अण्डाको मूल्य हालसम्मकै उच्च, खस्किएको पोल्ट्री व्यवसायले गति लिँदै



पोखरा

कुखुराजन्य क्षेत्रका सबै उत्पादनको मूल्य वृद्धि भएको छ । अण्डाको मूल्य हालसम्मकै उच्च भएको छ भने चल्ला र मासुको मूल्य लागतभन्दा बढेको छ । मूल्य वृद्धिले कोरोना सङ्क्रमणसँगै जारी भएको निषेधाज्ञामा नोक्सान बेहोरेका पोल्ट्री व्यवसायीले राहत महसुस गर्न थालेका छन् ।

यससँगै गत वैशाखको पहिलो साताबाट ओरालो लागेको पोल्ट्री व्यवसायको कारोबार क्रमशः बढ्न थालेको हो । यही साउन महिनामा अण्डा, मासुको खपत कम हुने भनिए पनि माग बढेपछि मूल्यसमेत बढेको छ ।

निषेधाज्ञाका समयमा तीन साता ब्रोइलर चल्लाको बिक्री शून्य भएकामा क्रमशः बढ्दै गएर प्रतिवटा रु ७० पुगेको छ । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय समितिका निवर्तमान अध्यक्ष टीकाराम पोख्रेलकाअनुसार ब्रोइलर चल्लामा ठूलो नोक्सान भएको छ ।

‘निषेधाज्ञाका समयमा तीन साता हामीले चल्ला बेच्न सकेनौँ’ उनले भने ।

ब्रोइलर चल्लाको लागत मूल्य प्रतिवटा रु ५६ पर्दछ । एक सातामा देसभरका ह्याचरीले ३० लाख चल्ला उत्पादन गर्ने उनले जानकारी दिए ।लेयर्स चल्ला भने पुर्‍याउन मुस्किल परेपछि व्यवसायीले नोक्सान बेहोर्नु परेको छैन ।

लेयर्स प्रतिवटा रु १ सय ७० मा बिक्री भइरहेको छ । देशभरमा ३ सय ४० वटा ह्याचरी दर्ता भएकामा ६० जति बन्द रहेको उनको भनाइ छ ।

नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्षसमेत रहेका पोख्रेल व्यवसायीले कोरोनाका कारण धेरै नोक्सान बेहोर्नु परेको बताउछन् । राज्यले समयमा ध्यान दिएर पोल्ट्री क्षेत्रलाई हेर्न नसकेमा आत्मनिर्भर यस व्यवसाय भविष्यमा धरासाही बन्दै जानसक्ने उनको चिन्ता छ ।

आजदेखि लागू हुनेगरी अण्डाको फार्म रेट प्रतिक्रेट (३० वटाको) रु ३८५ र मिडियम प्रतिक्रेट रु ३५५ कायम गरिएको छ । नेपाल अण्डा उत्पादक सङ्घले लागू गरेको यो दर रेट हालसम्मकै उच्च हो ।

केन्द्रीय अध्यक्ष शिवराम केसीले मागअनुसार अण्डा पुर्‍याउन कठिन भएको बताए । हाल दैनिक ३३ लाख हाराहारी अण्डा उत्पादन भएको अनुमान छ ।

अन्य समयमा यो सङ्ख्या ४७ लाखसम्म पुग्ने गरेको उनले जानकारी दिए । निषेधाज्ञाका समयमा अण्डाको रेट प्रतिक्रेट रु ३३० सम्म झरेको थियो । हाल अण्डाको लागत मूल्य प्रतिक्रेट रु ३६० हाराहारी पर्ने उनको भनाइ छ ।

कोभिडले निषेधाज्ञा भएका समयमा खपत क्रमशः बढ्दै गएको केसीको बुझाइ छ । ‘अण्डाले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भनेर खानेक्रम बढेको छ’ उनी भन्छन्, ‘पहिराले अवरोध भएका बाटो खुलेसँगै देशैभर अण्डा पुर्‍याउन सकिएको र साउन महिनामा समेत अण्डाको माग बढेको छ ।’

हाल देशभर दुई हजार ७ सय हाराहारी पोल्ट्री फार्म रहेका छन् । लेयर्स कुखुरामा ८० हजारभन्दा बढीले प्रत्यक्ष र अप्रत्यक्षरुपमा रोजगारी पाएका छन् ।

अण्डाको मूल्य बढे पनि दानाको कच्चापदार्थको दर उच्च हुँदा किसानले सोचे जस्तो मुनाफा नपाएका कृषक बताउँछन् । पोल्ट्री व्यवसायी मदन पोख्रेल कुखुराको दानामा प्रयोग हुने प्रतिकिलो रु ५० पर्ने भटमास रु १ सय ५ रुपैयाँसम्म पुगेको र रु २२ हाराहारीमा पाउने मकै रु ३७ सम्म पुगेको बताउछन् ।

‘दानाको मूल्यसँगै अण्डाको मूल्य बढेकाले हामीलाई त्यति नाफा छैन’ उनी सुनाउँछन्, ‘कोभिडको समयमा लागत मूल्यमा अण्डा बिक्री गर्न कठिन भएको र काममा जोखिम मोल्नुपरेको निवर्तमान अध्यक्ष पोख्रेलको गुनासो छ ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja