हिमपातले उच्च पहाडी क्षेत्रका विकास योजना प्रभावित



पोखरा

म्याग्दीको उच्च पहाडी बस्तीहरुमा मङ्गलबार सातौँ पटक हिमपात भएको छ । सोमबार रातिदेखि भएको वर्षा र हिमपातका कारण जनजीवनका साथै विकास निर्माणका योजनाहरु प्रभावित भएका छन् ।

धवलागिरी गाउँपालिकाको गुर्जा, लुलाङ, मङ्गलाको टोड्के, झाँक्रीपानी, रघुगङ्गा गाउँपालिकाको रुइसे, भगवती, कुइनेमङ्गले, अन्नपूर्ण गाउँपालिकाको घोडेपानी, चित्रे, टिकोट, राम्चे लगायतका बस्तीमा हिउँ परेको छ ।

गुर्जामा एक फिट हिउँ जमेको स्थानीय जनकल्याण माविका शिक्षक अशोक छन्त्यालले जानकारी दिनुभयो । यसअघि यही फागुन ९ गते हिमपात भएको थियो । सो हिउँ पग्लिनसक्दै थपिएको हिउँले चिसो बढेको छ ।

विगतका भन्दा यो वर्ष धेरै पटक लगातार जसो हिउँ परेको छ । हिमपातका कारण विकास निर्माणका योजना कार्यान्वयन प्रभावित भएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताउनुभयो ।

गुर्जामा यो वर्ष गाउँपालिकाको नौ वटा, सङ्घीय सरकारको एउटा र प्रदेशको एउटा योजना छन् । योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको, सर्वेक्षण र डिजाइन गरिएको तर लगातारको हिउँले काम शुरु गर्न नसकिएको उपभोक्ता समितिका पदाधिकारीले बताएका छन् ।

शुरु गरिएका योजनामा पनि निरन्तर काम हुन नसकेको वडाध्यक्ष छन्त्यालले बताउनुभयो । करिब साढे दुई सय घरधुरीको बसोबास रहेको गुर्जा गाउँ जाने बाटोमा हिउँ जमेपछि आवतजावत र ढुवानी ठप्प भएको छ ।

रघुगङ्गा गाउँपालिकाको बेग–चिमखोला सडकमा हिउँ जमेर यातायातका साधन रोकिएका छन् । अन्नपूर्ण गाउँपालिकाको नारच्याङमा निर्माणाधीन नीलगिरि र नीलगिरि क्यासकेड जलविद्युत आयोजना प्रभावित भएका छन् ।

मङ्सिर अन्तिम सातादेखि अहिलेसम्म म्याग्दीमा सात पटक हिमपात भएको छ । नियमित वर्षा र हिमपातले हिउँदे बालीलाई भने राम्रो गरेको कृषकले बताएका छन् । हिउँ र वर्षाले जमीन चिसो बनाएर सिँचाइ हुने र खेतबारीमा राखेको मल भिजेर बिरुवालाई आवश्यक तत्व आपूर्ति हुने कृषि प्राविधिकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja