विश्वकप छनोटको तयारीअघि नेपाली राष्ट्रिय टिम दुई साता क्वारेन्टिनमा बस्ने



पोखरा

अखिल नेपाल फुटबल संघ (एन्फा) विश्वकप छनोटका लागि नेपाली राष्ट्रिय टिमको प्रशिक्षणको तयारीमा जुटेको छ। कोरोना भाइरस सङ्क्रमण महामारीका कारण फुटबल प्रशिक्षण गत चैत महिनादेखि रोकिएको थियो।

एन्फाले राजधानीमा तथा बाहिर रहेका राष्ट्रिय फुटबल टिमका सबै पुरुष खेलाडीलाई प्रशिक्षणका लागि तयार रहन निर्देशन दिएको छ। राष्ट्रिय फुटबल टिमका सबै पुरुष खेलाडीलाई यही साउन १७ गतेसम्म काठमाडौँ बोलाइएको एन्फा प्रवक्ता किरण राईले बताए।

साउन १७ गतेदेखि ३० गतेसम्म प्रशिक्षणका लागि आउनै सबै खेलाडीलाई क्वारेन्टीनमा राखिने उनले बताए। पहिले खेलाडी होटलमा बस्नेछन् भने प्रशिक्षण सुरु हुनुअघि एन्फा हस्टेलमा सर्नेछन्।

यस्तै स्विडेनमा रहेका प्रशिक्षक योहान कालिनलाई झिकाउन पनि एन्फाले प्रक्रिया अघि बढाएको प्रवक्ता राईले बताए।

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण आगामी भदौ १ गतेदेखि प्रारम्भ हुनेछ। उक्त प्रशिक्षण एन्फा कम्पलेक्स सातदोबाटोमा गरिने प्रवक्ता राईले उल्लेख गरे। खेलाडीलाई क्वारेन्टीनमा राखी उनीहरुको पिसिआर परिक्षण गरिने छ। त्यसकै नतिजा अनुसार खेलाडीलाई प्रशिक्षणमा सहभागी गराइनेछ।

सरकारले २०७६ चैत ११ गतदेखि लकडाउन लागू गरेको थियो। लकडाउन लगत्तै फुटबल प्रशिक्षण पनि रोकिएको थियो। सरकारले बुधबार लकडाउन खुला गरेसँगै एन्फाले खेलाडी प्रशिक्षणको प्रक्रिया अघि बढाएको हो।

खेलाडीका लागि प्रशिक्षण अति आवश्यक भएकाले आफूहरु सरकारको निर्णयको पर्खाइमा रहँदै आएको राईले बताए। नेपालले विश्वकप छनोटअन्तर्गतको खेलका लागि प्रशिक्षण थाल्नेछ।

यसअघि एन्फाले नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु गर्नका लागि युवा तथा खेलकूद मन्त्रालयमार्फत कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी)सित अनुमति मागेको थियो।

एन्फाले फिफा विश्वकप–२०२२ र एएफसी एसियन कप–२०२३ को छनोट प्रतियोगिताको तयारीका लागि अनुमति मागेको थियो।

कोरोना भाइरस सङ्क्रमणका कारण स्थगित भएको छनोट खेलहरू आगामी अक्टोबर र नोभेम्बरमा गराउने एसियाली फुटबल महासङ्घ (एएफसी) ले फिफालाई प्रस्ताव गरेको छ।

स्थगित भएका खेलहरू आगामी अक्टोबर ८ र १३ तारिख तथा नोभेम्बर १२ र १७ तारिखमा गराउने भनिएको छ।

दोस्रो चरणको छनोटअन्तर्गत नेपालले अब तीन खेल खेल्न बाँकी छ। ती सबै खेल नेपालले घरेलु मैदानमा खेल्नेछ।

नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।

खेलाडीहरु प्रशिक्षण गर्न पाउने भएपछि उत्साहित भएका छन्। लामो समयदेखि प्रशिक्षणको पर्खाइमा रहेको र अब केही राहत मिलेको राष्ट्रिय फुटबल टोलीका खेलाडी विक्रम लामाले बताए।

लकडाउन खुलेसँगै खेल्ने वातावरण बन्नेमा आफू आशावादी बनेको उनले उल्लेख गरे। घरेलु मैदानमा हुने तीन खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्नुपर्ने नेपाली खेलाडी सामु चुनौती रहेको उनको बुझाइ छ। नेपाली टोलीले अबका खेलमा आफ्नो प्रदर्शनमा सुधार ल्याउने लामाले बताए।

पुरुष टोलीलाई प्रशिक्षका लागि तयारी अवस्थामा रहन एन्फाले निर्देशन दिए पनि राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षणको भने कुनै टुङ्गो छैन।

राष्ट्रिय महिला फुटबल टोलीकी महत्वपूर्ण खेलाडी सावित्रा भण्डारीले महिला खेलाडीको प्रशिक्षण अन्योलमा रहेको बताइन्। प्रशिक्षणबारे कुनै जानकारी प्राप्त नभएको उनले उल्लेख गरिन्।

भण्डारी सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा आवद्ध छन। एपीएफमा आवद्ध धेरै खेलाडीहरु नेपाल–भारत सीमाको सुरक्षार्थ खटिएको भण्डारीले बताइन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja