दूध किसानले पाँच महिनादेखि पाएका छैनन् भुक्तानी



पोखरा

आज जुन १, अर्थात् विश्व दूध दिवस । नेपालमा पनि दुग्ध पदार्थ उपभोग वृद्धि गर्ने उद्देश्यले सन् २०११ देखि यो दिवस मनाउन थालिएको छ ।

यसको वर्षको नारा ‘दूध तथा दूग्धजन्य पदार्थको नियमित सेवन, कोरोना भाइरसविरुद्ध दीर्घ जीवन’ छ ।

कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञाले दूध क्षेत्र मर्कामा परेको र औपचारिक क्षेत्रतर्फको दूध संकलनमा ४८ प्रतिशतले कमी आएको राष्ट्रिय दूध विकास बोर्डले जनाएको छ । बोर्डका अनुसार दूधको बजार ५३ प्रतिशतले गिरावट आएको छ ।

निषेधाज्ञाको समयमा कुल उत्पादन भएको दूधको १७ प्रतिशत औपचारिक क्षेत्रबाट खरिदबिक्री भइरहेको, ३३ प्रतिशत निजी स्तरमा मिठाई, पसल, चिया पसल, रेष्टुरेन्ट लगायतमा खपत, बाँकी ५० प्रतिशत दूध किसानले उपभोग गरिरहेका छन् । बोर्डकाअनुसार किसानले ५ महिनादेखि भुक्तानी समेत पाउन सकेका छैनन् ।

मुलुकभर हरेक वर्ष २० देखि ३० लाख मेट्रिक टन दूध उत्पादन हुन्छ । सामान्य सययमा उत्पादन भएको दूधले मागलाई धान्ने गरेको छ । यद्यपी पाउडर, तथा विभिन्न प्रयोजनका लागि मिल्ड पाउडरहरु आयात हुने क्रम वर्षेनी बढ्दो छ ।

भन्सार विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७५/०७६ मा १ अर्ब ६० करोड रुपैयाँको दूग्धजन्य पदार्थ आयात भएको थियो भने १७ करोड १० लाख रुपैयाँको निर्यात भएको थियो । त्यस्तै आर्थिक वर्ष ०७६/०७७ मा २ अर्ब ३ करोड ५१ लाख रुपैयाँको दुग्धजन्य पदार्थ आयात भएको थियो भने २ करोड ५४ लाख रुपैयाँको निर्यात भएको थियो ।

चालु आर्थिक वर्षको १० महिनामा १ अर्ब ४४ करोड ७० लाख रुपैयाँको दूध आयात भएको छ । सोही अवधिमा निर्यात भने ६ करोड ५६ लाख ५२ हजार रुपैयाँको भएको छ ।

३ अर्बको पाउडर र बटर मौज्दात

२०७६ साल चैतमा लकडाउन शुरू हुँदा धेरै डेरी उद्योगहरूले किसानले उत्पादन गरेको दूध खेर जान नदिन ठूलो परिमाणमा पाउडर दूध र बटर बनाएका थिए ।

नेपाल डेरी एसोसियसनका महासचिव प्रल्हाद दाहालका अनुसार अहिले देशभर करिब ३ अर्ब रुपैयाँ बराबरको धुलो दूध (पाउडर) र बटर मौज्दात छ । यसै कारण अहिले खपत नभएको दूधको पाउडर बनाएर राख्न नसकेको उनको भनाइ छ ।

बजार चलायमान हुन थाल्दा फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्टले सबै क्षेत्रहरू थला परेका छन् ।

‘पहिलो लकडाउन खुलेपछि दूधको खपत ९० प्रतिशतसम्म हुन थालेको थियो,’ दाहालले खबरहबसँग भने, ‘निषेधाज्ञापछि खपत घटेर ४० प्रतिशतमा झरेको छ ।’

डेरी क्षेत्रको पुर्नउत्थान(राहत) किसानलाई दिने राहत, सुलभ कर्जाको व्याजदर, विगतका ऋण तिर्ने अवधि थप, दूध विकास राहत कोष, दूध तथा दूग्धजन्य पदार्थको आयातमा प्रतिबन्ध गर्न सरकारलाई अनुरोध गरेको छ ।

यो लकडाउनमा दूध तथा दुग्ध पदार्थ बिक्रिमा करिब ६० प्रतिशत कम भई दैनिक १० करोड रुपैयाँभन्दा बढीको दूधले बजार नपाएको दाहालले बताए ।

‘हालको लकडाउनले गर्दा पुरानो मौज्दात रहेको पाउडर दूध र बटर अनि अहिलेको थपिँदो क्रमले गर्दा चालु पुँजी रोकिन गएको छ,’ उनले भने, ‘किसानको पैसा समयमा तिर्न सकिएको छैन ।’

राष्ट्रिय दुग्ध विकास बोर्डको संयोजकत्वमा सरोकारवाला निकायहरु पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रिय दुग्ध सहकारी संघ लिमिटेड, नेपाल डेरी एशोशिएसन, डेरी उद्योग संघ,केन्द्रीय पशुपन्छी पालन सहकारी संघ तथा नेपाल डेरी एशोशिएसनको सहयोगमा देशमा भएको बन्दाबन्दीलाई मध्यनजर गर्दै भर्चुअल माध्यमबाट कार्यक्रम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja