कास्कीमा एक महिलाको मृत्यु, दर्जनौँ घर परिवार विस्थापित



पोखरा

दुई दिनसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले पहिरोमा परि गण्डकी प्रदेशका अधिकांश जिल्ला प्रभावित भएका छन् । गण्डकी प्रदेशमा बाढीले बगाएर एक महिलाको मृत्यु भएको छ भने दर्जनौ घर परिवार विस्थापित भएका छन् ।

खहरेखोलाले बगाउँदा कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ टुसे बस्ने ४० वर्षीया लिलादेवी परियारको मृत्यु भएको छ । परियारको शव घटनास्थलदेखि २५ मिटर तल स्थानीयवासी र प्रहरीले फेला पारेका थिए ।

मनाङको तीन स्थानीय तहमा क्षति

बाढी पहिरोले मनाङ जिल्लाको तीन वटा स्थानीय तहमा ठूलो क्षति पुर्‍याएको छ ।

बाढीले चामे, नासो र ङिस्याङ गाउँपालिकाका अधिकांश स्थानमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।

बाढीका कारण जिल्लाका तीन स्थानीय तहका २०० घरका एक हजार भन्दा बढी विस्थापित भएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले बताए ।

बाढीले चामे बजारमै रहेको हुलाक कार्यालयसमेत बगाएको छ । बाढीबाट विस्थापित तथा जोखिममा रहेका स्थानीयवासीलाई चामे गाउँपालिका–५ माडाकुनामा निर्माण गरिएको कारागारको नयाँ भवनमा सारिएको छ ।

यस्तै मर्स्याङ्दी नदीमा आएको बाढीले नासोँ गाउँपालिका–१, ताल गाउँका ५० घर डुबानमा परेका छन् । नासो गाउँपालिका—३ धारापानीमा सरकारी कार्यालय र बैंकका भवनहरु पनि बगाएको छ ।

सेतीवेणीको नौ घर बगायो

अविरल वर्षापछि आएको बाढीले पर्वत, स्याङ्जा र गुल्मीको सङ्गमस्थलमा पर्ने सेतिवेणीका नौ घर बाढीले बगाएको छ ।

सेतीवेणी बजारमा रहेका स्याङ्जाको गल्याङ नगरपालिका—५ का ८ घर र पर्वतको विहादी गाउँपालिका—६ शालिग्रामको एक घर  बाढीले बगाएको छ । कालीगण्डकी नदीको वहावले सेतिवेणीका १५ घरमा क्षति पुगेको छ ।

बागलुङका ११ घर परिवार विस्थापित

बर्षासँगै आएको पहिरोका कारण बागलुङमा ११ परिवार बिस्थापित भएका छन् ।

बागलुङको जैमिनी नगरपालिका, ढोरपाटन नगरपालिका र काठेखोला गाउँपालिकामा ११ घर परिवार बिस्थापित भएका छन् ।

जिल्लाको जैमिनी नगरपालिका– ७ जैदीका ८ परिवार पहिरोको जोखिमका कारण घर छाडेका छन् ।

यस्तै, काठेखोला गाउँपालिका–७ रेशका तीन घर परिवार पनि पहिरोको जोखिममा परेपछि घर छाडेका छन् । उनीहरु आफन्तको आश्रय लिएर बसेका छन् ।

म्याग्दीको जनजीवन प्रभावित बेनीको तटबन्ध भत्कायो

लगातारको वर्षाको कारण आएको बाढीले म्याग्दीमा जनजीवन प्रभावित भएको छ । कालीगण्डकी र म्याग्दी नदीको बाढीले बजार र बस्तीमा क्षति पुर्‍याएको छ ।

कालीगण्डकीको बाढीले बेनी बजार संरक्षणका लागि बनाइएको तटबन्धन भत्काएको छ । नदीको किनार नजीक रहेको जेसिज भवन देखि करिब एकसय मिटरमाथि सम्मको तटबन्धन नदी कटानका कारण भत्किएको छ ।

कालीगण्डकी नदीको कटानले बेनी बजारको अस्पतालचोक, कालीपुल लगायतका क्षेत्रमा क्षति पुर्‍याएको छ । अस्पतालचोक र कालीपुल क्षेत्रको सडक तथा बसपार्क बाढीले पुरिएर वगरमा परिणत भएको छ ।

मालिका गाउँपालिकाको केन्द्र रहेको दरबाङ बजारसमेत नदी कटानको जोखिममा परेको छ । जिल्लाको सिंगा तातोपानी, गलेश्वर, पोखरेबगर, भुरुङ तातोपानी लगायतका नदीका तटिय क्षेत्रका बजार र बस्तीहरु नदी कटानको जोखिममा छन् ।

पहिरोले म्याग्दीका सडकहरु अवरुद्ध

म्याग्दीमा बर्षाको कारण बाढीपहिरोले राष्ट्रिय राजमार्गसँग जोडिने सबै सडकहरु पूर्ण रुपमा अवरुद्ध भएका छन् । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा, बेनी–बाग्लुङ्ग, बेनी–जोमसोम सडक अवरुद्ध भएका हुन् ।

अन्नपूर्ण– ५ घोस्केखोरमा ७, स्वातमा ३ र पाउद्वारमा घरमा पहिरोले क्षति पुर्‍याएको छ ।

यस्तै, बेनी–२ बगरफाँटमा ९ घर तथा वडा नं ८ सल्लेरीमा ४ घर र बेनी–४ डाँडाखेतमा ३ घर परिवार पहिरोका कारण विस्थापित भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

बाढीमा फसेका ९ जनाको उद्धार

लमजुङको मध्यनेपाल नगरपालिकाअन्तर्गत मिदिम खोलाको बाढीमा फसेका ९ जनाको जेसीबीको सहायताबाट उद्धार गरिएको छ ।

मध्यनेपाल–६ भोर्लेटारस्थित मिदिम खोला किनारमा खेतमा काम गर्न गएका एकै परिवारका नौजनालाई जेसीबीको सहायतामा उद्धार गरिएको मध्यनेपाल नगरपालिकाका नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।

वर्षापछि रोपाइँमा गएका एकै परिवारका नौ जना दुई भङ्गालोको बीचमा फसेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja