सत्य निरुपण र बेपत्ता आयोगमा नेकपा–काँग्रेसको भागबण्डा : शान्ति प्रक्रियाको बाँकी काम पुग्ला निष्कर्षमा ?



पोखरा

लामो समयको गतिरोधपछि सङ्क्रणकालीन न्यायसम्बन्धी विषयले प्राथमिता पाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्षी नेपाल काँग्रेसका शीर्ष नेताहरुको निरन्तरको प्रयासपछि सिफारिस समितिले शनिबार सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्षसहित पदाधिकारीको नाम सिफारिस गरेको छ ।

समितिले २४औँ बैठकले दुवै आयोगका अध्यक्षसहित सदस्यहरुको नाममा सिफारिस गरी नियुक्तिका लागि कानुनमन्त्रीमार्फत मन्त्रिपरिषदमा पठाइएको छ ।

शुक्रबार र शनिबार काँग्रेस र नेकपाबीच भएको राजनीतिक सहमतिअनुसार समितिले आयोगमा दुवै दलबाट बराबर पदाधिकारी रहने गरी सिफारिस पठाएको छ ।

सत्य निरूपणको अध्यक्षमा गणेशदत्त भट्ट र बेपत्ता छानबिन आयोग अध्यक्षमा युवराज सुवेदी सिफारिसमा परेका छन् । भट्टलाई काँग्रेसले र सुवेदीलाई नेकपाले अघि सारेका हन् । यस्तै सत्य निरूपणका सदस्यमा प्रचण्डराज प्रधान, गोविन्द गौतम, मन दाहाल र विष्णु पोखरेल सिफारिस भएका छन् ।

सत्य निरूपणमा भट्टका अलावा प्रधान पनि काँग्रेसको सिफारिसमा परेका हुन् । बाँकी सबै नेकपाबाट सिफारिस भएका हुन् ।

बेपत्ता आयोगमा सुनीलरञ्जन सिंह, सरिता थापा मगर, विष्णु भण्डारी र गङ्गाधर अधिकारी सदस्यमा सिफारिस भएका छन् ।

अध्यक्ष सुवेदी र सदस्य भण्डारीबाहेक तीन सदस्य काँग्रेसको सिफारिसमा परेका हुन् ।

कसलाई अध्यक्ष/सदस्य बनाउने भनेर पात्रको खोजी गर्ने जिम्मा काँग्रेसबाट रमेश लेखक र मीनेन्द्र रिजाल तथा नेकपामा सुवास नेम्वाङ र वर्षमान पुनले पाएका थिए ।

सत्य निरूपण अध्यक्षमा सिफारिस भएका भट्ट देउवा र बेपत्ता अध्यक्षमा सिफारिस सुवेदी नेकपा संसदीय दलका उपेनता नेम्वाङको प्रस्तावबाट छनोटमा परेका हुन् । यसअघि सुरुमा प्रचण्डले संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य जनार्दन शर्माको सिफारिसमा पूर्वएमाले निकट अधिवक्ता गोविन्द बन्दीलाई अघि बढाउन चाहेका थिए । तर उनलाई काँग्रेस र नेपाली सेनाका उच्च अधिकारीले स्वीकारेनन् ।

काँग्रेसले अघि सारेका सूर्य ढुङ्गेललाई मान्न नेकपा तयार भएन । यसपछि पूर्वमाओवादी निकट रमण श्रेष्ठलाई सिफारिस गर्ने लगभग टुङ्गो लागिसकेको थियो । श्रेष्ठका प्रस्तावक नै काँग्रेस सभापति देउवा भएपछि ओली र प्रचण्डलाई सजिलै भएको थियो । तर श्रेष्ठले आफूलाई बार एसोसिएसनको अध्यक्ष नबनाएको भन्दै प्रधानमन्त्री ओलीको विरोध गर्दै उक्त पद अस्वीकार गरिदिए । त्यसमाथि द्वन्द्वपीडित सङ्घसंस्था र अगुवाले पनि श्रेष्ठलाई अस्वीकार गर्ने चेतावनी दिएपछि उनको च्याप्टर क्लोज भएको थियो । त्यसपछि काँग्रेस सभापति शेरबहादुर देउवाले भट्टको नाम प्रस्ताव गरेका थिए ।

दुवै आयोगको पदाधिकारीका लागि व्यक्तिगत रूपमा फारम भरेका ५० जना, सङ्घसंस्थाको तर्फबाट ४ जना र नाम छनोट तथा सिफारिस समितिका तर्फबाट ७ जना गरी कुल ६१ योग्य उम्मेदवारको सूची सार्वजनिक भएको थियो । देउवाको आग्रहअनुसार सिफारिस समितिले सत्य निरुपणको अध्यक्ष बनाउन भट्टको नाम सार्वजनिक गरेको थियो ।

यता बेपत्ता पारिएका परिवारको छानविन आयोगमामा यसअघि लोकेन्द्र मल्लिकको नाम चर्चामा थियो । यसअघि पनि उक्त आयोगको अध्यक्षमा मल्लिक नै थिए ।

द्वन्द्वपीडितले पटक पटक नेताहरुसँग कानुन संशोधन नगरी पूर्वपदाधिकारीलाई जिम्मेवारीमा ल्याइए शान्ति प्रक्रिया नटुङ्गिने भन्दै सचेत गराएका थिए ।

साथै द्वन्द्वपीडितले त्यसको दुष्परिणाम नेकपा अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति देउवाले भोग्नुपर्ने चेतावनी दिएपछि सुवेदीलाई चिट्ठा परेको हो ।

सिफारिस अध्यक्ष र सदस्यको पृष्ठभूमि

सत्य निरूपण अध्यक्षमा सिफारिस भट्ट नेपाल ल क्यापसका सहप्राध्यापक हुन् । सर्वाेच्च अदालतका अधिवक्ता भट्टले ३१ वर्षदेखि अध्यापन गराउँदै आएका छन् । डडेलधुरा स्थायी ठेगाना भएका उनले त्रिभुवन विश्वविद्यालयबाट एलएलएम गरेका छन् ।

उनी संवैधानिक कानुन र मानव अधिकारका जानकार हुन् । योसम्बन्धी उनले स्विडेन, स्विजरल्यान्ड, अमेरिकालागायत देशबाट छोटो अवधिका कोर्स पनि लिएका छन् ।

यस्तै सदस्यहरु प्रधान कानुन आयोगका पूर्वउपाध्यक्ष हुन् भने गौतम नेपाल ल क्याम्पसका पूर्वप्रमुख हुन् ।

दाहाल अधिवक्ता हुन् । उनीसँग नेपाल बारको कानुनी सहायतासम्बन्धी एक परियोजनामा अधिकृत भएर काम गरेको अनुभव छ । पोखरेल पनि अधिवक्ता हुन् ।

यस्तै बेपत्ता अध्यक्षमा सिफारिस सुवेदी पूर्वन्यायाधीश हुन् । उनी २०४५ सालतिर न्याय सेवामा प्रवेश गरी २०४८ मा सरकारी वकिलका रूपमा प्रवेश गरेका थिए ।

सुवेदीसँग सरकारी वकिलकै रूपमा १८ वर्ष सरकारको सहसचिव भएर काम गरेको र १२ वर्ष सर्वोच्चमा बहस गरेको अनुभव छ ।

त्यसपछि उच्च अदालतको न्यायाधीशमा नियुक्त उनले पोखरा, सुर्खेत, हेटौँडा, पाटन र बुटवलमा काम गरेका छन् । उनले २०७५ भदौमा बुटवल उच्च अदालतबाट अवकाश पाएका थिए ।

बेपत्ताका सदस्यहरु सिंह बालानन्द पौडेल संयोजकत्वको स्थानीय तह पुनःसंरचना आयोगका सदस्य थिए । भण्डारी कानुन व्यवसायी हुन् । अधिकारी शान्ति समाजमा आबद्ध छन् । थापा पनि कानुन व्यवसायीका रूपमा कार्यरत छिन् ।

चुनौतीका चाङ, हल हुने बढ्दो विश्वास

माओवादीले २०६३ मङ्सिर ५ मा बृहत् शान्ति सम्झौतामार्फत युद्ध त्यागेपछि सङ्क्रमणकालीन न्यायका काम टुङ्गो लगाउन बाँकी छ । सोही कामको टुङ्गो लगाउन सरकारले २०७१ माघमा सत्य निरूपण र बेपत्ता आयोग गठन गरेको थियो ।

दुवै आयोगले काम गर्न नसकेपछि २०७५ माघमा आयोग ऐन तेस्रो पटक संशोधन गरी पदाधिकारीको पद सकिने तर आयोग रहिरहने व्यवस्था गरिएको थियो ।

ऐनको सोही प्रवाधान अनुसार गएको चैतबाट पदाधिकारीको समयअवधि सकिएको थियो । त्यसपछि नै सरकारले पूर्वप्रधान न्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ११ महिनाअघि सिफारिस समिति गठन गरेको थियो । सोही समितिले शनिबार नयाँ पदाधिकारी सिफारिस गरेको छ ।

उक्त सिफारिस सरकारले अनुमोदन गरे उनीहरुलाई २०५२ साल फागुन १ गतेदेखि २०६३ साल मङ्सिर ५ गतेसम्म राज्य पक्ष र तत्कालीन माओवादीबीच भएको सशस्त्र द्वन्द्वको क्रममा मानव अधिकारको गम्भीर उल्लङ्घन तथा मानवता विरुद्धको अपराधमा संलग्न व्यक्तिहरूको सत्य अन्वेषण र समाजमा मेलमिलापको वातावरण निर्माण गर्नुपर्ने ठूलो जिम्मेवारी छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गत वर्षको ०७५ चैत २७ गतेदेखि पदाधिकारीविहीन हुँदा परेका उजुरीहरू पनि अलपत्र छन् ।

सत्य निरुपण आयोगमा परेका ६४ हजार उजुरीमध्ये २ हजार ९ सयको मात्र प्रारम्भिक अनुसन्धान भएको बताइन्छ । यता बेपत्ता आयोगले २ हजार ३ सय ६९ फाइलमध्ये करिब आधा फाइलको मात्र प्रारम्भिक अनुसन्धान सकेको छ । यस्तो चुनौतीको चाङ भट्ट र सुवेदीले कसरी टुङ्ग्याउँछन् भन्ने पश्न उठेको छ ।

तर भट्टले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन प्रमुख दल सङ्क्रणकालीन न्यायसम्बन्धी विषय टुङ्ग्याउन सहमत भएकाले यसलाई टुङ्ग्याउन त्यति कठिन नहुने तर्क छन् ।

सिफारिस समितिबाट आफ्नो नाममा भएको सिफारिस सरकारबाट अनुमोदन भए सबैको साथ लिएर काम गरेर यो विषय सहज ढङ्गले हल पर्न सकिनेमा विश्वस्त उनी देखिए । साथै उनले आफूले जिम्मेवारी पाएपछि सबै पक्षसँग बसेर योजना बनाएर अगाडि बढ्ने बताए ।

मङ्सिर २३ गते ७१औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा यस्तै विश्वास देखाएका थिए द्वन्द्व कालीन मुद्दाका जानकार खिमलाल देवकोटा ।

उनले भनेका थिए, ‘हिजो जेजति उजुरीहरु परेका छन् । त्यसमा अधिकांश पूर्वाग्रही ढङ्गबाट परेका हुन् । त्यतिबेला एकले अर्कालाई सिध्याउन मिसनमा जाँदा समस्या आएको हो । अब प्रमुख राजनीतिक दलहरु शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याएर सङ्क्रणकालीन न्यायसम्बन्धी विषय टुङ्ग्याउन एक मत देखिएको छ । अब चाँडै समस्या हल हुन्छ ।’

Ratopati बाट साभा

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja