बालबालिकालाई चिसोबाट जोगाउन यी कुरामा ध्यान दिनुस्



पोखरा

मङ्सिर सुरु भएसँगै चिसो मौसम सुरु भएको छ । यो समयमा रुघाखोकी, ज्वरो, निमोनिया लगायत स्वास्थ्यसम्बन्धी समस्या देखा पर्दछन् ।

समस्या सबै उमेर समूहका व्यक्तिमा देखिए पनि बालबालिका बढी जोखिममा पर्छन् । बालबालिकाले आफ्नो स्वास्थ्यसम्बन्धी समस्या खुलस्त भन्न नसक्दा चिसो मौसममा देखिने सामान्य समस्याले ठूलो रूप लिन सक्छ ।

त्यसैले यो समयमा बालबालिकाको विशेष हेरचाह गर्नुपर्ने हुन्छ । चिसो मौसममा लाग्ने विभिन्न रोगबाट बालबालिकालाई बचाउन अविभावकले विशेष ध्यान दिनुपर्छ भने यस्ता खालका समस्या घरेलु उपचारबाट पनि निको पार्न सकिन्छ ।

चिसोको समयमा बालबालिकामा देखिने समस्या, त्यसको रोकथाम र समाधानका उपाय के–के हुन् ? प्रस्तुत छ, बाल नर्सिङ विशेषज्ञ सुरक्षा सुवेदीको जानकारीमुलक भनाइः

चिसो मौसममा देखापर्ने समस्या 

चिसोको समयमा शरीरका सबै नसा खुम्चिने गर्छन् । यसले मस्तिष्क, मुटु जस्ता महत्त्वपूर्ण अङ्गमा रक्तसञ्चार राम्रोसँग हुँदैन । त्यसैले चिसो मौसममा शरीरलाई तातो बनाइराख्नु पर्छ । अन्य व्यक्तिले स्वास्थ्यमा आएको समस्याको बारेमा भन्न सक्छन् भने बालबालिकाले भन्न सक्दैनन् । जसले गर्दा उनीहरुको स्वास्थ्यमा कस्ता किसिमको समस्या छन् भन्ने अभिभावकलाई पनि जानकारी हुँदैन । सामान्य रुघाखोकी बढ्दै गएर निमोनिया भएपछि मात्रै थाहा हुन्छ ।

बालबालिकालाई चिसो लाग्यो भनेर थाहा पाउने भनेको सुरुमा रुघा लाग्ने, सिँगान बग्ने, खोकी लाग्ने, खाने कुरा निल्दा घाँटी दुख्ने, आँखामा कचेरा आउँने, आँखा रातो हुने जस्ता लक्षणहरु हुन् । यी लक्षणलाई समयमा नै पहिचान गरी उपचार गर्न नसकेको खण्डमा रुघाखोकी बढ्दै जाने र अन्त्यमा निमोनिया हुने सम्भावना हुन्छ । 

साथै बालबालिकामा चिसोको कारणले झाडापखाला लाग्ने, टाउको दुख्ने, ज्वारो आउने हुन्छ । यस्ता लक्षण थाहा पाएपछि बालबालिकालाई चिसो लाग्न सुरु भयो भनेर अभिभावक सचेत हुनुपर्छ । सचेत भइएन भने  निमोनियासम्म हुन सक्छ । चिसोको समयमा बालबालिकाको छाला सुख्खा हुने, चिलाउने समस्या पनि हुन्छ । 

अपनाउनुपर्ने उपाय

बालबालिकालाई चिसोबाट बचाउनका लागि बिहान उठेपछि मनतातो पानी, दूध खुवाउनुपर्छ । यी कुराले रातभर लागेको चिसो हटाउन मद्दत गर्छ । साथै केही समय घाममा राख्ने, लामो समयसम्म घाममा राख्दा बालबालिकाको शरीरमा पानीको मात्रा कम हुने हुँदा बेलाबेलामा पानी खुवाइरहनु पर्छ । सकेसम्म बिहानको घाममा राख्दा राम्रो हुन्छ । घाम कम लाग्ने हुँदा चिसो मौसममा जुनसुकै समयमा पनि घाममा राख्न सकिन्छ तर घाममा बस्दा पानीको मात्रामा भने ध्यान दिनुपर्छ  ।

सुन्तला अचुक औषधि 

पानी खान नमान्ने बालबालिकाका लागि भने सुन्तला खुवाउँदा पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ । चिसो मौसममा सुन्तलाले औषधिको काम गर्छ । सुन्तलामा पानीको तत्त्व, भिटामिन सी हुन्छ । रुघाखोकीविरुद्ध प्रतिरोधात्मक क्षमता बढाउने हुँदा चिसो मौसममा सुन्तला र कागतीलाई उपयुक्त मानिन्छ ।  

सुन्तला चपाउन, निल्न सक्ने उमेरको बालिकालाई सीधै दिन सकिन्छ भने निल्न नसक्ने बालबालिकाका लागि सुन्तलाको जुस दिँदा राम्रो हुन्छ । ठूला बालबालिकाका लागि सुन्तलाको सबै भाग खान दिँदा राम्रो हुन्छ । सुन्तलाको रेसाले कब्जियत हुनबाट बचाउँछ । सिजनको फलफूलले कुनै पनि असर नगर्ने हुँदा सुन्तला उपयुक्त फल हो । साथै बदाम, बेसारले शरीर तताउनका लागि सहयोग गर्ने हुँदा यी खानेकुरा पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । 

मालिस गर्ने समयमा विशेष ध्यान दिनुस्

  बालबालिकालाई चिसोबाट बचाउन घाममा राखेर मालिस गर्न सकिन्छ । बिहान कम घाम लागेको बेलामा सबै कपडा खोलेर मालिस गर्दा चिसो लाग्ने सम्भावना हुन्छ । धेरैजसो बालबालिकालाई मालिसकै क्रममा पनि चिसो लाग्ने, मालिस गर्ने समयमा ध्यान नदिँदा निमोनियासमेत भएको पाइन्छ । 

बालबालिकालाई मालिस गर्ने ठाउँ १५ मिनेट अघिदेखि नै तातिसकेको हुनुपर्छ । बालबालिकाको कपडा फेर्ने समयमा पनि ध्यान दिनुपर्छ । कपडा तताएरमात्र लगाइदिनु पर्छ ।

बालबालिकालाई लगाउने कपडा घाममा राखेर वा हिटरमा तातो बनाएपछि फेर्ने हो भने धेरै हदसम्म चिसोबाट बचाउन सकिन्छ । तातो नभएको कपडा लगाउँदा शरीरको सबै तातो त्यो कपडाले सोस्ने हुँदा शरीरमा चिसो लाग्न सक्छ । 

चिसोको समयमा धेरै हिटर प्रयोग गर्ने चलन छ । मालिस गर्ने समयसम्म मात्रै हिटर बाल्ने, त्यसपछि बन्द गर्दा राम्रो हुन्छ । हिटरबाट निस्कने कार्बनडाइ अक्साइडले श्वासप्रश्वासमा समस्या हुने हुँदा लामो समयसम्म हिटर नबाल्दा नै राम्रो हुन्छ । साथै चिसोको समयमा तातोको लागि कोइला पनि बालिन्छ । कोइलाबाट निस्केको धुवाँले श्वासप्रश्वास तथा बालबालिका निसासिने हुँदा सकेसम्म बाल्दै नबाल्ने, यदि बाल्नु नै परेको खण्डमा खुला ठाउँमा बाल्न उपयुक्त हुन्छ । 

धेरै कपडा नलगाइदिनुस् 

चिसो समयमा झ्यालढोका सबै थुनेर सुताउँदा निसासिएर बालबालिकाको निधन भएको घटना पनि आइरहेका हुँदा यस्ता कुरामा पनि अभिभावकले ध्यान दिनुपर्ने हुन्छ । चिसो मौसममा बालबालिकालाई धेरै कपडा लगाउने र न्यानोका लागि भन्दै धेरै ओडाउने हुँदा पनि बालबालिका निसासिने सम्भावना हुन्छ । सकेसम्म धेरै कपडा नलगाउने, राति बालबालिकाले पिसाब गरे–नगरेको, ओड्नेले ढाके–नढाकेको पटक पटक हेर्दै गर्नुपर्छ । धेरै कपडा लगाउँदा पसिना आउने र सो पसिना शरीरले सोस्दा बालबालिकालाई चिसो लाग्ने र निमोनिया हुने सम्भावना हुन्छ ।

राति सुत्ने समयमा तातो दूध खुवाउने हो भने रातभरको चिसोबाट बालबालिकालाई जोगाउन सकिन्छ । राति सुत्दा ओडाएको कपडा बालबालिकाले फाल्ने हुँदा मोजा, पन्जा, टोपी, थर्मकोट लगाएर सुताउँदा राम्रो हुन्छ । बालबालिकालाई घाँटीमा डोरी बाँध्ने टोपी लगाएर सुताउँदा श्वासप्रश्वासमा गाह्रो हुने हुँदा यस्तो टोपी नलाउँदा नै राम्रो हुन्छ । 

निमोनियाबाट जोगाउनुुस्

सिँगान बग्ने, धेरै दिनसम्म लगातार खोकी लाग्ने, ज्वरो आउने, सास फेर्दा नाक फुल्ने, आँखाबाट आँसु आउने, दूध चुस्न नसक्ने र बालबालिका रोइरहेको छ भने निमोनिया भएको हो कि भन्ने शङ्का गर्न सकिन्छ । दूध खाए पनि बान्ता हुने, पातलो दिसा हुने, खोकी लाग्ने, आँखाबाट आँसु बग्ने, हातखुट्टा चिसो, शरीर तातो छ भने निमोनिया हुन थालेको भनेर बुझ्नुपर्ने हुन्छ । 

रोकथामका उपाय 

चिसो मौसममा देखिने समस्या समाधानका लागि औषधि नै चाहिन्छ भन्ने छैन । घरायसी उपचारबाट पनि चिसोबाट बालबालिकालाई बचाउन सकिन्छ । तर हामी घरायसी उपचारलाई महत्त्व नदिई औषधिको पछि लाग्दै आइरहेका छौँ । धेरै नै गाह्रो भएको समयमा औषधि पनि प्रयोग गर्नुपर्ने हुन्छ नत्र घरायसी उपचारबाट पनि निको पार्न सकिन्छ । औषधिले रोगसँग लड्न सक्ने क्षमता घट्दै जाने हुँदा सकेसम्म घरेलु उपचारविधि अपनाउँदा राम्रो हुन्छ । 

घरेलु उपचारका लागि तुलसीको पत्ता तातोपानीमा राखेर खुवाउने, मह, अदुवा तातोपानीमा पकाएर खुवाउने, चिनी पानी पकाएर कागती हालेर खान दिने । दूधमा बेसार राखेर खुवाउने, कालो चियामा अदुवा, बेसार राखेर खुवाउने हो भने चिसो मौसममा लाग्ने रोगबाट बालबालिकालाई बचाउन सकिन्छ । 

साथै बालबालिकालाई घाममा राख्ने, मालिस गर्ने । विद्यालय उमेरका बालबालिका छन्, कक्षा कोठा चिसो छ भने एउटा कक्षा सकेपछि ५ देखि १० मिनेट घाममा बस्न दिँदा पनि चिसोबाट बचाउन सकिन्छ ।

 चिसोको समयमा अभिभावकले धेरै कुरामा ध्यान दिनुपर्ने हुन्छ । स्कुल जाने उमेरका बालबालिकालाई खाजा पठाउँदा पनि चिसो नहुने भाडामा राखेर पठाउँदा राम्रो हुन्छ । स्कुलमा खाजा खाने समयमा घरबाट नै खाजा लगेर खुवाउँदा अझ राम्रो हुन्छ । 

यी सबै उपचार विधिहरु ६ महिनाभन्दा माथि उमेरका बालबालिकामा लागू हुन्छ भने ६ महिनाभन्दा मुनिका बालबालिकाका लागि भने आमाको दूध मात्रै खुवाउनुपर्छ । आमाको दूधबाट बालबालिकाले सबै प्रकारको तत्त्वहरु पाइरहेको हुन्छ । साथै घाममा राख्ने, मालिस गर्ने र आमाको दूध खुवाउन सकिन्छ । 

रुघाखोकी कसैलाई ३ दिन, कसैलाई ७ दिन त कसैलाई १० दिनपछि निको हुन्छ । त्योभन्दा पनि लामो समयसम्म लागिरह्यो भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्दा राम्रो हुन्छ । 

Ratopati बाट साभार

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


प्रकाशक/प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

रिपोर्टर:- आशिष रानाभाट

रिपोर्टर:- सामुयल श्रेष्ठ

सम्पर्क नं. :- ९८०५८५३४२०

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2019 Pokharaaaja