प्रजातन्त्र दिवस विशेषः आध्यात्मिकताको बीउमा जागेको थियो सात सालको आन्दोलन



पोखरा

नेपालमा निरंकुशताविरुद्धमा लोकतन्त्र र मानवअधिकार पक्षमा विभिन्न कालखण्डमा अनेक किसिमका सङ्घर्षहरु भए । वर्तमानसम्म आइपुग्दा विभिन्न आरोह अवरोह पार गर्दै अघि बढी देश अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक बनेको छ । नेपाली राजनीतिक आन्दोलनको महत्वपूर्ण जग भने २००७ सालको प्रजातन्त्र प्राप्तीको आन्दोलन नै हो ।

तत्कालीन अवस्थामा अहिलेको जस्तो जनतामा चेतना नभएको वास्तविकतामा जनस्तरबाट आन्दोलन उठ्ने कुरा असामान्य भएको पोखरेली वरिष्ठ मानव अधिकारकर्मी टेकनाथ बराल बताउनुहुन्छ । विसं २००७ सालको जनक्रान्तिमा पोखराको आन्दोलन भने आध्यात्मिकताको बीउ र निहुँमा थालिएको ८१ वर्षीय बरालले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालमा जहानियाँ राणाशासन चलिरहेका अवस्थामा २००७ साल पूर्व पोखरामा प्रेम चैतन्य नामका महात्मा जस्ता जोगी आएका थिए । वेदलगायतका शास्त्रका विज्ञ अल्मोडे गुरु भनेर चिनिने उनीलाई तत्कालीन पोखरा बजारका साहु महाजनले चिसाखोलामा बस्ने व्यवस्था मिलाएका थिए ।

उनको आगमन पोखरामा कसरी र किन भयो भन्नेतर्फ खासै चासो पुग्न नसकेका अवस्थामा उनले समाजमा विस्तारै प्रभाव पारिरहेका थिए । त्यसै क्रममा २००५ सालतिर कतैबाट अर्का ब्रह्मचारी आइपुगे । कानो जोगी भनेर चिनिने उनलाई प्रेम चैतन्यकै सहयोगमा पोखरामा ढुण्डीराज बरालले तपस्या गरेको ठाउँमा बस्ने व्यवस्था मिलाइएको बरालले जानकारी दिनुभयो ।

“कानो जोगीलाई बस्ने व्यवस्था मिलाउनका लागि प्रेम चैतन्यले पोखराका होमप्रसाद, ऋषिकेशव, पूर्णभद्रलगायतका व्यक्तिसँग सरसल्लाह गरेका थिए”, उहाँले भन्नुभयो, “कानो जोगीलाई दाजु होमप्रसादसँग मैले पनि कहिलेकाहीँ दूध पु¥याउन जाँदा भेटेको थिएँ ।”

प्रेम चैतन्य र कानो जोगीले त्यस समयमा अत्यन्त सूक्ष्म ढङ्गले राणशासन विरोधी गतिविधि बढाएको बताउँदै उहाँले भन्नुभयो, “आध्यात्मिक चेतनालाई आधार बनाएर उनीहरूले विभिन्न रुपमा समाजमा राजनीतिक चेतना फैलाइरहेका थिए ।”

यसै क्रममा २००६ चैत २९ गते विन्ध्यवासिनी मन्दिरमा लागेको आगो पनि राणा विरोधी गतिविधि बढाउनका लागि सहयोगी बनेको बूढापाकाको तर्क छ । त्यस समयमा घरवारविहीनका लागि गरिएको क्षतिपूर्तिको माग बडाहाकिम धन शमशेरमा मात्र नभई केन्द्रीय सरकारसम्म पुगेको थियो ।

पोखरा क्षेत्रमा बढ्दै गएको राणाविरोधी गतिविधिबाट झस्किएको तत्कालीन सत्ताले आगलागीको स्थलगत अध्ययन गर्ने बाहनामा दिव्य शमशेर र फत्तेबहादुरलाई पोखरा पठाएर यहाँका गतिविधिको सूक्ष्म अध्ययन गरेको थियो भनिन्छ । त्यसै समयमा पोखरा र आसपासमा राणा रोधी पर्चा छर्न क्रियाशील कानो जोगी कास्की, लमजुङ र तनहुँका गाउँमा क्रियाशील थिए ।

पर्चा छर्ने क्रममा २००६ सालको चैततिर उनी तनहुँको बन्दीपुरमा पक्राउ परे । उनका साथबाट फेला पारिएका कागजातका कारण राणाले धरपकड गर्दा कास्कीबाट माधवप्रसाद घिमिरे, सुन्दरप्रसाद मर्सानी, धर्मशीला अनागरिका, विष्णुहरि पहारी, मीनबहादुर गुरुङलगायतका व्यक्ति पनि पक्राउमा परेका थिए ।

आन्दोलनले गति लिँदै जाँदा २००७ पुस २२ गते प्रेमबहादुर प्रधान, ऋषिकेशव पराजुली, दयाशङ्कर पालिखेलगायतका युवा काँग्रेसको झण्डा लिएर सडकमा निस्केपछि पहिलोपटक उनीहरूलाई गिरफ्तार गरिएको थियो । बढ्दो राणाविरोधी जनलहरसँगै पुस २४ गते पोखराका सरकारी कार्यालय आन्दोलनकारीको कब्जामा परेका थिए ।

तत्कालीन अवस्थामा आध्यात्मिकतालाई माध्यम बनाएर पोखरामा आन्दोलनको लहर सिर्जना गरेका कानो जोगी २००७ सालको आन्दोलनको सफलतापछि भने सम्पर्कविहीन बनेको बरालको भनाइ छ । विसं २००७ सालको आन्दोलनसँगै त्यस पछिका हरेका संघर्षमा पोखराले नेतृत्वदायी भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । “लोकतन्त्र, मानवअधिकारको प्राप्तिका साथै नेपाली जनतामा सचेतना अभिवृद्धिका लागि २००७ सालको आन्दोलन महत्वपूर्ण जग हो”, उहाँले भन्नुभयो, “नेपालका हरेक आन्दोलनको सफलतामा २००७ सालको आन्दोलनको जग छ भन्ने कुरालाई विर्सन हुँदैन ।”

नेपालका हरेका सङ्घर्षमा पोखराको भूमिका महत्वपूर्ण रहेको प्रेस स्वतन्त्रता सेनानी केशवराज पराजुली बताउनुहुन्छ । विसं २००७ पछि भने यहाँबाट प्रकाशित हुने गरेका पत्रपत्रिकाले जनस्तरमा सचेतना धेरै बढाएको उहाँको धारणा छ ।

जनतामा सचेतनाका लागि पत्रपत्रिकाको आवश्यकता हुन्छ भन्ने महसुस गर्दै २०१७ सालमा पोखराबाट हिमदूत पत्रिकाको प्रकाशन शुरु गरिएको उहाँले जानकारी दिनुभयो । त्यसयता पत्रपत्रिका प्रकाशनको क्रमले पोखरामा गति लिएको उहाँले बताउनुभयो ।

नेपालमा २००७ सालको आन्दोलनले नेपाली जनताको स्वतन्त्रता एवं स्वाधीनता स्थापित गर्ने कुरामा महत्वपूर्ण योगदान गरेको बताउँदै उहाँले यसैका जगमा नेपाल वर्तमानसम्म आइपुगेको बताउनुभयो ।

विसं २००७ सालको क्रान्ति र यसका उपलब्धिलाई ओझेलमा पार्न नहुने नेपाल प्राध्यापक सङ्घका पूर्वअध्यक्ष प्रा डा भूपति ढकाल ‘कमल’ बताउनुहुन्छ । विसं २००७ सालको क्रान्ति र यसका उपलब्धि ओझेलमा पर्नु समग्र नेपाललाई नै ओझेलमा पार्नुभएको उहाँले बताउनुभयो । समाचाजमा सचेतना नभएको तत्कालीन समयमा आध्यात्मिक चेतनाका माध्यमबाट राजनीतिक चेतना दिने गरिएको बताउँदै उहाँले राणाविरुद्धको आन्दोलनमा शुक्रराज शास्त्रीले सचेतना अभिवृद्धिका लागि आध्यात्मिकतालाई नै माध्यम बनाएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja