भारतबाट आयात रोकेपछि बागलुङको तरकारीले बजार पाउँदै



पोखरा

बन्दाबन्दीमा बागलुङ बजार क्षेत्रमा भारत तथा तराईका जिल्लाको तरकारी तथा फलफूलको आयातमा रोक लगाइएपछि स्थानीयरूपमा उत्पादित तरकारीले बजार पाएको छ । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को सम्भावित सङ्क्रमणलाई रोक्न बागलुङमा तत्कालका लागि तरकारी आयातमा रोक लगाइएपछि यहाँका किसान हर्षित छन् ।

स्थानीयवासीले उत्पादन गरेको जैविक तरकारी कुहिने र भारत तथा तराईका जिल्लाबाट भित्रिने तरकारीले बजार पाउने अवस्था भए पनि बन्दाबन्दीमा तरकारी आयात रोकिँदा आफूले उत्पादन गर्दै आएको तरकारीले राम्रो बजार पाउन सफल भएको बागलुङ नगरपालिका–३ कृषिगाउँका कृषक गङ्गा थापाले बताए ।

“बन्दाबन्दीअघि तरकारीले बजार कम पाउँथ्यो, पाए पनि मूल्य थोरै पर्दथ्यो”, थापाले भने, “भारत तथा तराईको तरकारी आउन छाडेपछि बागलुङ बजारका उपभोक्ता कृषि फार्ममै तरकारी खरिदका लागि आउने गरेका छन् ।” कृषक थापाले २० वर्षदेखि व्यावसायिक तरकारीखेती गर्दै आएका छन् । उनले राहुल कृषि विकास फार्म दर्ता गरेर च्याउखेतीसमेत विस्तार गर्दै आएका छन । झण्डै २० रोपनी जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आउनुभएका थापा बजारवासीलाई बन्दाबन्दीको समयमा जैविक तरकारी खुवाउन पाएकामा खुशी हुनुहुन्छ ।

यस्तै काठेखोला गाउँपालिका तङ्ग्राम निवासी ३२ वर्षीय जगबहादुर विकले बागलुङ नगरपालिका–३ कृषिगाउँमै तरकारी खेती थालेको पाँच वर्ष भयो । उहाँले आफूले उत्पादन गरेको तरकारी तरकारी फार्म, बागलुङ बजार तथा म्याग्दी र पर्वतमा बिक्री गर्दै आए पनि बन्दाबन्दीले गर्दा सबै तरकारी बागलुङ बजारमै खपत भएको बताए । बागलुङमा पर्वत, म्याग्दीबाहेकका जिल्लाबाट तरकारी तथा फलफूल भित्र्याउन रोक लगाइएपछि स्थानीय तरकारीले राम्रो मूल्य पाउन थालेको हो । विकले झण्डै १५ रोपनी जग्गा भाडामा लिएर तरकार खेती गर्दै आएका छन ।

“बन्दाबन्दीपूर्व तरकारी बिक्री गर्न अन्य जिल्लासमेत लगिन्थ्यो, भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्दा समस्या हुन्थ्यो”, विकले भने, “अहिले तरकारी खरिदका लागि घरमै ग्राहक आउँछन्, भने जति मूल्य दिन्छन् ।” विदेशमा कृषि खेतीको अनुभव सङ्गालेर स्वादेशमा व्यावसायिक तरकारी खेती गर्न थाल्नुभएका विकले आफ्नो तरकारीले बन्दाबन्दीको समयमा बजार पाउँदा थप तरकारी व्यवसाय गर्न हौसला मिलेको बताए ।

बागलुङ नगरपालिका, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको संयुक्त बैठकले दुई हप्ताअघि मात्रै बन्दाबन्दीमा तरकारी तथा फलफूलबाट कोरोना सङ्क्रमण आउन सक्ने भन्दै तत्कालका लागि तरकारी तथा फलफूल आयातमा रोक लगाउने निर्णय गरेको नगरप्रमुख जनकराज पौडेललले जानकारी दिए । तरकारी आयात रोकिएपछि स्थानीयरूपमा उत्पाति र बजार नजिक रहेका कृषि फार्मले उत्पादन गरेको जैविक तरकारीले राम्रो बजारभाउ पाए पनि बन्दाबन्दीमा जिल्लाका दुर्गम गाउँमा उत्पादित तरकारीले ढुवानीमा समस्या हुँदा बजार पाउन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja