कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थप



पोखरा

कास्कीमा निषेधाज्ञा केही खुकुलो पारिएको छ । असार ७ गते राति १२ बजेदेखि असार १५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा केही खुकुलो गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । कास्कीमा कोरोनाको दोस्रो लहर नियन्त्रणका लागि पहिलो पटक गत वैशाख १५ मा निषेधाज्ञा जारी गरिएको थियो । आजसम्म आइपुग्दा जारी लकडाउनको समय दुई महिना पुग्ने भएको छ ।

आइतबार बसेको जिल्ला कोभिड १९ व्यवस्थापन समिति (डीसीएमसी)को बैठकले नीजी सवारी साधनलाई जोरबिजोर प्रणालीका आधारमा चल्न दिने निर्णय गरेको छ । मंगलबारदेखि जोर गते जोर नम्बर र बिजोर गते बिजोर नम्बर मात्र संचालन गर्न सकिने प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए । उनका अनुसार पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरेर चार पाङ्ग्रेको हकमा चालकसहित ४ जना यात्रु मात्र राख्न प्रबन्ध मिलाइएको छ ।

त्यसैगरी विभिन्न पेसा, व्यवसाय, पसल बिहान ५ देखि १२ सम्म खोल्न पाइने भएको छ । यस्तै, सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेन्ट, चिया पसल, खाजा पसल, मोटेल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुदस्थल, जिमखाना, फिटनेस सेन्टर, स्पा, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन, फुटपाथ पसल लगायत सेवा खोल्न पाइने छैन ।

तर यसबाहेकका पेसा, व्यवसाय, पसलहरु बिहान ५ देखि दिउँसो १२ सम्म मात्र सञ्चालन गर्न सकिने छ । तोकिएको समयमा अत्यावश्यक खाद्यान्न, डिपार्टमेन्टल स्टोर्स (खाद्य सामग्री मात्र विक्री गर्न) लगायतका अन्य पसल ब्यवसाय १२ बजेसम्म खुला हुने छन् । त्यसैगरी खाद्यान्न, तरकारी, पानी, फलफूल, दुध जस्ता दैनिक उपभोग्य वस्तु लगायतका आवस्यक सामग्री नजिकको पसलबाट मात्र खरिद गर्नु पर्ने छ । पसल, व्यवसाय संचालन गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड भने कायम गर्नुपर्नेछ ।

त्यसैगरी ताजा दुध बेलुका ५ देखि ७ बजेसम्म नजिकको चिस्यान केन्द्र एवम् सङ्कलन केन्द्रमा पुर्याउन रं बिक्री वितरण गर्न पाइने व्यवस्था गरिएको छ ।

त्यसैगरी सर्वसाधारणले औषधि, खाद्यवस्तु, तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदका लागि अत्यावश्यक सेवा लिनुपर्दा बाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्किन पाउने छैनन् ।

सार्वजनिक सवारी साधन असार १५ गते राति १२ बजेसम्म सञ्चालनमा रोक लगाइएको छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा (बढीमा २ जना) बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले प्रयोग गर्ने सवारी साधन आवश्यकता अनुसार सञ्चालन गर्न पाइने छ ।

विवाह, ब्रतबन्ध होटल र पार्टी प्यालेसमा गर्न रोक लगाइएको छ । घरमा विवाह व्रतबन्ध लगायतका  कार्य गर्दा दश जनाभन्दा बढी उपस्थित हुन नपाइने बताइएको छ । विवाहमा एकमात्र सवारी साधनमा ५ जना मात्र सवार हुन पाउने प्रशासनको आदेशमा उल्लेख गरिएको छ ।

यात्रुवाहक साना तथा ठूला सार्वजनिक (भाडाका) सवारी साधनहरु भने सञ्चालन गर्न पाइनेछैन । प्रशासनले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम,महोत्सव, जात्रा, जुलुस, सेमिनार सञ्चालन गर्नमा समेत रोक लगाएको छ । मठ मन्दिर, मस्जिद, गुम्बा, चर्च लगायतका धार्मिक स्थलहरुमा जनस्वास्थ्यको मापदण्ड पालना गर्ने गरी नित्य पूजा, ध्यान र प्रार्थना मात्र गर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

त्यसैगरी विश्वविद्यालय, क्याम्पस , विद्यालय लगायत सबै प्रकारका शैक्षिक संस्थामा भौतिक उपस्थिति भइ अध्ययन अध्यापन गराउन पाइने छैन । सबै शिक्षा पद्धति तथा परीक्षालाई अनलाइन माध्यमद्वारा सञ्चालन गर्न आग्रह गरिएको छ ।

सिनेमा हल, पार्टी प्यालेस, होटल रेष्टुरेण्ट, चिया तथा खाजा पसल, नाचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, पार्क रंगशाला, फिटनेस सेन्टर, जिमखाना संचालन नगर्न अनुरोध गरिएको छ ।

त्यसैगरी अनलाइन डेलिभरी, होम डेलिभरी सेवा निश्चित मात्रामा पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाई बेलुकी ७ बजेसम्म संचालन गर्न दिने प्रशासनले जानकारी गराएको छ ।

त्यसैगरी निर्माण सामग्री बोक्ने गाडी बेलुका ७ देखि बिहान ५ बजेसम्म मात्र सञ्चालन गर्न सकिने आदेशमा उल्लेख गरिएको छ ।

बैंक तथा वित्तीय संस्थाले सिमित संख्यामा कर्मचारी राखेर सेवा सञ्चालन गर्ने पाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja