बजारमा ल्यापटप अभाव, यही मौकामा कालोबजारी



पोखरा

बुढानीलकण्ठमा सफ्टवेयर डिजाइन कम्पनी खोलेका आकाश बज्राचार्यले राम्रो गुणस्तरका छवटा ल्यापटप खोजेको १५ दिन भयो । काठमाडौंका अधिकांश कम्प्युटर पसल र सप्लायर्स चाहारिसकेका उनी ल्यापटपहरुकै अभावमा नयाँ कम्पनी संचालनमा ढिला हुने पीरमा छन् ।

अहिले बजारमा राम्रा कम्पनीका ल्यापटप मात्र होइन, एसेसरिजको पनि अभाव छ । कम्प्युटर पसलहरुमा भीडभाड छ, तर ग्राहकले खोजेका ल्यापटप किन्न पाइरहेका छैनन् । बुढानीलकण्ठका बज्राचार्यको अनुभवमा, पसलेहरुले जे भिडाउँछन्, त्यही उठाउने ग्राहकबाहेक अरु रिक्तो हात फर्किरहेका छन् ।

न्युरोडमा डेस्कटप कम्प्युटर किनेर फर्किन लागेका रोहन आलमले खोजेको ब्राण्डको ल्यापटप नपाउँदा कामचलाउन डेक्सटप नै किनेको बताए ।

‘धेरै डिभाइस चलाउन राम्रो ब्रान्ड र नयाँ सिरिजको ल्यापटप चाहिन्छ’, उनले भने, ‘तर, बजारमा नयाँ सिरिज त के राम्रो ब्रान्डका पुराना सिरिजमा ल्यापटप पनि छैनन् ।’

पुतलीसडकको पिनाकल कम्प्युटर सञ्चालक विजय चापागाईं अहिले खासगरी ल्यापटपको माग उच्च भएपनि आपूर्ति नभएकाले पसल खोलेर मात्र बस्नु परेको बताउँछन् । ‘भएका ल्यापटप सबै गइसक्यो,’ उनी भन्छन्, ‘बाँकी भनेको त्यही डिस्प्लेमा राखिएका हुन् ।’

हृवात्त माग बढ्नुको कारण

लकडाउनपछि कम्प्युटर र ल्यापटप बेच्ने पसलहरु पनि स्वतः बन्द भए । कम्प्युटर व्यवसायी ज्ञानप्रसाद पाण्डेकाअनुसार पसल बन्द भएपनि भित्रभित्रै ल्यापटपको माग यति बढ्यो कि लकडाउनकै अवधिमा स्टक लगभग रित्तियो ।

उनका अनुसार, कम्प्युटर पसलहरुका ‘डेडिकेटेड’ ग्राहक हुन्छन् । लकडाउनले घरघरमै बस्न परेपछि ‘वर्क फ्रम होम’को चलन पनि बढ्यो ।

‘विशेषतः आईटी क्षेत्रका मानिसहरुले राम्रो ब्राण्डका ल्यापटप खोज्न थाले’, पाण्डे भन्छन्, ‘अनि पसलहरुले बन्द पसल या गोदाम खोलेरै आफ्ना ग्राहकलाई ल्यापटप बेचे ।’

लकडाउनमा घरमै थुनिएकाहरुले अफिसियल र व्यक्तिगत प्रयोजनका लागि पनि ल्यापटप किने । ‘भर्चुअल मिटिङ’को चलन पनि फस्टायो । मोबाइलको सानो स्क्रिनमा झन्झट मान्नेहरु ल्यापटप माग्दै फोन गर्न थाले ।

निजी विद्यालयले अनलाइन कक्षा सुरु गरेपछि त ल्यापटपको माग उच्च विन्दुमा पुग्यो । ई-लर्निङका लागि नानीबाबुलाई मोबाइल सेट सुम्पिन नसक्ने अभिभावकहरु ल्यापटप खोज्न थाले । पुरानो ल्यापटपमा धेरै काम गर्नुपर्ने भएपछि नयाँ खोज्नेहरु समेत बढे ।

सरकारी कार्यालयहरुले जेठ-असारमा धेरै ल्यापटप किन्ने पुरानो ट्रेन्ड पनि लकडाउनको कारण झन मौलायो । फ्रिज हुने बजेट रकमान्तर गरेर ल्यापटप किन्ने गरेका कार्यालयहरले बजारमा मागको चाप बढाए ।

यो वर्ष कोरोनाका कारण ल्यापटप अत्यावश्यक पनि भएको र बजेट पनि खर्च नभएकाले सरकारी कार्यालयहरुले खरिदको लागि धेरै चासो देखाए । यस्ता विभिन्न कारणले बजारमा ल्यापटपको अभाव सिर्जना भयो ।

क्यान फेडेरसन नेपालका अध्यक्ष नवराज कुँवर माग र आपूर्तिको चक्र खल्बलिएकाले अभावको अवस्था आएको बताउँछन् । अहिले पसलमा जाँदा जे भेटिन्छ त्यो टिप्न तयार नभए रित्तो हात फर्किनुको विकल्प नभएको उनले बताए ।

उनकाअनुसार बजारमा फरक खालका ल्यापटप त भेटिएपनि राम्रो ब्रान्ड र सिरिजको पाउनु असम्भव जस्तै छ । एउटै सिरिज र ब्रान्डका धेरै ल्यापटप किन्न खोज्नेले त बजार नपस्दा पनि हुने अवस्था छ ।

अभावमा कालोबजारी

बजारमा ल्यापटपको अभाव भएसंगै कालोबजारी मौलाएको छ । कतिपय बिक्रेताले ल्यापटप लुकाएर अभाव सिर्जना गरेका छन् ।

सुरुमा ‘ल्यापटप छैन’ भनेर ग्राहकलाई निरास बनाउने बिक्रेताहरुले ‘अन्त सोध्छु’ भन्दै बजार मूल्यभन्दा निकै मँहगोमा ल्यापटप बेचिरहेका छन् । त्यस्ता पसलेहरुले लकडाउनकै समयमा बजारबाट ल्यापटप उठाएर अवैध भण्डारण गरेको क्यान फेडेरेसनको आशंका छ ।

क्यानका अध्यक्ष कुँवर बजारमा अभाव हुने देखेपछि कतिपयले बजारबाट ल्यापटप उठाएर ‘स्टक’ गरेको हुन सक्ने बताउँछन् ।
अहिले प्रतिल्यापटप पाँचहजारदेखि २० हजार रुपैंयासम्म मूल्य बढेको बिक्रेताहरु बताउँछन् ।

मूल्यमा थोरै उतारचढाव आउउनु बजारको नियम भएपनि छोटा अवधिमै यति धेरै भाउ बढ्नु, त्यसमा पनि नयाँ सिरिजका ल्यापटमा अत्यधिक मूल्यवृद्धि हुनुले कालोबजारी भएको प्रष्ट पार्छ ।

त्यसो त मूल्य बढ्नुमा कालोबजारी मात्रै कारण छैन । बजारमा माग बढेको बेला आपूर्ति सुस्त रहेको क्यानका अध्यक्ष कुँवर बताउँछन् ।

उनका अनुसार, लकडाउनपछि विदेशबाट ल्यापटप आपूर्ति गर्दा लाग्ने ढुवानी शुल्क प्रतिकिलो रु.५ बाट १० रुपैयाँ पुगेको छ । त्यसमाथि विदेशमा पनि लकडाउनले उत्पादन कम भएको कुँवर बताउँछन् ।

‘डलरको भाउ ११४ रुपैयाँबाट बढेर १२० पुगेको छ, यसले गर्दा पनि ल्यापटप मँहगो भएको,’ उनी भन्छन्, ‘उत्पादन घटेको र माग बढेको अवस्थामा आपूर्ति चक्रमा प्रभाव पर्दा ५-७ हजार महँगिनु अस्वभाविक हैन ।’

योभन्दा बढी मूल्य राखेर ल्यापटप बिक्री भइरहेको अवस्थामा ग्राहक आफैं पनि सचेत हुनुपर्ने कुँवर बताउँछन् ।

विमान सेवा नियमित भएपछि मात्र ल्यापटपको आपूर्ति सहज हुने उनको आँकलन छ । उनका अनुसार, फ्लाइट नियमित भएपछि अर्डर गरेको ७ दिनमा सामान नेपाल आइपुग्ने अवस्था फर्कन्छ । अहिले त अर्डर गरेको तिन सातामा पनि नआइपुग्ने अवस्था छ ।

Onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja