पोखरामा खसीबोकाको माग बढ्यो



पोखरा

हिमाली चिसो मौसममा हुर्केका, जडीबुटी खाएकाले च्याङ्ग्राको मासु दशैंमा उपभोक्ताको विशेष रोजाइमा पर्छ । स्वादिलो हुने भएकाले सकभर दशैंमा धेरैको भान्सामा च्याङ्ग्राको मासु पाक्छ । पोखरालगायत यस क्षेत्रमा बढी रुचाइएको च्याङ्ग्राको भाउ भने यस वर्ष आकाशिएको छ । व्यापारीले रोज्जा च्याङ्ग्राको मूल्य रु ५० हजारसम्ममा बिक्री गरेका छन् ।

मासु प्रतिकेजी रु दुई हजारदेखी रु दुई हजार ५०० सम्म मूल्य पर्ने गरेको छ । गत वर्षको तुलनामा २० देखि २५ प्रतिशतसम्म मूल्यवृद्धि भएपछि सामान्य र मध्यम आर्थिक अवस्थाका उपभोक्ताले भने खरिद गर्न सक्ने अवस्था छैन । च्याङ्ग्राको मूल्य आकाशिएपछि उपभोक्ताको रोजाइ अहिले खसीबोकामा छ । अधिकांशले दशैंका लागि गाउँघरमै स्थानीय खसीबोका व्यवस्था गरेका छन् ।

पोखरा–१४ चाउथेस्थित खसीबजारमा एक साताअघिदेखिबाटै ग्राहकको भीड बढेको छ । यस क्षेत्रको मुख्य बजार भएकाले यहाँ धेरै ठाउँबाट ग्राहक आउने गर्दछन् । विगतमा दशैंमा च्याङ्ग्रा खानेहरु यस वर्ष खसीबोकाको व्यवस्था गरेका छन् । पोखरा–११ फूलबारीका नवराज पौडेलले यस वर्ष च्याङ्ग्राको मूल्य छोइसक्नु नभएकाले दशैंका लागि स्थानीय खसीको व्यवस्था गरेको बताए ।

खसीबजारमा भेटिएका उनले भने, ‘विगतका दशैंमा जहिले पनि च्याङ्ग्रा नै किन्ने गरिन्थ्यो तर अहिले भाउ छोइसक्नु छैन । त्यसैले खसीको व्यवस्था गरेको छु । मिल्यो भन्ने फ्रेस हाउसबाट एक–दुई केजी किनेर च्याङ्ग्राको स्वाद लिनुपर्ला, सिङ्गै किन्न सकिएन ।’

खसीको माग बढ्यो

पोखरा खसीबजार बजार व्यवसायी समितिका अध्यक्ष ज्ञानबहादुर श्रेष्ठले यस वर्षको दशैंमा खसीको माग बढेको बताए। माग बढेपछि व्यवसायीले थप दुई हजार ५०० खसीबोका बजारमा ल्याउँदै गरेको उनले जानकारी दिए । बजारबाट यस वर्ष छ हजार ५०० को हाराहारीमा खसीबोका बिक्री गरिसकिएको बताइन्छ ।

‘विगतका वर्षलाई हेरेर यस वर्ष व्यवसायीले दशैंमा छ हजार ५०० हाराहारीमा खसीको व्यवस्था गरेका थियौँ,’ उनले भने, ‘फूलपातीको एक/दुई दिनअघि नै सबै बिक्री भएपछि बजार खाली राख्नु भएन भनेर थप दुई हजार ५०० खसी ल्याउँदैछौँ ।’ च्याङ्ग्राको मूल्यवृद्धि भएकाले खसीको माग यस वर्ष अत्यधिक बढेको उनले बताए ।

बजारमा आउनेहरुले च्याङ्ग्राको मूल्य बढेकाले खरिद गर्न नसकेको बताउने गरेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । कोरोनाका कारण होटल रेष्टुरेन्ट र पार्टी प्यालेस बन्दा हुँदा व्यवसाय नराम्रोसँग प्रभावित भएकामा दशैंमा बजार राम्रो हुँदा खसीबोका व्यवसायी उत्साहित भएका छन् । बजारमा २१ खसीबोका बिक्री गर्ने पसल छन् ।

जिउँदो खसी प्रतिकेजी रु ६०० देखि ६४५ सम्ममा यस वर्ष बिक्री गर्ने गरिएको छ । विगतमा भारतीय बजारबाट समेत पोखरामा खसीबोका आयात हुँदै आएकामा गएको एक वर्षदेखि रोकिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

पोखरा महानगरपालिका पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले यस वर्ष गत वर्षको तुलनामा २५ प्रतिशतसम्म च्याङ्ग्राको मूल्य बढेको बताउँछन् । दुई/तीन दिनदेखि च्याङ्ग्रा र खसी बजारको नियमित अनुगमन गरिएको बताउँदै उनले यस वर्ष तिब्बतबाट च्याङ्ग्रा नआएकाले समेत मूल्य उच्च भएको बताए ।

शाखा प्रमुख अधिकारीका अनुसार सोमबारसम्म पोखरामा हिमाली क्षेत्रबाट ९४ जना व्यापारीले १५ हजार ५० च्याङ्ग्रा र एक हजार ३०० भेडा बिक्रीका लागि ल्याएका छन् । विगतमा २० देखि २५ हजारसम्म भेडा/च्याङ्ग्रा ल्याउने गरिएको थियो । हिमाली च्याङ्ग्राको मुख्य बजार पोखरा तथा यस आसपासको क्षेत्र हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja