भवन जीर्ण भएर पानी चुहिन थालेपछि स्वास्थ्यकर्मी छाता ओढेर सेवा प्रदान



पोखरा

बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्य चौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका छन् ।

‘आफ्नै भवन नभएको र स्वास्थ्यचौकी सञ्चालन भइरहेको आमा समूहको भवन मर्मत नहुँदा जीर्ण बनेर पानी चुहिन थालेको छ,’ र ‘बर्खामा पानी पर्दा भवनको प्रसूति कक्षभित्रत्रै छाता ओढेर सेवा दिने गरेका छौं ।’ स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले बताए

भवन अभावमा करीब १ हजार घरधुरीले सेवा लिने स्वास्थ्य चौकीको कामकाज प्रभावित बनेको हो । जीर्ण, साँघुरो र पानी चुहिने कच्ची भवनमा स्वास्थ्य संस्था सञ्चालन गर्दा नागरिकलाई समस्या भएको छ ।

स्वास्थ्यचौकी सञ्चालन भएको नमूना आमा समूहको भवन मर्मत अभावमा जीर्ण बनेको हो । ‘छानोबाट पानी चुहिन्छ, प्रसूति गराउने कोठाको शय्यामा पानी चुहिने भएकाले टपेस राखिएको छ । सिंगो स्वास्थ्यचौकी २ वटा कोठामा सीमित छ । पर्याप्त कार्यकक्ष नहुँदा सेवा प्रवाहमा समस्या भएको छ,’ जनस्वास्थ्य निरीक्षक शाहले भने ।

एक कोठामा प्रशासन र औषधि भण्डारण कक्ष बनाइएको छ । बहिरङ्ग, सोधपुछ र प्रसूति कक्ष एउटै कोठामा सञ्चालन भएको छ ।

गोप्य कक्ष नहुँदा सेवाग्राहीले लाज मानेर आफ्ना समस्या खुलेर स्वास्थ्यकर्मीलाई बताउन सक्दैनन् । दैनिक १० जनाको हाराहारीमा सेवाग्राही आउने गर्छन् ।

स्वास्थ्य चौकीको भवन बनाउन जग्गा प्राप्त भए पनि बजेट अभावमा कार्यान्वयन हुनसकेको छैन । स्वास्थ्यचौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडाध्यक्ष पदम पुनले भवन बनाउन नगरपालिकामार्फत प्रदेश र संघीय सरकारमा प्रस्ताव गरिएको बताए ।

स्थानीय पृथीलाल खत्रीको परिवारले ८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको छ । यसअघि ३ रोपनी जग्गा उपलब्ध गराएको खत्री परिवारले नयाँ मापदण्डपछि थप ५ रोपनी उपलब्ध गराएको हो ।

नगरपालिकाका उपप्रमुख सञ्जु बरुवालले विस्तृत परियोजना प्रतिवेदन तयार पारेर साझेदारीमा स्वास्थ्यचौकी भवन बनाउन प्रदेश र संघ सरकारका निकायमा प्रस्ताव गरिने बताइन् । -रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja