नेकपाको स्थायी कमिटी बैठक सात दिन स्थगित



पोखरा

 नेकपा स्थायी कमिटीको बैठक थप सात दिनका लागि स्थगित भएको छ ।

बाढी पहिरोको विपतको बेला पार्टी पंक्तिलाई राहत तथा उद्धारमा जुट्न निर्देशन दिँदै बैठक थप सात दिनसम्मका लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘देशभर भैरहेको अतिवृष्टि र सिन्धुपलाञ्चोकलगायत केही जिल्लाहरुमा जनधनको ठूलो क्षतिसमेत भइसकेको स्थितिमा सम्पूर्ण पार्टीपंक्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न सम्भावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टीको तर्फबाट निर्देशन दिँदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’

यसअघि २४ गते बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक आज बिहान ११ बजेसम्मका लागि सारिएको थियो ।

नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि विवाद उत्कर्षमा पुगेको छ ।

पार्टी विभाजनको संघारमा पुगेपछि सहमति खोज्न भन्दै यसअघि पनि पटक–पटक स्थायी कमिटीको बैठक स्थगित गरिएको थियो । ।

प्रचण्ड–माधव नेपाल पक्षले भने ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद छोड्न दबाब दिँदै आएको छ । प्रधानमन्त्री ओलीले कुनै पनि पद नछाड्ने अडान लिएका छन् ।

अध्यक्षका लागि पार्टीको महाधिवेशन पर्खिनुपर्ने र प्रधानमन्त्रीका लागि अर्को आमनिर्वाचनसम्म पर्खिनुपर्ने ओलीको अडान छ ।

स्थायी कमिटी बैठक रोकेर दुई अध्यक्षबीच लगातार चलिरहेका गोप्य वार्ताले पनि सहमति पहिल्याउन सकेको छैन । बिहीबारदेखि वर्ता पनि भएको छैन । सहमतिका लागि दोस्रो तहका केही नेताहरुले गरिरहेको प्रयास दुवै पक्षको अडानका कारण सफल हुन सकेको छैन ।

सहमतिका नाममा ओलीले पार्टी कमिटीका बैठकहरु टार्न खोजेको आरोप इतर पक्षको छ । इतर पक्ष स्थायी कमिटी बैठकबाटै टुंगो लगाउने पक्षमा छ । स्थायी कमिटीबाट नभए केन्द्रीय कमिटीबाट निर्णय गर्नुपर्ने इतर पक्षको माग छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja