आज जनै पूर्णिमा पर्व मनाइँदै



पोखरा

हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनै पूर्णिमा पर्व आज देशभर नव यज्ञोपवीत एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ ।

यस दिन वैदिक सनातन धर्मावलम्बीले बिहानैदेखि नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर जौ तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै फेर्ने तथा गुरु पुरोहितबाट रक्षासूत्र अर्थात् डोरो बाँध्ने गरिन्छ ।

ऋषिलाई तर्पण गर्ने भएकाले यस दिनलाई ऋषितर्पणी भन्ने गरिएको छ । मन्त्रिएको जनै फेर्ने गरिएकाले नै श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा पनि भनिन्छ । वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको छ ।

सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।

नेवारी समुदायले भने श्रावण शुक्ल पूर्णिमालाई गुँपुन्ही भनी मनाउने गर्दछन् । क्वाँटी खाने परम्परा नेवारी समुदायको यसै पर्वबाट आएको हो भन्ने तर्क पनि संस्कृतिविद्को रहेको छ ।

एघारथरिका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर क्वाँटी बनाई खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने मान्यता नेपाली समुदायमा रहेको छ ।

नेपालको तराई क्षेत्रमा पनि यसै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाध्ने चलन रहिआएको छ । यसबाट दिदीबहिनी र दाजुभाइका बीचमा प्रेम सम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता समेत रहेको छ ।

यस पर्वका अवसरमा केही वर्षअघिसम्म  देशभर सार्वजनिक बिदा दिर्ने गरिएकामा हाल  कटौती गर्दा पर्व मनाउन समय नपुग्ने गरेको कर्मचारी वर्गको गुनासो छ । गण्डकी प्रदेश सरकारले भने यस पर्वको अवसरमा प्रदेशमा  सार्वजनिक बिदा दिएको छ । गण्डकी प्रदेशको राजपत्रमा प्रकाशित थप विदा सम्बन्धी सुचना अनुसार प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको हो ।

मन्त्रिपरिषद्को निर्णय अनुसार गण्डकी प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयले गत वर्ष चैत २२ गते सूचन जारी गर्दै जनैपूर्णिमा सहित ईद, तमु ल्होसार, माघे संक्रान्ति र सोनम ल्होसारमा थप सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

जनै पूर्णिमा , रक्षाबन्धनको अवसरमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले  स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा सुख, शान्ति, समृद्धि सु-स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिका लागि  शुभकामना  समेत व्यक्त गरेका छन्  ।

मुख्यमन्त्री गुरुङले नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने यस्ता मौलिक चाडपर्वहरुले  विभिन्न समुदाय र सम्प्रदाय बीचको एकतालाई दरिलो बनाएको उल्लेख गर्दै यस पर्वले गण्डकी प्रदेशमा रहेका सबै जातजाति तथा समुदायबीच आपसी सद्भाव प्रगाढ बनाइ आर्थिक, सामाजिक एवं सांस्कृतिक रुपले समृद्ध प्रदेश निर्माण गर्न पद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।

शुभकामना सन्देश मार्फत उनले लकडाउन हटेपनि कोभिड-१९ को संक्रमण नहटेको हुँदा आवश्यक सुरक्षा र सजकता अपनाउन सबैलाई आग्रह समेत गरेका छन् ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja