प्रतिकूल मौसममा घुम्दै सलह, सचेत बन्दै कृषक



पोखरा

 असार १३ गते नेपालमा सलह कीराको झुण्ड प्रवेश गर्‍यो । पहिलो पटक अनेक झुण्डमा प्रवेश गरेका सलह देखेपछि किसान चिन्तित बने । के गर्ने र कसो गर्ने भन्ने भयो । बाली सखापै पार्ने हो कि भन्ने चिन्ता किसानमा थियो ।

सरकारले प्रदेश र स्थानीय तहसम्म सलह कीरासम्बन्धी तथ्यपत्र पठायो । सञ्चारमाध्यमहरूले उचित स्थान दिए । यससँगै किसानहरू सलहबाट बाली जोगाउन हरतरहले लागीपरे ।

एक सातामा सलह कीराका ससाना झुण्डहरू एकपछि अर्को हुँदै ५० भन्दा बढी जिल्लामा पुगे । कतिपय ठाउँमा मकै र तरकारी बालीमा क्षति पुग्यो ।

जानकारहरूका अनुसार पहिलो चरणमा करिब ६ पटक गरी ८० लाखसम्म सलह कीराका नेपाल पसेका थिए । ती कीरा धेरै झुण्डमा बाँडिएर धेरै ठाउँमा पुगे ।

विभिन्न ठाउँमा गरी करिब एक हजार हेक्टर क्षेत्रफलमा सलहले क्षति पुर्‍यायो । निरन्तरको वर्षातका कारण मौसम अनुकूल नहुँदा यी कीरा विस्तारै निष्क्रिय हुँदै गए ।

फेरि, गत आइतबार उत्तर–पूर्वतर्फको हावाले सलहको झुण्ड भारतबाट दाङ जिल्लामा प्रवेश गर्‍यो ।

बाली जोगाउन सफल किसान

सलह कीराबाट बाली जोगाउन सचेत बनिसकेकोे दाङका एक जना किसानले जय अधिकारीले बताए । उनले भने, ‘पहिलोपटक सलह आउँदा हामीले बाली जोगाउन सकेनौँ तर यसपटक भने जोगाउन सफल भयौँ । अहिलेलाई संकट टरेको छ । फेरि आउने हो कि थाहा छैन ।’

सलह कीरा कस्तो हुन्छ र यसले बालीमा कसरी क्षति पुर्‍याउँछ भन्ने थाहा नभएर पनि पहिलोपटक क्षति भएको अधिकारीले बताए । ‘सलहबाट बाली जोगाउन के गर्ने भन्ने कुरा बुझ्न थाल्यौँ,’ खबरहबसँग कुरा गर्दै उनले भने, ‘यसपटक आकाशमा सलह उडेको देख्नसाथ भाडाकुँडा लिएर गाउँका सबै जना निस्कियौँ र बजायौँ ।’

पराल बालेर धुवाँ निकालेको पनि उनले बताए । आवाज निकाल्ने र धुवाँ लगाउने उपाय गरेपछि करिब साढे दुई घण्टासम्म मकैमा बसेको सलहको झुण्ड उत्तरपूर्वतर्फ उड्यो । सलह धपाउन सकेकोका किसाहरू खुसी भएको अधिकारीले बताए । उनका अनुसार सलह बसेका केही ठाउँमा सामान्य क्षति पुगेको छ ।

राप्ती गाउँपालिका र गढवा गाउँपालिकामा गरी करिब १२ बिघा जमिनमा आइतबार सलहका झुण्डहरू बसेको कृषि ज्ञान केन्द्र दाङले जनाएको छ । गढवा गाउपालिकाको करिब १० विघा जमिनमा सलह बसेको केन्द्रका कृषि प्रसार अधिकृत भरत पोखरेलले बताए ।

उनका अनुसार भारतसँग सीमाना जोडिएको मुसी नाका नजिकै केही क्षति पुगेको छ । ‘आइतबार करिब साढे २ घण्टा सलहका झुण्ड मकै र धान बालीमा बसेका थिए,’ उनले भने, ‘सलह बसेको ठाउँको बालीमा करिब २५ प्रतिशत क्षति भएको छ ।’

प्युठानमा पनि क्षति

आइतबार प्युठानको सरुमारानी गाउँपालिकामा प्रवेश गरेको सलह अझै केही ठाउँमा बसिरहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ ।

झिमु्रक गाउँपालिकाको १ नम्बर वडा, गौमुखी गाउँपालिकाको १,२ र ३ नम्बर वडा, नौबेनी गाउँपालिकाको १ नम्बर वडामा सलह कीरा घुमिरहेको र बालिमा क्षति पुर्‍याएको परियोजनाका संयोजक सुमन खनालले बताए ।

मंगलबार बिहान पानी परेकाले कीरा निष्क्रिय भए पनि दिउँसो घाम लागेपछि बालीमा बसेर क्षति पुर्‍याएको उनले बताए । सलहले पुर्‍याएको क्षतिको विवरण संकलन भइरहेको उनको भनाइ छ । यसअघि असार दोस्रो साता प्युठानका विभिन्न ठाउँमा करिब ३ सय हेक्टर जमिनको बालीमा क्षति पुगेको थियो ।

जानकारहरूका अनुसार मनसुनको समय रहेको र लगातार वर्षा भइरहेकाले सलहका लागि नेपालाा अनुकूल वातावरण छैन ।

क्षतिको विवरण यकिन छैन

सलहले अहिलेसम्म कति क्षति पुर्‍यायो भन्ने यकिन विवरण नरहेको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रले जनाएको छ ।

केन्द्रका सूचना अधिकारी रामकृष्ण सुवेदीले खबरहबसँग भने, ‘कति हेक्टरमा क्षति पुर्‍याएको छ भन्ने प्रष्ट कुरा आएको छैन ।’ अहिले प्युठानमा सलहको सानो झुण्ड रहेको र ठुलो झुण्ड रोल्पातिर पुगेको सूचना पाएको उनले बताए ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja