‘मेनोपोज’ के हो ? किन हुन्छ ? के- के कुरामा ध्यान दिने ? डा. सुधा शर्मा



पोखरा

मीना (नाम परिवर्तन) मेरो क्लिनिक नजिकैको स्कुलमा शिक्षिका छिन्। उनलाई मैले परामर्श र उपचार सेवा दिने गरेको धेरै वर्ष भइसक्यो। उनको गर्भ जाँच, सुत्केरी, परिवार नियोजन, महिनावारी लगायतका समस्यामा मैले आवश्यक सरसल्लाह र सेवा दिएको छु।

हिजो साँझ मीना फेरि मेरो क्लिनिकमा आइन्। उनी अलि आत्तिएकी थिइन्। मलाई देख्नासाथ भनिन्, ‘डाक्टरसा’ब मैले त अचेल कुराहरु बिर्सिन थालेको छु। झनक्क रिस उठ्छ, निन्द्रा पनि राम्ररी लाग्दैन। साथीहरु तिमीलाई ‘मेनोपोज’ हुन लागेजस्तो छ भन्छन्। मेनोपोज भनेको के हो ? किन हुन्छ ? म धेरै डराएको छु।’

मैले उनलाई कुर्सीमा बस्न अनुरोध गरें र भने, ‘तपार्इं न आत्तिनुस, हामी विस्तारमा छलफल गरांै है त।’ मैले उनको हरेक प्रश्नको उत्तर दिएँ र निश्चिन्त पारेर घर पठाएँ।

मीना जस्तै अन्य धेरै महिलालाई पनि यी जानकारी उपयोगी हुनेछन् भन्ने सोचेर हाम्रो छलफलका मुख्य बुदाँ यो लेखमा प्रस्तुत गरेको छु। आशा छ, धेरै महिलाले यसबाट लाभ लिनुहुने छ। साथै उहाँहरुका परिवारले पनि थप कुरा बुझ्न महिलालाई मायालु सहयोग र हेरचार दिनुहुने छ। 

मेनोपोज के हो ?

नेपाली चलनचल्तीको भाषामा मेनोपोजलाई महिनावारी सुक्नु, नछुने नहुनु, बुढ्यौली लाग्नु, छुई रोकिनु आदि शब्दले वर्णन गरिन्छ। तर मासिक रक्तश्राव बन्द हुनेबाहेक मेनोपोजका अन्य लक्षणबारे त्यति ध्यान दिएको पाईंदैन। 

मेनोपोज भनेको महिनावारी सुक्ने प्रक्रिया हो। यो प्रक्रिया नछुने रोकिनेभन्दा केही वर्ष अघिदेखि सुरु भएर महिनावारी सुकेको केही वर्ष पछिसम्म कायम रहन्छ। मेनोपोज हुने प्रक्रियामा महिनावारी अनियमित हुने, महिनावारी बन्द हुने र गर्भधारण गर्न नसक्ने रुपमा यो अवस्था देखा पर्छ। तर यसका अन्य धेरै असर र लक्षणहरु पनि हुन्छन्। 

मेनोपोजका अन्य लक्षण

निन्द्रा नलाग्ने, चिड्चिडापन, रुन मन लाग्ने, चिन्ता लाग्ने, खलखल पसिना आउने, शरीर अचानक धेरै तातो हुने, कुराहरु बिर्सने, यौन सम्पर्क गर्न मन नलाग्ने, यौन सम्पर्क गर्दा दुख्ने, कसैकसैलाई यौनमा बढी रुचि हुने, कपाल झर्ने, पिसाब छिटोछिटो लाग्ने, पिसाब चुहिने जस्ता लक्षण देखा पर्न सक्छन्। यीमध्ये सबै महिलालाई सबै लक्षणहरु देखा नपर्न पनि सक्छन्। तर महिनावारी सुक्ने लक्षण हरेक महिलामा देखिन्छ। 

सामान्यतयाः यस्ता लक्षणहरु ४५ वर्षको उमेरदेखि ५५ वर्षको उमेरसम्म देखिन्छ। महिनावारी सुक्नुभन्दा केही वर्ष अघिदेखि केही वर्ष पछिसम्म यस्ता लक्षण देखिने अवधिलाई ‘पेरिमेनोपोज’ भनिन्छ।

कुनैकुनै महिलालाई ४० वर्षमा नै पनि मेनोपोजका लक्षण देखिन सक्छ। कुनै कारणले पाठेघरको शल्यक्रिया दुवै डिम्बासय निकालिएकोमा पनि यस्ता लक्षणहरु तुरुन्तै देखा पर्न सक्छन्। 

मेनोपोज किन हुन्छ ?

उमेर बढ्दै गएपछि महिलाको डिम्बासयबाट उत्पादन हुने हर्मोन तत्वहरु कम हुँदै जाँदा मेनोपोजका लक्षणहरु देखा पर्छन्। यस बारेमा अझ थप बुझ्न महिनावारी कसरी हुन्छ भनेर बझ्न जरुरी हुन्छ। 

महिलाको शरीरमा रहेका विभिन्न ग्रन्थीहरुबाट विभिन्न प्रकारका रसायन, हर्मोन तत्व उत्पादन हुन्छन्। यसमध्ये पिटुइटरी ग्रन्थीबाट निस्कने एफएसएच र एलएच भन्ने हर्मोनले डिम्बासयलाई नियन्त्रित गर्छन्। 

यीमध्ये केहिले महिलाको डिम्बासयद्वारा हर्मोनहरु इस्ट्रोजन र प्रोजेस्टेरोन हर्मोन  उत्पादनमा सहयोग गर्छन्। किशोर अवस्थादेखि नै महिलाको  डिम्बासयबाट हर्मोनहरु उत्पादन हुन थाल्छन् र यी हर्मोनले पाठेघरको भित्र झिल्लीलाई गर्भधारणका लागि तयार पार्छन्। 

गर्भधारण नभएको खन्डमा पाठेघरको झिल्ली निष्क्रिय भएर रक्तश्रावसहित झर्छ। यो प्रक्रिया प्रत्येक महिना नियमित महिनावारीका रुपमा देखा पर्छ। 

महिलाहरु ४५ वर्ष जति भएपछि विस्तारै यी हार्मोनहरु कम हुँदै जान्छन्, जसले गर्दा पाठेघरको झिल्ली परिपक्व हुने र झर्ने प्रक्रिया रोकिन्छ। यसरी महिनावारी पनि सुक्छ। 

असर

मेनोपोजमा हुने हर्मोन गडबडीका कारण महिलाको हाड कमजोर हुन सक्छ। हाड कमजोर भएमा ढाड कुप्रो पर्ने, सामान्य चोटपटकबाट पनि हाड भाँचिने हुन सक्छ। साथै  रगतमा  बोसो पर्दा ‘लिपिड’को किसिम र मात्रालाई समेत असर पर्छ। सामान्यतः  इस्ट्रोजन हर्मोनले राम्रो खालको लिपिड (हाइडोन्सिटी लाइपोप्रोस्टिन) को मात्रा सन्तुलित राख्छ तर इस्ट्रोजन कम भएमा नराम्रो खालको लिपिड पदार्थ जस्तै ट्राइग्लिसेराइड र लो डेन्सिटी लाइपोप्रोटिन बढी हुन सक्छ।

यी कमसल लिपिडहरु बढी भएमा मुटुमा रक्त सञ्चार गराउने धमनीहरुलाई साँघुरो बनाएर हृदयघात हुन सक्छ। मस्तिष्कको धमनीमा रक्त सञ्चार कम भएमा मस्तिष्कघात पनि हुन सक्छ। त्यसैले पेरिमोनोपोज अवस्थामा महिलाले रक्त परीक्षण गरेर लिपिडको मात्रा के कति छ भनेर जाँच गराउनु पर्छ र आवश्यक भएमा औषधिको प्रयोगले लिपिडहरुलाई सन्तुलित अवस्थामा राख्नु पर्छ। 

के मेनोपोजको उपचार आवश्यक छ ?

मनोपोजका लक्षणहरु र यसका असरहरु सबै महिलामा एकै समान नहुन सक्छ। यसै कारणले सबै महिलालाई मेनोपोजको उपचार चाहिन्छ भन्ने छैन। तर स्वस्थ जीवनयापन, सन्तुलन आहार र व्यायाम प्रत्येक महिलालाई आवश्यक पर्छ। 

निम्न कुरा सबैका लागि आवश्यक छ 

–    धूमपान गर्ने बानी छ भने छोड्ने  
–    जाँड–रक्सी खाने बानी छ भने छोड्ने या कम गर्ने 
–    गुलियो र चिल्लो पदार्थ भरसक नखाने 
–    हरियो सागपातयुक्त खानेकुरा खाने 
–    तोफु, भटमास, चना जस्ता गेडागुडी खाने 
–    कम्तीमा २० मिनेट हरेक दिन पसिना आउने गरी व्यायाम गर्ने
–    चिन्तामुक्त रहने, ध्यान, योग आदि गरेर मन शान्त राख्ने 
–    भिटामिन डी, क्याल्सियम सेवन गर्ने या यी तत्व पाइने खाद्य पदार्थ सेवन गर्ने। जस्तैः दूध, दही इत्यादि। तर चिल्लो नभएको दूधको प्रयोग बढी उपयोगी हुन्छ।

महिलालाई मेनोपोजका लक्षण छन् र तिनले दैनिकीमा असर पारिरहेको छ भने निम्न कुराहरु गर्नुपर्छः 

चिकित्सको सल्लाह र परीक्षण: राम्रो परीक्षण गरी लिपिडको मात्रा थाइरोइड ग्रन्थीको, हर्मोनको मात्रा, एफएसएच हर्मोनको मात्रा आदि जाँच गराउने र डाक्टरको सल्लाहअनुरुप उपचार गर्ने। इस्ट्रोजिन हर्मोन प्रयोग गर्नुपर्ने हुन सक्छ। यो हर्मोन क्रिम, चक्की, छालामुनि राख्ने इन्प्लान्टकोे रुपमा पाइन्छ। 

क्याल्सियम कम भएमा हाड कमजोर हुने (अस्यिोपोरोसिस) हुन सक्छ। यसको रोकथाम गर्न रोलोक्सिफेन या क्याल्सिटोमिन औषधिको सेवन गर्नुपर्ने हुन सक्छ। यसका लागि हाडको धनत्व नाप्ने (बोन डेन्सिटिमेट्री) जाँच गरेर उपचार आवश्यक भए/नभएको थाहा पाउन सकिन्छ। 

कपाल धेरै झरेमा मिनोक्सिडिलयुक्त मल्हम कपालको जरा या छालामा लगाउन सकिन्छ। 

डिप्रेसन, चिन्ता आदि र सहनै नसक्ने गरी तातो–चिसो लाग्ने भएमा सिरोटोनिन रिअपटेक इन्ह्विटर (एसएसआरआई) भन्ने समूहको औषधि जस्तैः पोरोक्सेटिक ७ दशमलब ५ मिलिग्राम दैनिक सेवन गर्न सकिन्छ। 

Swasthyakhabar बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja