हाइड्रोको सेयर मूल्यसँग ‘कुलमान कनेक्सन’ !



पोखरा

कार्यकारी निर्देशकको ४ वर्षे कार्यकाल पूरा गरी भदौ ३१ गते कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणबाट बाहिरिए । त्यो दिन नेपाल स्टक एक्सचेञ्ज अन्तर्गत हाइड्रोपावर उपसूचक १ हजार १ सय ४७ अङ्कमा थियो । बुधबारको कारोबार दिनमा हाइड्रोपावर क्षेत्रको सूचक १ हजार ४ सय ४७ अङ्कमा रोकिएको छ । २१ दिनको अवधिमा हाइड्रो क्षेत्रको सूचक करिब ३ सय अङ्कले बढेको देखिएको छ ।

त्यसो त हाइड्रोपावरको सेयरमूल्यमा उछाल आउन थालेको भदौ पहिलो सातादेखि नै हो जब कुलमानको नियुक्ति हुने वा नहुनेबारे अन्यौल कायमै थियो । भदौ ७ गते हाइड्रोपावर क्षेत्रको सूचक ९ सय ४९ विन्दुमा स्थगित भएको थियो । डेढ महिनामा यो क्षेत्रले करिब ५२ प्रतिशतको मूल्य कमाइसकेको छ । कुलमानको नियुक्ति नहुनेबारे सरकारका तात्कालिन प्रवक्ता डा. युवराज खतिवडाले दिएको वक्तव्यपछि एकाएक हाइड्रो क्षेत्रको सेयरमा उछाल सुरु भएको हो ।

कसको कति बढ्यो मूल्य ?

भदौ ७ गतेसम्म हाइड्रो क्षेत्रको सुचक ९ सय ४९ अङ्क हुँदा अधिकांश हाइड्रोपावरको मूल्य निकै नाजुक अवस्थामा थिए । बजारमा सूचीकृत ३२ कम्पनी मध्ये १६ वटाको सेयर अंकित मूल्यभन्दा पनि कम थियो । त्यो दिन दिव्यश्वरी हाइड्रोपावरको मूल्य सबैभन्दा कम ५० रुपैयाँ थियो । सबैभन्दा बढी मूल्य रहेको चिलिमे हाइड्रोपावरको सेयरमूल्य ३ सय ९१ रुपैयाँ थियो ।

भदौ ३१ गते आइपुग्दा अंकित मूल्यभन्दा कम मूल्य हुने कम्पनीको संख्या ६ मा सीमित भएको थियो । त्यो अवधिमा ती कम्पनीहरुको सेयरमूल्य १२ देखि ७४ प्रतिशतसम्म वृद्धि भएको थियो ।

अर्को ३ साता अर्थात असोज २१ गतेसम्म आइपुग्दा सेयरमूल्यमा थप ५ देखि ८४ प्रतिशतको उछाल आएको छ । यो अवधिमा अंकित मूल्यभन्दा कम सेयरमूल्य हुने हाइड्रो कम्पनीको संख्या शुन्यमा मात्रै झरेको छैन सबैभन्दा कम मूल्य रहेको कम्पनीको समेत नेशनल हाइड्रोपावर कम्पनीको मूल्य १ सय २१ रुपैयाँ छ । सबैभन्दा बढी मूल्य हुने चिलिमेको सेयरमूल्य ५ सय २३ रुपैयाँ पुगेको छ ।

यो अवधिमा हाइड्रोका सेयरधनीले १७ प्रतिशतदेखि १ सय ८१ प्रतिशतसम्म कमाएको देखिएको छ ।

(हेर्नुहोस् विवरण)

वास्तविकता कि संयोग ?

सर्वसाधारण जनताको नजरमा कुलमान घिसिङ सँधैं प्रियपात्र भइरहे । लोडसेडिङ हटाएको र वर्षौँदेखि घाटामा रहेको प्राधिकरणलाई सबैभन्दा बढी नाफा गर्ने संस्थानमा रुपान्तरण गर्न सफल भएका कारणले उनी सधैँ चर्चाको केन्द्रमा रहेका हुन् । तर, उनको व्यवहारबाट रुष्ट हुने धेरै पक्षमध्ये निजी क्षेत्रका हाइड्रो प्रवद्र्धकहरु मुख्य हुन् । विद्युत् आपूर्तिको आधा हिस्सा ओगट्ने स्वतन्त्र उर्जा उत्पादकहरुको मागमा घिसिङ सधैँ कठोर बनेको आरोप लाग्दै आएको थियो ।

स्वतन्त्र उर्जा उत्पादकहरुले पुराना आयोजनाहरुको पीपीए दरलाई समायोजन गरेर अहिलेको न्यूनतम पीपीए दर बराबर कायम गर्नुपर्ने, नयाँ आयोजनाको विकास र उर्जा खरिदको सम्बन्धमा आवश्यक सहजीकरण गर्नुपर्ने, हाइड्रोपावरको हस्तान्तरण अवधि बढाएर ५० वर्ष पुर्याउनुपर्ने लगायतका मागहरु राख्दै आएका थिए ।

तर, प्राधिकरणले नाफा घट्ने डरले आफ्ना जायज मागहरुको सुनुवाइ गर्न उदासिनता देखाएको आरोप उर्जा उत्पादकहरुको छ । प्राधिकरणको कार्यकारी प्रमुखको हैसियतले यो अवधिमा कुलमानको व्यवहारबाट उर्जा उत्पादकहरु रुष्ट थिए । त्यही कारण स्वतन्त्र उर्जा उत्पादकहरुले फेरि लोडसेडिङ गर्ने धम्की समेत दिँदै आएका थिए ।

तर, सेयर बजारका विज्ञ अनलराज भट्टराई भने कार्यकारी निर्देशकमा कुलमान घिसिङ बाहिरिनु र सेयरमूल्यमा बढ्नु संयोग मात्रै रहेको बताउँछन् । भट्टराई भन्छन्, ‘उहाँ (कुलमान) प्राधिकरणबाट बाहिरिएकै कारण सेयरमूल्य बढ्यो भन्नु भ्रममात्रै हो । यो बजारमा हल्ला फैलाउने प्रयास मात्रै हो ।’

त्यसो भए पछिल्लो समय सेयरमूल्य बढ्नुको कारण चाहिँ के हो त ? यसमा उनी तीनवटा कारण औंल्याउँछन् । भट्टराई भन्छन्, ‘हाइड्रोपावरको सेयरमूल्य पहिले नै अस्वाभाविक रुपमा कम थियो । यो सेयर १०० भन्दा तल झर्नुपर्ने अवस्था नै होइन । पहिले अस्वाभाविक रुपमा घटेको सेयरमूल्य अहिले बढेको जस्तो मलाई लाग्छ ।’

त्यस्तै, बैंकिङ ब्याजदर घट्दा हाइड्रोपावरको लागत समेत घट्दै गएको भएर पनि अहिले लगानीकर्ताहरु हाइड्रोप्रति आकर्षित भएको उनको अनुमान छ । अहिले बैंकिङ ब्याजदर एक अङ्कमा झरिसकेको छ । सरकारको प्राथमिकतामा रहेका कारण हाइड्रो क्षेत्रको लगानीका ब्याज झनै सस्तो छ । यसले पनि सकारात्मक प्रभाव पारेको छ ।

पछिल्लो समय समग्र सेयर बजार पनि बढ्दै गएको छ । बढ्दै गएको सेयरबजारमा सस्तो मूल्य भएकोले हाइड्रोपावर क्षेत्रमा बढी आकर्षण देखिएको हुनसक्ने समेत बजारका विज्ञहरु औँल्याउँछन् ।

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja