विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी तयारी अदालतले रोक्यो



पोखरा

चिनियाँ मेसेजिङ तथा भुक्तानी एप विच्याटमाथि प्रतिबन्ध लगाउने ट्रम्प प्रशासनको तयारीलाई अमेरिकाको एक अदालतले रोकिदिएको छ ।

अमेरिकी मेजिस्ट्रेट अदालतको न्यायाधीश लउरेल बीलरले विच्याटमाथिको प्रतिबन्धले वाक् स्वतन्त्रताको संवैधानिक हकमाथि गम्भीर प्रश्न उठाएको भन्दै विच्याटमाथि प्रतिबन्ध नलगाउन आदेश दिएका हुन् ।

अमेरिकी वाणिज्य मन्त्रालयले आइतबारदेखि लागू हुनेगरी विच्याटमाथि प्रतिबन्ध लगाउने घोषणा गरेको थियो ।

राष्ट्रिय सुरक्षामाथि विच्याट तथा टिकटक लगायतका चिनियाँ एपहरुले खतरा पैदा गरेको दाबी ट्रम्प प्रशासनको रहँदै आएको छ ।

तर चीन तथा उल्लेखित सोसल मिडिया एपहरुले अमेरिकाको त्यस्तो आरोप निराधार रहेको भन्दै खण्डन गरेका छन् । विच्याटको स्वामित्व रहेको चिनिया कम्पनी टेनसेन्टले विच्याटमाथि प्रतिबन्ध लगाउने अमेरिकी कदम दुर्भाग्यपूर्ण रहेको टिप्पणी गरेको थियो ।

अर्को चिनियाँ एप टिकटकले अमेरिकी कम्पनी ओरेकल र वालमार्टसँग खरीद–बिक्री सम्झौता गरेसँगै प्रतिबन्धको जोखिम हटेको आँकलन गरिएका बेला अदालतको आदेशपछि विच्याट पनि बन्द नहुने देखिएको छ ।

अदालतमा के भयो ?

विच्याट प्रयोगकर्ताहरुको एक समूहले मेजिस्ट्रेट अदालतमा विच्याटमाथि बन्देज नलगाउन माग गर्दै मुद्दा हालेका थिए । त्यसको सुनुवाइ गर्दै अदालतले विच्याटमाथि प्रतिबन्ध नलगाउन आदेश दिएको हो ।

न्याय मन्त्रालयले भने राष्ट्रिय सुरक्षामाथिको खतरालाई सम्बोधन गर्नका लागि राष्ट्रपति ट्रम्पको योजना बमोजिम विच्याटमाथि प्रतिबन्ध लगाउन लागिएको जवाफ दिएको थियो ।

सनफ्रान्सिस्कोस्थित अदालतमा न्यायाधीश बीलरले चीनबाट आम प्रविधि तथा मोबाइल प्रविधिसँग सम्बन्धित विषयमा पैदा भैरहेको राष्ट्रिय सुरक्षाको चुनौति उल्लेखनीय रहेको भएपनि विच्याटकै विरुद्धमा भने बलियो प्रमाण नरहेको ठहर गरे ।

अमेरिकी वाणिज्य मन्त्री विल्बर रोसले एक विज्ञप्ती मार्फत् अमेरिकी नागरिकहरुका व्यक्तिगत डाटाहरु संकलन गर्ने चिनियाँ कदमविरुद्ध लड्नका लागि चिनियाँ एपहरुमाथि बन्देज लगाउने निर्णय गरिएको बताएका थिए ।

विच्याटले प्रयोगकर्ताहरुबाट नेटवर्क एक्टिभिटी, लोकेसन डाटा, ब्राउजिङ तथा सर्च हिस्ट्री लगायतका विविध डाटाहरु संकलन गर्ने गरेको रोसको भनाइ छ ।

के हो विच्याट ?

चिनियाँ एप विच्याटको स्थापना सन् २०११ मा भएको हो । यो बहुउद्देश्यीय एपबाट मेसेज आदानप्रदान गर्न, मोबाइल भुक्तानी तथा मोबाइलबाटै अन्य स्थानीय सेवाहरु समेत लिन सकिन्छ । मासिक एक अर्ब सक्रिय प्रयोगकर्ता रहेको विच्याटलाई चीनमा ‘एप फर एभ्रिथिङ्ग’ भनिन्छ ।

अन्य चिनियाँ सोसल मिडिया प्लाटफर्मले जस्तै विच्याटले पनि चीन सरकारले अवैध भनेका सामाग्रीहरु सेन्सर गर्नैपर्ने हुन्छ । सन् २०२० को जनवरी १ देखि नै विच्याटले कोरोना भाइरस महामारीसँग सम्बन्धित विभिन्न शव्दहरुमाथि प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja