नेपालमा पदयात्रा र पर्वतारोहण खुला, ७ दिन क्वारेन्टिन अनिवार्य



पोखरा

 सरकारले नेपालमा पदयात्रा र पर्वतारोहण खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पदयात्रा तथा पर्वतारोहणमा आउने पर्यटकले अनअराइभल भिसा पाउने बताएको छ ।

कोरोना महामारीपछिको विषम परिस्थितिमा पर्यटन क्षेत्र खुला गर्न पर्यटन मन्त्रालयले पर्वतारोहण तथा पदयात्रामा नेपाल आउने पर्यटकले पालना गर्नुपर्ने शर्तसम्बन्धी मापदण्ड २०७७ स्वीकृत गरेको छ ।

जसअनुसार पर्वतारोहण वा पदयात्राका लागि विदेशबाट आउने पर्यटकले नेपाल आउनु अगावै नेपालको भिसा प्राप्त गरेको हुनुपर्छ । तर, सम्बन्धित देशमा नेपालको भिसा उपलब्ध नहुने अवस्था, समूहमा पर्वतारोहण, र पदयात्राका लागि नेपाल आउन चाहने पर्यटक दलले नेपालस्थित ट्राभल वा ट्रेकिङ एजेन्सीको समन्वयमा पूर्वसहमति लिई नेपाल आउन सक्नेछ ।

उनीहरुका लागि अध्यागमन विभागले अनअराइभल भिसा दिनेछ । पूर्वस्वीकृतिका लागि सम्बन्धित एजेन्सीले पेश गरेको पर्वतारोहण गर्ने पर्यटकको लागि पर्यटन विभाग र पदयात्रा गर्ने पर्यटकका लागि नेपाल पर्यटन बोर्डमार्फत अध्यागमन विभागमा सिफारिस गर्नुपर्ने शर्त राखिएको छ ।

७२ घण्टाभित्रको पीसीआर रिपोर्ट

नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ । यो प्रमाणपत्र अध्यागमन विभागले भिसा दिने समयमै हेर्नेछ ।

अनअराइभल भिसा प्राप्त हुने बिन्दुमै नेपाल आउन प्राप्त गरेको भिसा वा पूर्वस्वीकृतिको कागजात समेत हेरिने भएको छ । कम्तीमा सात दिन क्वारेन्टिनमा बस्ने गरी नेपालमा होटल बुकिङ अनिवार्य गर्नुपर्छ र त्यसको कागजातसमेत सोही समयमा देखाउनुपर्ने भएको छ ।

नेपाल आउने सबै पर्यटकको ५ हजार अमेरिकी डलर प्रतिव्यक्ति बराबरको बिमा गरिएको कागजात समेत अनिवार्य गरिएको छ ।

सात दिन क्वारेन्टिन

नेपालमा आउने सबै पर्यटक सात दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्छ । क्वारेन्टिनमा बसेको पाँचौ दिनमा पर्यटककै खर्चमा पीसीआर परीक्षण गरिनेछ । उक्त परीक्षणमा नेगेटिभ आएमा मात्र पदयात्रा र पर्वतारोहणमा जान सकिने गरी प्रावधान बनाइएको छ । नेगेटिभ नआएसम्म भने होटेलबाट बाहिर जान नपाउने गरी शर्त तोकिएको छ ।

सहयोगीको १ लाखसम्मको बिमा 

नेपालमा पदयात्रा वा पर्वतारोही दलले आरोहण अनुमति लिनुपूर्व नेपालबाट साथमा जाने सदस्यको कम्तीमा १ लाख रुपैयाँको कोरोनासम्बन्धी बिमा गर्नुपर्ने भएको छ ।

नेपालमा पर्वतारोहण वा पदयात्रा गर्दा नेपालको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा स्वीकृत स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गर्नुपर्छ ।

पर्यटकले यसअघि विभागबाट जारी भएका निर्देशनहरु समेत पालना गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja