा महानगर एकसाथ देख्न सकिने रमणीय हुँडीकोटमा पछिल्ला वर्षमा आन्तरिक पर्यटक पुग्नेक्रम बढीरहेको छ । 

पोखरा महानगरपालिका ३३ को हुँडीकोट उच्च पहाडी भूभागमा रहेको यो ठाउँ सूर्योदय र सूर्यास्तको अवलोकनका लागि उपयुक्त गन्तव्य हो । यहाँबाट माछापुच्छ्रे, अन्नपूर्ण हिमालदेखि लमजुङ हिमालसम्मका रमणीय दृश्यलाई एक साथ नियाल्न सकिन्छ ।

यहाँबाट कास्की, तनहूँ, लमजुङ, मनाङ, गोरखा, चितवन, नवलपरासी, पाल्पा, पर्वत बागलुङ, म्याग्दी, स्याङ्जा जिल्लालगायत विभिन्न स्थान देखिन्छन् ।

पछिल्ला वर्षमा पोखराको विरौटा हुँदै पोखरा महानगरका बसका साथै पोखराबाटै पावरहाउस, गगनगौंडा हुदै मनीयल डाँडासम्म स्थानीय मिनि बस गरी दुवैतर्फ सार्वजनिक यातायातसमेत सञ्चालनमा आउँदा पर्यटकलाई ठूलै राहत महसूस भएको छ ।

मनीयलडाँडा बसपार्कबाट निजी सवारी साधन हुने व्यक्तिहरू सवारी साधन लिएरै हुँडीकोटसम्म नै पुग्न सक्छन् भने नहुनेले करिब १५ मिनेट हिंड्नुपर्छ ।

पछिल्ला वर्षमा पर्यटकहरू आउनेक्रम बढेसँगै मनीयलडाँडा बसपार्कका साथै हुँडीकोटमा नै होटल तथा रेष्टुरेन्ट बन्ने क्रमले पनि गति लिएको छ । पर्यटकको बढ्दो आगमनलाई लक्षित गरी हुँडीकोटमा स्थानीय युवाले हुँडीकोट भ्यू प्वाइन्ट सेन्टर नामक होटेल सञ्चालनमा ल्याएका छन् ।

अर्कोतर्फ दक्षिणतर्फ बगेको सुरौदी खोलामा केही ठाउँमा पक्की पुल निर्माण गर्न सके तनहुँको दुलेगौंडाबाट सुरौदी कुर्लिङबराहसम्म पर्यटकलाई यातायातका साधनमा ल्याएर त्यहाँबाट छहरा, लाङ्दी, पावनडाँडा, जामुने, कुलेस्वाहाँरा, कोलडाँडा, सिलिङ्गे, माँझथर हुँदै हुँडीकोटसम्म अर्को हाइकिङको मार्ग विस्तार गर्न सकिने स्थानीयवासी बताउँछन् ।

वर्षात् वा हिउँद जुनसुकै समयमा वरिपरिका क्षेत्रमा हुस्सु, कुइरो लाग्दा पनि केही प्रभाव नपर्ने यो ठाउँबाट नाङ्गो आँखाले एकसाथ १४ जिल्लाको अवलोकन गर्न सकिन्छ ।

हुँडीकोटबाट नजिकैको मल्लकालीन कोटभैरव मन्दिर पनि यहाँको अर्को धार्मिक पर्यटकीय आकर्षण हो । यो तीर्थस्थलमा कास्कीको साविकका भरतपोखरी, निर्मलपोखरी, कृस्ती गाविसका साथै स्याङ्जा र तनहूँका विभिन्न स्थानबाट दर्शनार्थीहरू आउने गर्दछन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja