२७ जिल्लामा पुग्यो सलह, प्युठानमा मकै बाली ‘सखाप’



पोखरा

गत शनिबार भारतबाट नेपाल प्रवेश गरेको सलह किरा काठमाडौं उपत्यकासहित मुलुकका २७ भन्दा बढी जिल्लामा पुगेको छ ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका किट विज्ञ एवं सलह सूचना केन्द्रका संयोजक रामकृष्ण सुवेदीका अनुसार मंगलबार साँझसम्म सलहका झुन्डहरू २७ जिल्लामा देखिएको हो ।

केन्द्रका अनुसार सलहका ५ वटा झुन्ड भारतबाट नेपालमा प्रवेश गरेका छन् । झुन्डहरू २७ जिल्लामा देखिएपनि अन्य स-सना समूहहरू भने अन्य जिल्लाहरूमा समेत देखिएका छन् ।

सोमबार साँझ रुपन्देहीमा प्रवेश गरेको झुन्ड अहिलेसम्मकै ठूलो भएको बताए ।  भैरहवामा प्रवेश गरेको सो झुन्ड टुक्रिएर ३ तिर लागेको देखिन्छ । यो झुन्ड पश्चिम भेगतिर गइरहेको सलह सूचना केन्द्रले जनाएको छ ।

यो झुन्ड टुक्रिएर प्युठान र दाङ पुगेको छ । प्युठान पुगेको उक्त झुन्ड टुक्रिएर रोल्पा हुँदै सल्यान पुगेको सुवेदीले जानकारी दिए ।

यस्तै मंगलबार काठमाडौं उपत्यकाका ३ वटै जिल्लाहरूमा सलहका झुन्डहरू देखिएका छन् ।

भारतमा केही दिनयता पश्चिबाट पूर्वतिर हुँदै हावा बहने गरे पनि उत्तर प्रदेश र बिहारमा हावाको चाप कम भएपछि पश्चिम उत्तरतिर हावा मोडिने क्रममा सलह नेपाल प्रवेश गरेको किट विज्ञहरूले बताएका छन् ।

प्युठानका किसान चिन्तित

यसैबीच गत आइतबार प्युठानमा पहिलो पटक देखिएको सलहले मकैबालीमा ठूलो क्षति पुर्‍याएको छ । सलहले मैकैबाली सखाप पारेपछि स्थानीय किसान चिन्तित बनेका छन् ।

सरुमारानी गाउँपालिका–३ दुमहीमा लगाइएको मकैबाली सलहले सोत्तर पारेपछि किसान निराश बनेका हुन् ।

दुमहीका स्थानीय चुम बहादुर रानाले भने,  ‘मकै हुर्कदै गर्दा अमेरिकी फौजी किराले आक्रमण गर्‍यो । कृषि प्राविधिकको सल्लाह अनुसार विषादी छरेपछि फौजी किरा केही नियन्त्रणमा आएको थियो तर मंगलबार आएको सलहको झुन्डले पुरै सखाप बनायो ।’

हंसपुर गाउँपालिकाका अधिकांश किसानको यो साझा समस्या बनेको छ ।  सरुमारानी ३ कोटाचौरकी चमेली पल्लीले पनि बारीमा लगाएको मकैको पात सलह किराले खाएर सखाप पारेको बताइन् ।

‘६ महिना खान पुग्ने मकै सलहले छिनभरमै स्वाहा पार्‍यो ,’ पल्लीले भनिन,’अब के खाने ?

मंगलबार सरुमारानी –३ हंसपुरको दुमही, कोटाचौर, कोटघर टोल लगायतका झण्डै ५० जना किसानले लगाएको मकैमा सलहले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

सलह भगाउन आगो बाल्ने, थाल ठटाउने जस्ता विधि अपनाए पनि सलह नभागेको उनीहरुको भनाइ छ । क्षतिको मुल्याकंन गरी किसानहरुलाई राहतका कार्यक्रम ल्याउन उनीहरुले सरकारसँग आग्रह गरेका छन् ।

ठूलो झुण्ड बनाएर गाउँ पसेको सलहले खाद्यन्न बालीमा नोक्सानी पुर्‍याएको वडाअध्यक्ष भीमबहादुर मर्साङ्गीले बताए ।

प्रभावित किसानलाई भेटेर उनले राहतका लागि पहल गर्ने आश्वासन दिएका छन् ।

सरुमारानी गाउँपालिकाकी कृषि शाखा प्रमुख चम्पा पाण्डेले सलहले अन्न बालीमा क्षति पुर्‍याइरहेको बताइन् । सलहले पुर्‍याएको क्षतिको एकिन तथ्यांक संकलन भइरहेको उनले जानकारी दिइन।

हालसम्म सलह देखिएका जिल्लाहरू :

बारा, पर्सा, मोहत्तरी, सिन्धुली, रामेछाप, रौतहट, मकवानपुर, सर्लाही, चितवन, काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर, रुपन्देही, कपिलवस्तु, पाल्पा, स्याङजा, दाङ, प्युठान, गुल्मी, कास्की, पाँचथर, तेह्रथुम, खोटाङ, कैलाली, डडेल्धुरा र सिन्धुपाल्चोकमा सलह देखिएको छ ।

Khabarhub बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja