ग्यास पाइएन ? कुलमान भन्छन्- इन्डक्सन चुल्हो बाल्नुस्



 कालोबजारी हुन थालेपछि खाना पकाउने एलपी ग्यासको हाहाकार छ । उपभोक्ताले मागेका बेला ग्यास नपाइरहेका बेला विज्ञहरुले भने ग्यासको विकल्पको रुपमा खाना पकाउने विद्युतीय उपकरण र चुल्हो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहित गर्न सुझाव दिएका छन् ।

नेपालमा लोडसेडिङ हटिसके पनि अधिकांश उपभोक्ता विद्युतको उल्लेख्य उपभोगमा अभ्यस्त छैनन् । बिजुलीको बिल महंगिने पीर गरेर विद्युतीय उपकरणहरु नचलाउने बानी हटाउन यो उपयुक्त समय भएको ऊर्जा मन्त्रालयका अधिकारीहरुको पनि मत छ ।

नेपाल विद्युत् प्राधिकरणले लामो समयदेखि भारतबाट आयात हुने ग्यासलाई विद्युतमार्फत विस्थापन गर्ने बताउँदै आएको छ । ग्यास अभाव भएका बेला उपभोक्तालाई आश्वस्त पारेर अघि बढ्न विज्ञहरुले नेपाल विद्युत प्राधिकरणलाई सुझाव दिएका हुन् ।

विद्युत प्राधिकरणले पनि उपभोक्ताले ढुक्क भएर विद्युतीय उपकरण तथा इन्डक्सन चुल्हो प्रयोग गर्न सक्ने बताएको  छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ उपभोक्तालाई ढुक्क भएर इन्डक्सन प्रयोग गर्न सुझाव दिन्छन् ।

‘हामीले यसअघिदेखि नै उपभोक्तालाई इन्डक्सनको प्रयोग बढाउनुस् भन्दै आएका छौं,’ उनले भने, ‘यो समयमा उपभोक्ताले विश्वस्त भएर प्रयोग थाल्नुभयो भने निरास हुनुपर्दैन ।’

अहिले जाडोको हिटर पनि प्रयोग हुन छाडेकाले विद्युत वितरण प्रणालीमा इन्डक्सनको लोडले समस्या नहुने घिसिङले बताए । ‘कतै कुनै फिडरमा ओभरलोड आयो भने पनि तुरुन्तै व्यवस्थापन गर्न सक्ने गरी तयारी अवस्थामा छौं,’ उनले भने, ‘हामीलाई बिजुलीको अभाव छैन, ग्यास नपाइए इन्डक्सनमा आउनुहोला ।’

ग्यास सस्तो कि इन्डक्सन ?

धेरै उपभोक्तालाई लाग्छ कि ग्यास भन्दा विजुलीको प्रयोग महंगो छ । तर, अध्ययनहरुले भने ग्यासभन्दा विजुलीको प्रयोग सस्तो हुने देखाएको छ ।

विद्युतीय चुल्हो प्रयोगबारे अध्ययन गरेका ऊर्जाविज्ञ प्राध्यापक डा. जगन्नाथ श्रेष्ठ एलपी ग्यासभन्दा विद्युत् सस्तो हुने बताउँछन् । विद्युतको प्रयोग देशको आर्थिक हितमा पनि हुने भएकाले सरकारले विद्युत् प्रयोगमा उपभोक्तालाई जागरुक बनाउनुपर्ने श्रेष्ठ बताउँछन् ।

‘सिलिन्डर ग्यास किन्न १४ सय खर्च हुन्छ तर उक्त ग्यास बराबरको खाना पकाउन इन्डक्सनमार्फत विद्युतबाट ९ सय हाराहारीले पुग्छ । अर्कोतर्फ वातावरण प्रदूषणबाट मुक्ति मिल्छ’, उनी भन्छन् ।

२०७५ माघ ११ गते इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा रहेको ऊर्जा अध्ययन केन्द्रले खाना पकाउन एलपी ग्यास, विद्युत तथा मटि्टतेलबाट लाग्ने खर्चबारे तुलनात्मक अध्ययन गरेको थियो । अध्ययनले सन् २०१९ मा नेपाल विद्युत् प्राधिकरणले तोकेको बिजुलीको विद्यमान मूल्यअनुसार ५ जनाको परिवारले १५ एम्पियरको विद्युत् महसुल अनुसार खाना बनाउन मटि्टतेल प्रयोग गरियो भने मासिक १२ सय ४० रुपैयाँ खर्च हुने देखाएको थियो ।

त्यस्तै अहिले अत्यधिक प्रयोग भइरहेको एलपी ग्यासमा ५ जनाको परिवारलाई खाना बनाउँदा एक महिनामा १४ सय ७८ रुपैयाँँ खर्च हुने देखायो । तर बिजुलीको जुनसुकै माध्यमबाट ५ जनाको परिवारलाई खाना पकाउँदा ११ सय १४ रुपैयाँ मात्रै खर्च हुने देखिएको छ ।

ग्राहकको रोजाइको विद्युतीय सामग्रीबाट खाना बनाउँदा ५ जनाको परिवारमा मटि्टतेलमा भन्दा १ सय २६ रुपैयाँ कम खर्च लाग्छ । यस्तै एलपी ग्यासको तुलनामा विद्युत् प्रयोग गर्दा ३६४ रुपैयाँ उपभोक्तालाई कम भार पर्छ ।

ऊर्जा अध्ययन केन्द्रको अनुसन्धानअनुसार ग्राहकको रोजाइको विद्युतीय खाना पकाउने भाँडो भन्नाले माटोको हिटर, कुनै पनि ब्राण्ड वा कम्पनीको प्रेसर कुकर, कुनै पनि प्रकारका विद्युतीय हट प्लेट लगायत पर्दछन् । तर ती सामाग्रीको सट्टामा विद्युतीय इन्डक्सन चुल्हो उपभोक्ताले प्रयोग गरे भने त्यसबाट हुने फाइदा अझ धेरै रहेको निश्कर्ष अध्ययनले निकालेको छ ।

नेपालको कुनै पनि शहर तथा गाउँघरमा इन्डक्सन चुल्होबाट खाना पकाउँदा ५ जनाको परिवारलाई एक महिनामा लाग्ने खर्च जम्मा ९ सय ९० रुपैयाँ मात्रै हुन्छ । ग्यासभन्दा यो रकम ४ सय ८८ रुपैयाँले कम हो । मट्टतिेलको तुलनामा इन्डक्सन २५० रुपैयाँले सस्तो पर्छ । नेपालमै उत्पादित विजुलीले आयातित ग्यासमा भन्दा मासिक ४८८ रुपैयाँ सस्तोमा खाना बनाउन सक्छन् भन्ने निष्कर्ष केन्द्रको छ ।

विद्युत् प्रयोगको अर्को महत्वपूर्ण फाइदा भनेको प्रदूषणको मात्रा अत्यन्तै न्यून हुनु र तथा ऊर्जा खेर जाने दर अत्यन्तै कम हुनु पनि हो । यसैगरी, ग्यासमा जति दुर्घटनाको जोखिम इन्डक्सन चुल्होमा हुँदैन ।

ग्यासको पूर्वाधारमा गर्ने खर्च र यसमा दिइँदै आएको सरकारी अनुदान अब उपभोक्तालाई विद्युत् प्रयोगमा दिइनुपर्ने मत अध्ययेता श्रेष्ठको छ ।

१८ घण्टासम्मको लोडसेडिङ भोगेका नेपालीहरूले खाना पकाउनका लागि ग्यासभन्दा भरपर्दो र सस्तो विकल्पका रूपमा विजुलीलाई मान्न तयार भइसकेका छैनन् ।

आर्थिक वर्ष ०७५/७६ मा नेपालमा ४२ करोड ८८ लाख ४० हजार १५७ किलो ग्यास आयात भएको थियो, जुन ३ करोड २१ लाख १४ हजार सिलिन्डरभन्दा धेरै हो । ग्यासकै लागि गत वर्षमात्रै ३५ अर्व ५४ करोड ८४ लाख ६६ हजार रुपैयाँ विदेसिएको थियो ।

उपभोक्ताले प्रयोग गर्ने १४.२ किलोको ग्यास सिलिन्डर सरकारले करिब साढे १४ सय रुपैयाँमा भारतसँग खरिद गरेर २ सय रुपैयाँ घाटा सहेर १३ सय ५५ मा ग्राहकलाई बिक्री गरिरहेको छ । वार्षिक हिसाब गर्ने हो भने यस्तो आर्थिक भार ३ अर्बभन्दा धेरै हुन आउँछ ।

आयल निगमका अनुसार वार्षिक रुपमा १४ प्रतिशत हाराहारीले ग्यास खपत बढेको छ । गत वर्षबाट विद्युत् आपूर्ति असहज हुन थालेपछि ग्यास आयातको वृद्धिद्धर केही खुम्चिन थालेको छ ।onlinekhaber बाट साभार


प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja