हराएका एक युवाको शव ओडारमा भेटियो



पोखरा

म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानबाट हराएका एक युवाको १२ दिनपछि ओढारमा ढुङ्गाले अड्याएको अवस्थामा शव फेला परेको छ ।

यही वैशाख १४ गतेदेखि हराएका २७ वर्षीय धजेन्द्र पुनको देवीस्थानको मार्चुला सामुदायिक वनको बराहथानस्थित ओढारमा आइतबार शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीयवासीले खबर गरेपछि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डाक्टरप्रसाद चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान शुरु गरेको छ । ढुङ्गाले छोपेर राखिएको अवस्थामा शव भेटिएकाले कसैले हत्या गरेर ओढारमा राखेको हुनसक्ने अनुमान गरिएको छ ।

टाउको र कुम देखिएको अवस्थामा भेटिएको शव सडेको थियो । धजेन्द्रसँगै वैशाख १४ गतेदेखि देवीस्थानका अन्य चार युवा सम्पर्कविहीन छन्् । मृतकका दाजु तिलक पुनले प्रहरीमा दिएको जाहेरीका आधारमा अनुसन्धान र संलग्नको खोजी थालिएको प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले बताए ।

यसैबीच देवीस्थानमै वैशाख १४ गते नै ११ वर्षीया बालिकालाई बलात्कार भएको छ । स्थानीयवासी २१ वर्षीय विजय विकले बलात्कार गरेको पीडितका आफन्तले वैशाख १९ गते प्रहरी कार्यालयमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । विजयले पैसाको प्रलोभनमा पारेर बलात्कार गरेको पीडितको भनाइ छ । विजयको खोजी र घटनाको अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए ।

देवीस्थानमा एकै दिन दुई वटा अपराध भएका छन् । वैशाख १४ गते त्यहाँ छिमेकमा विवाह थियो । बलात्कारको शिकार बनेकी बालिका विवाहमा गएकी थिइन् । दुवै घटनाका बारेमा आइतबार प्रहरीले प्रेस विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja