गोलभेँडाले पाएन उचित मूल्य, किसान चिन्तित



पोखरा

बन्दाबन्दीको प्रभाव र गुणस्तरमा प्रश्न उठ्नाले यस वर्ष यहाँ उत्पादित गोलभेँडाले उचित मूल्य पाउन सकेको छैन । गत वर्ष यही समय प्रतिकिलो रु २० मा बिक्री भएको गोलभेँडा यसपालि प्रतिकिलो रु १० देखि १२ मा बिक्री भइरहेको छ ।

गोलभेँडाको अत्यधिक उत्पादन हुने जिल्लाको हिलिहाङ र याङवरक गाउँपालिकाका किसानले यस वर्ष उचित मूल्य प्राप्त गर्न नसकेका हुन् । कोभिड–१९ सङ्क्रमणको महामारीका कारण बजार प्रभावित हुनुका साथै अत्यधिक वर्षा हुँदा गुणस्तरीय गोलभेँडा उत्पादन नहुँदा मूल्यमा ह्रास आएको हो । गोलभेँडाले गत वर्षको भन्दा कम मात्रै मूल्य पाएपछि किसान मर्कामा परेका हुन् ।

‘पोहोर साल प्रतिकिलो रु २० भन्दा कम मूल्यमा बेच्नुपरेको थिएन’, याङवरक–६ का गोलभेँडा उत्पादक किसान रामकुमार गुरागाईँले भने, ‘यसपालि त रु १०/१२ मा बेच्न पनि कठिन पर्‍यो ।’ बन्दाबन्दीका कारण गोलभेँडाको बिक्रीमा व्यापारीबीच प्रतिस्पर्धा नहुँदा उचित मूल्य पाउन नसकेको किसान गुरागाईँको भनाइ छ । ‘हामी किसान आफैँले बजार पुर्‍याएर बिक्री गर्न सक्ने अवस्था पनि छैन’, गुरागार्इँले भने, ‘निषेधाज्ञाका कारण समयमा व्यापारी नआउँदा कति टमाटर त कुहिएर गयो ।’ २५ रोपनी खेतमा बर्खे गोलभेँडा लगाएका गुरागाईँले कम्तीमा एक लाख आम्दानी हुने सोचेका थिए ।

उनले भने, ‘अघिल्ला वर्षहरुमा रु एक लाख ६० हजारसम्म आम्दानी गरेको थिएँ । यसपालि त साँवा नै उठेन ।’

कोभिड–१९ को महामारीका कारण दैनिक उपभोग्य सामग्रीको मूल्य बढेकै समयमा आफूहरुको उत्पादनले मूल्य नपाउँदा समस्या परेको किसान रीता खड्काको भनाइ छ ।

गोलभेँडा पाकेर झर्न लागेपछि टिपेर राखे पनि समयमा व्यापारी नआउँदा त्यसै खेर फाल्नुपरेको उनको गुनासो छ । पाँच रोपनी खेतमा लगाइएको गोलभेँडाबाट कम्तीमा रु ५० हजार आम्दानी गर्ने लक्ष्य बनाएका याङवरक–६ कात्तिकेका पुष्पलाल पुरी रु १२ हजार पनि आम्दानी नहुँदा निराश छन् ।

‘बिक्री गरिसक्न लागेँ । तर यसपालि टमाटरसँग धेरै आश छैन’, पुरीले भने, ‘यसपालि प्रकृतिले नै धोका दियो ।’

हिलिहाङ–१ का सहकारीकर्मी केशव भण्डारी यस वर्ष गोलभेँडाले उचित मूल्य पाउन नसकेको बताउँछन् । ‘रु १०/१२ मा बिक्री भइरहेको छ’, भण्डारीले भने, ‘यसले किसानलाई मारमा पार्‍यो ।’ याङवरक–६ का वडा सदस्य यामकुमार काम्बाङ गोलभेँडाले उचित मूल्य नपाउँदा सयौँ परिवार किसान मारमा परेको बताउँछन् । ‘हामीकहाँ गोलभेँडाको खेती नगर्ने परिवार नै छैनन्’, काम्बाङले भने, ‘मूल्य निकै कम हुँदा सबै जना मारमा पर्नुभएको छ ।’

कृषि प्राविधिक, किसान एवं गोलभेँडाका स्थानीय व्यापारीसमेत रहेका याङवरक–६ का वीरेन्द्र काफ्ले गोलभेँडाले उचित मूल्य पाउन नसक्नुका धेरै कारण रहेको बताए । एकै बोटमा धेरै गोलभेँडा फल्नाले गुणस्तर नहुने, गोलभेँडाको आकारले समेत मूल्यमा फरक पार्ने तथा विषादीको अनियन्त्रित प्रयोगले गुणस्तरमा ह्रास आई उचित मूल्य प्राप्त नभएको काफ्ले भनाइ छ ।

‘एउटा बोटमा कति टमाटर फलाउँदासम्म गुणस्तरीय हुन्छ भन्नेदेखि कुन आकारमा फलाउनेसम्मका कुरा टमाटरमा जोडिन्छन्’, काफ्लेले भने, ‘मुख्य बजारमा नेपालीभन्दा भारतीय टमाटरको खपत बढी हुनाले समेत हाम्रो टमाटरको मूल्य कम हुन गएको हो ।’

धेरै फलाउने प्रतिस्पर्धामा किसानले प्राविधिक सल्लाहबिना विषादीको प्रयोग गर्नाले बर्सेनि गोलभेँडाको मूल्यमा ह्रास आइरहेको र उपभोक्ताले नरुचाएको काफ्लेको भनाइ छ । यहाँ उत्पादित गोलभेँडाको मुख्य बजार तराईका जिल्ला र भारत हो । ढुवानी खर्च, कुहिने तथा बिग्रने गोलभेँडा छुट्याउनु पर्नाले किसानले प्राप्त गर्ने मूल्य र बजार मूल्यमा न्यूनतम प्रतिकिलो रु १० अन्तर आउने गरेको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिकाको वडा नं १, २, ३ र ४ तथा याङवरक गाउँपालिकाको वडा नं ५ र ६ मा गोलभेँडाको अत्यधिक खेती हुने गरेको छ । यहाँका अधिकांश किसानले गोलभेँडा खेतीबाट प्रशस्तै आम्दानी गर्दै आएका थिए । यस वर्ष मूल्यमा आएको ह्रासले किसान मारमा परेका छन् । हिलिहाङ र याङवरकका गरी करिब एक हजार ५०० परिवार किसानले गोलभेँडा खेती गर्दै आएका छन् । 

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja