पर्यटन वर्षले बढाएको लगानी कोरोनाले डुबायो !



पोखरा

कोभिड–१९ को महामारीका कारण विश्व  नै अस्त व्यस्त बनेको छ । नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्षका कारण  व्यवसायीले लगानी बढाए । यो वर्ष पर्यटकिय गतिविधि तथा पर्यटकको आगमनमा वृद्धि हुने अपेक्षा व्यवसायीको थियो । केहि नयाँ लगानीकर्ता समेत उपयुक्त समय हुने भन्दै यहि समयमा पर्यटन क्षेत्रमा आए । तर अवस्था सोचे जस्तो भएन । जटिल बन्यो । यो अनेपेक्षित परिस्थितीको सामना सबैले गरिरहेका छन् । सरकारले घोषणा गरेको पर्यटन वर्ष स्थगित भइसक्यो । सबै पर्यटकिय गतिविधि ठप्प छन् । कहिले अवस्था सामान्य होला भनेर कुर्नुको विकल्प छैन । पोखराको साहसिक पर्यटन क्षेत्रको अवस्था पनि उस्तै नाजुक छ ।

हुनत साहसिक पर्यटन गतिविधिका कारणसाहसिक पर्यटन मनपराउनेहरुको डेस्टिनेसन पोखरा बन्दै थियो । पोखरा अनि यस आसपासमा दैनिकरुपमा विभिन्न साहसिक पर्यटकिय गतिविधि हुने गर्दथे । सोही कारण पोखरा पुग्ने आन्तरिक तथा बाह्रय पर्यटकले आ–आफ्नै योजना बुन्थे । कोहीले सराङकोट तथा कास्कीकोट पुगेर प्याराग्लाइडिङ गर्थे । कोहि अल्ट्रालाइट र हेलि एयर मार्फत छोटो समयमा पोखरा आसपासका सुन्दर दृश्य नियाल्न लालाहित हुन्थे । कोहि जिपफ्लाएर र बञ्जीजम्पमा रमाउन तर्फ पुग्थे । क्यानोनिङ गर्नेहरु हुन् वा र्याफ्टिङ र कायाकिङ । पदयात्रामा रमाउनेहरुलाई ट्रेकिङ पनि । यिनै आर्कषणले गर्दा साहसिक पर्यटनको हबको रुपमा पोखरा देश तथा विदेशमा परिचित थियो । हुनपनि यहाँ रहेका प्राकृतिक र मानवनिर्मित सम्पदाले जो कोहिलाई लोभ्याउँछ ।

आफुसँग भएको समय अनुसार छोटो र लामो समयसम्मका साहसिक पर्यटन सम्बन्धि प्याकेजको उपयोग गर्दै यात्रा अविस्मरणिय बनाउने पर्यटकलाई सहजता थियो । कतिले त यहाँ हुने साहिसक पर्यटनका गतिविधिका कारण बसाई समेत लम्ब्याउथे । तर अहिले परिस्थिती फरक छ । पुनः पुरानै अवस्थामा फर्कने आशामा व्यवसायी र मजदुरहरु दिन गनिरहेका छन् ।

नेपाल हवाई खेलकुद संस्था (ना) अध्यक्ष कृष्ण भण्डारी अहिले सबै क्षेत्रमा असर परेको र त्यसबाट साहसिक पर्यटनको आर्कषण बनिरहेको पोखराको प्याराग्लाडिङ क्षेत्र अछुतो रहन नसकेको बताउँछन् । साहसिक पर्यटनको अवस्था सामान्य हुन अझ धेरै समय लाग्ने उनको बुझाइ छ । ‘यसलाई त्यसलाई भन्नु भन्दा पनि, सामान्य जनजीवनमा समेत प्रभाव परेको छ । खुलेपनि विदेशी आउन छिटोमा अक्टुवर, नोभेम्बर सम्म हुनसक्छ । प्याराग्लाडिङ क्षेत्रमा एक हजार जनाको प्रत्यक्ष संम्लग्नता छ’ उनले भने ।

विगतका वर्षहरुमा यो समयमा पोखराको आकाशमा कम्तिमा दैनिक ५ सय प्याराग्लाडिङ उड्ने समय हो । यसरी उड्नेमा ७० प्रतिशत विदेशी र ३० प्रतिशत नेपाली हुन्थे । अब प्याराग्लाडिङ क्षेत्र नेपालीले मात्र धान्न सक्ने अवस्था छैन । विदेशी आउन समय लाग्ने निश्चित छ । साढे ३ सय जना पाइलटको रोजीरोटी प्याराग्लाडिङ क्षेत्रले धानिरहेको थियो । नेपाल हवाई खेलकुद संस्थामा आवद्ध ६० कम्पनी छन् । ती मध्ये ५७ वटाले सेवा दिइरहेका छन् ।

‘हामिले टार्गेट गरे अनुसार यो रिकोभरी त अवश्य हुन्छ, सुरुको समयदेखि रिकोभरीको समयसम्ममा कसरी धानिने भन्ने समस्या छ, अवस्था चिन्ताजनक छ, असाध्यै ठुलो मर्का पार्छ व्यसायीहरुलाई’ भण्डारीले थपे ।  अवस्था सामान्य भएपछि मानिसहरुको मानसिकता पनि परिवर्तन हुने, जिन्दगीको बारेमा बुझ्ने, घुम्ने, फिर्ने, साहसिक पर्यटन तर्फ रमाउने त्यस्तो खालको सोच हुने र यो क्षेत्रमा सकारात्मकता छाउने विश्वास व्यवसायीले गरिरहेका छन् । प्याराग्लाइडिङ क्षेत्रमा प्रत्यक्ष रुपमा १ हजार जना परिवारको दैनिक गुजारा चलिरहेको थियो ।

नेपाल हवाई खेलकुद संस्था (ना) का पूर्व अध्यक्ष योगेश भट्टराई कोरोनाले साहसिक पर्यटनलाई मात्र नभएर समग्रमा नेपालकै पर्यटनलाई असर पारिरहेको बताउँछन् । भुकम्प र अन्य प्राकृतिक प्रकोप भन्दा यसले लामो समयसम्म असर पार्ने उनको बुझाइ छ । ‘अहिलेत सबै बन्द नै छ, पर्यटन व्यवसाय भनेको सिसा जस्तो हो, फुटेपछि जोड्न निकै गाह्रो हुन्छ । यसमा लागेका पाइलट देखि व्यवसायीहरु असर पारेको छ । यो अवस्था सुधार हुन लामो समय लाग्छ’ उनले भने ।

नेपाली प्याराग्लाइडिङ खेलको प्रशिक्षकको रुपमा काम गरिसकेका उनी प्याराग्लाइडिङ खेललाई समेत असर पारेको बताउँछन् । ‘खेलाडीले पनि खेल्न पाएका छैनन्, यसअगाडी फेब्रुअरीमा वल्डकप त गरिसकेका थियौ । तर अरु गतिविधिलाई असर पारेको छ’ उनले सुनाए ।  सन् २०२० मा एक्युरेसी वल्डकप गर्ने सोच बनाएको भएपनि अहिले विश्वभरनै प्याराग्लाइडिङ खेल बन्द भएको कारण सो खेल नहुने पक्का भएको छ । अवस्था सामान्य भएपछि खेल गतिविधि हुने उनी बताउँछन् ।

पछिल्लो समयमा विदेशी सहित नेपाली युवा युवतीको आर्कषण प्याराग्लाडिङ तर्फ बढ्दै गएको छ । विदेशी पर्यटकको हकमा चाइनिज पर्यटकको संख्या यो साहसीक खेलतर्फ बढी देखिन्छ । नेपालीको हकमा १८ वर्षदेखि ४० वर्ष सम्मका युवा बढी मात्रामा यसतर्फ आर्कषित छन् । विदेशी पर्यटकको हकमा भने उमेर बढी भएकाहरुकोे आर्कषण समेत बढी देखिन्छ । यो उडान गर्न बाह्रै महिना मिल्ने भएपनि मुख्य सिजन सेप्टेम्भर देखि डिसेम्बरसम्म हो । सिजनामा दैनिक तिन फ्लाइट सम्म हुन्थ्यो ।

पोखराबाट झण्डै १० किमिको सराङकोट जहाँ झण्डै २५ मिनेटमा पुगिन्छ । झण्डै १५ किमिको दुरिमा रहेको तोरीपानी ४५ मिनेटको यातायातको साधनमा । सराङकोट र तोरीपानीबाट उडान गरी फेवाताल किनार खपौदीमा अवतरण गरिन्छ । उडान स्थलसम्म लाने र अवतरण स्थलबाट ल्याउने व्यवस्था कम्पनीलेनै गर्नेछन् । सन् १९९५ बाट नेपालमानै पहिलोपटक प्याराग्लाइडिङ उडान कास्कीबाटै सुरु भएको हो । तत्कालिन समयमा कास्की जिल्लाको घार्मी माथीको ढिकिडाडाँबाट प्याराग्लाडिङ उडान सुरु गरिएको थियो । केहि समय पछि मात्र ढिकिडाडाँबाट ठाउँ परिवर्तन गरी सराङकोटबाट उडान गर्न थालिएको हो । कास्की सँगै तनहुँ, स्याङ्गजा, पाल्पामा समेत प्याराग्लाडिङ उडान हुने गरेको छ । कर तिरेपछि राज्यले व्यवसायीलाई हेरिदिनुपर्ने, व्याजदर घटाइ व्वसाय टिक्ने ठोस खालको प्याकेज आउनुपर्नेमा व्यवसायीको जोड छ ।

साहसिक पर्यटनतर्फको आर्कषणको लागि भनेर कास्कीको छिमेकी जिल्ला पर्वतमा वञ्जि जम्प तयारी अवस्थामा छ । पर्वत सदरमुकाम कुश्माबजारदेखि बाग्लुङको नारायण स्थान जोड्ने गरी कालीगण्डकीमाथी झोलुङ्गे पुल निर्माण गरेर वञ्जिजम्प तयार गरिएको हो । गत बैशाख १ गतेबाट सञ्चालनमा ल्याउने भनिएकोमा कोरोना महामारीको असर यसलाई समेत पर्यो । अब अवस्था सामान्य हुने वित्तिकै पूर्ण रुपमा सुरु गर्ने योजना बनाएको द क्लिफ प्रालिका अध्यक्ष राजु कार्कीले बताए । ‘यसको परिक्षण भइसकेको छ, अब अवस्था सामान्य हुने बितिकै पूर्ण रुपमा सुरु हुन्छ’ उनले भने । यो विश्वको दोस्रो ठुलो बञ्जिजम्प हो ।

यता पोखरा १७ रातोपैह्रामा बन्जी नेपाल एडभेन्चर्स प्रालिले बञ्जी जम्प निर्माण गरिरहेको छ । यसका अलावा पोखरा १८ सराङकोटमानै मिनि बञ्जी जम्प गर्न समेत पाइन्छ । हाइग्राउण्ड एडभेन्चर नेपाल प्रालिले बञ्जीजम्प गर्न चाहने साहसिक पर्यटकको लागि यो सेवा उपलब्ध गराएको छ । यसले बञ्जीजम्प गर्नेलाई नयाँ विकल्प दिएको छ । साहसिक पर्यटनको रुपमा पोखराको सराङकोटमा नेपालकै पहिलो जिप फ्लाएर सञ्चालित छ । जिप फ्लाएर मार्फत सराङकोटदेखि हेम्जा सम्मको १८ सय मिटर दुरी ९० सेकेन्डमा पुरा गर्न सकिन्छ । यसलाई हाइग्राउण्ड एडभेन्चर नेपाल प्रालिले सञ्चालनमा ल्याएका हो अक्टुवर, नोभेम्बर, डिसेम्बर, मार्च, अप्रिल महिनामा यहाँ बढी भिड हुन्छ । लेकसाइडबाट सराङकोट सम्म लाने ल्याउने व्यवस्था कम्पनीले गर्दछ ।

पुतली जहाज (अल्ट्रालाइट) पोखराको अर्को साहसिक पर्यटकिय गन्तव्य हो । पोखरामा आउने पर्यटक पुतली जहाज (अल्ट्रालाइट) मा आकाशमा दृश्यावलोकन गर्न रुचाउने गरेको पाइन्छ । सन् १९९६ बाट यो सुविधा पोखरामा सुरु भएपछि यस तर्फको आर्कषणले पोखरा आउने पर्यटकको संख्या थपिएको व्यवसायीको दावी छ । अहिले पोखरामा एभिया क्लव नेपाल, फिस्टेल अल्ट्रा फ्लाइट, पोखरा अल्ट्रालाइटले यहाँ आउने पर्यटकलाई अल्ट्रालाइट मार्फत सेवा दिदै आइरहेका थिए । अल्ट्रालाइट मार्फत कास्की जिल्लामा रहेका ताल, सेती नदि, हिमश्रृखला, विभिन्न ट्रेकिङ रुट लगायतका प्राकृतिक छटा छोटो समयमा नियाल्न पाइने हुँदा यसतर्फको आर्कषण बढ्दै थियो । अगस्ट देखि नोभेम्बरसम्म र फ्रेबुअरी देखि अप्रिलसम्म मुख्य सिजन भएपनि सबैजसो समयमा पुतली जहाजले सेवा दिने गरेको थियो ।

एक समय चाइनिज पर्यटकको रोजाइमा पर्ने अल्ट्रालाइट पछिल्ला दिनमा भारतीय पर्यटकको रोजाइमा पर्न थालेको थियो । फिस्टेल अल्टा फ्लाइटका व्वस्थापक रिजन रिजाल अल्ट्राफ्लाइट गर्नेमा ८० प्रतिशत विदेशी हुने गरेको बताउँछन् । ‘अल्ट्राफ्लाइट गर्ने चाइनिज बढी हुन्थे, जनवरी २५ मा चाइनिज नयाँ वर्ष थियो । तर चाइनिज आउन जनवरी बिचबाटै रोकिएको थियो । तत्कालै विदेशी आउने सम्भावना छैन । अब बैकको व्याज हेरिदिनुपर्छ । आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्नुपर्छ’ उनले भने ।

पोखरामा साहसिक गतिविधिमा रमाउन चाहनेको अर्को आर्कषण हेली एयर नेपालको हल्का हेलिकप्टर (ग्योरोकप्टर) मा समेत छ । यो करिब १८ हजार फिट उचाइसम्म उड्न सक्छ । ३ सय ६० ड्रिगीमा दृश्य अवलोकन गर्न पाइने यसको विशेषता हो । यात्रुसहित ५ सय ६० किलो तौल बोकेर उड्न सक्ने क्षमता यसको हुन्छ । दक्षिण एसियामै पहिलो पटक लाइट हेलिकप्टरको रुपमा यसलाई पोखरामा भित्राएको कम्पनिको दावी छ । प्रेटोलबाट चल्ने यो हेहिकप्टर लगातार ३ घण्टा वा ८ सय किलोमिटरसम्म चल्न सक्छ । हावाहुरी लागेको बेला तथा अध्यारोमा समेत उडान गर्न सकिने यसको विशेषता हो । हेलि एयरबाट यात्रुले सतहको नजिकबाट दृश्यावलोकन गर्न पाउनेछन । पाइलट सहित दुईजनाले यसमा उडान गर्न सक्नेछन् ।

पानीमा भिज्दै रमाउनेको लागि क्यानोनिङ खेल कास्कीमा उपलब्ध छ । पोखरा क्यानोनिङ प्रालिका सञ्चालक स्थानीय युवा राम गुरुङले २०७० सालको बैशाखमा क्यानोनिङ यहाँ भित्राएका थिए । पोखरा क्यानोनिङ प्रालिले कास्कीको घलेल गाउँमा सुरु गरेको क्यानोनिङ खेलतर्फ आर्कषण बढ्दै गएको छ । नेपालमा क्यानोनिङका प्रमुख गन्तव्यको अन्नपूर्ण पदमार्गअन्तर्गत मस्र्याङ्दी उपत्यका, भोटेकोसी क्षेत्र, सुनकोसी क्षेत्र तथा काठमाडौंको ककनी क्षेत्र मानिन्छ । पछिल्लो समय कास्कीको घलेल गाउँ पनि प्रमुख गन्तव्यका रूपमा विकास हुदै आएको छ । कास्कीको विरेठाटीमा पनि क्यानोनिङ खेल खेलाइन्छ । कास्कीकै ल्वाङमा ड्रिमल्याण्ड लङ क्यानोनिङ सञ्चालनमा छ । अन्य ठाउँमा समेत क्यानोनिङ मार्फत मज्जा लिन पाइन थालेको छ ।

कास्कीको अलावा मनाङ, मुस्ताङ, लमजुङ, म्याग्दी, बाग्लुङ, स्याङ्गजाको सुन्तलाबारी लगायतका ठाउँमा पुगेर समेत क्यानोनिङ गर्न सकिन्छ । नेपालीको आर्कषण क्यानोनिङमा बढ्दै गएपनि एक्यापको संरक्षण एरियामा इन्ट्री गर्न विदेशीले शुल्क तिर्नुपर्ने कारण क्यानोनिङ गर्ने विदेशीको संख्या कम हुने गरेको व्यवसायी बताउँछन् । कोरोनाको कारण क्यानोनिङ व्यवस्याव पुर्ण रुपमा बन्द भएको पोखरा क्यानोनिङ प्रालिका सञ्चालक स्थानीय युवा राम गुरुङले बताए । यसले सिजनमा चल्ने यो व्यवसायलाई असर पारेको उनको भनाइ छ ।

पोखरा आउने साहसिक पर्यटकले र्याफटिङ तथा कायाकिङ मज्जा समेत लिन सक्नेछन् । पोखराबाट कालिगण्डकी, अपर सेती, लोअर सेती, मस्र्याङदी लगायतका ठाउँमा लगेर र्याफटिङ तथा कायाकिङको मज्जा दिलाउने गरिन्छ । यसरी पुग्न चाहनेका लागि विभिन्न प्याकेज उपलब्ध हुने गरेको थियो ।

पोखराको अन्र्तराष्ट्रिय पर्वतिय सग्रालयमा रहेको रक क्लाइम्बिङ (कृत्रिम चट्टान) मा आरोहण गर्दै पोखरामा आउने पर्यटकले साहसिक पर्यटनको मज्जा लिने गरेका छन् । फ्रान्सेली नागरिक मोरिस हज्रोगको सम्झनामा फ्रान्सेली राजदुतावासले २१ मिटर अग्लो कृत्रिम पर्खाल निर्माण गरेको हो । हिमाल आरेहणका लागि प्रारम्भिक तालिमका रुपमा लिइने चट्टान आरोहण गर्ने सुविधाले पर्यटकलाई सहजता प्रदान गर्ने गर्दछ ।

यसका अलावा पोखरा साहसिक पदयात्रा पर्यटनको ट्रान्जिट पोइन्ट पनि हो । साहसिक पदयात्रा गर्नको लागि पर्यटक पोखरा आउने गरेका छन् । उनीहरुले अन्नपुर्ण सर्किट, अन्नपुर्ण बेसक्याम्प, मिलिनयम ट्रेक, लोलुफेरा ट्रेक, जोमसोम मुक्त्तिनाथ, पुनहिल, घोरेपानी, मर्दी हिमाल, थोरङ्गा पास लगायतका ठाउँमा पुगेर साहसिक पर्यटनका रुपमानै रहेको पदयात्रा पर्यटनमा सहभागी हुने गरेका छन् । कुनै समयमा विदेशीको बढी चाप देखिने पदयात्रा पर्यटनमा पछिल्लो समयमा स्वदेशीको संख्या बढ्दै गएको थियो ।

घुम्नका लागि मनाङ तथा मुस्ताङमा पुग्नेहरु हर्स राइडिङमा रमाउँछन् । घोडामा चढेर तहाँका विभिन्न स्थानको अवलोकन गर्न पाइने व्यवस्था मनाङ तथा मुस्ताङमा छ । साइकलसिटि पोखराले साहसिक पर्यटनको रुपमा रहेको साइक्लिङलाई जोड दिएर विभिन्न कार्यक्रम गर्दे यसतर्फको आर्कषण समेत थप्दै गएको छ । यतिबेला साहसिक पर्यटकिय गतिविधिका कारण बेग्लै परिचय बनाएको पोखराको पर्यटन क्षेत्रमात्र नभएर देश तथा विदेशका पर्यटकिय गतिविधि हुने क्षेत्रमा ठुलो असर पारेको छ । यो अवस्था सामान्य बन्दै पुनः पुरानै अवस्थामा गतिविधि हुने आशा सबैको छ ।

Pokharanews बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja