देशका ६३ जिल्लामा देखा पर्यो स्क्रब टाइफस !



 डेङ्गु प्रकोपबाट अहिले देश आक्रान्त भइरहेको समयमा अहिले डेङ्गु जस्तै लक्षण मिल्दो जुल्दो भएको स्क्रब टाइफसको पनि संक्रमण बढ्न थालेको छ ।कैलालीमा स्क्रब टाइफसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । ज्वरो आएर उपचारका लागी कैलालीको धनगढी स्थीत मायामेट्रो अस्पतालमा भर्ना भएका २० वर्षीय भरत खातीको गएको बिहीवार मृत्यु भएको हो । यसअघि चितवनमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको थियो ।

नेपालमा अहिले स्क्रब टाइफस ६३ जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत घनश्याम पोखरेलले अहिलेसम्म ६३ जिल्लामा स्क्रब टाइफसको समस्या देखिएको बताए । सन् २०१९ मा ५ सय ५४ जना बिरामी भएका छन् । निधनको सङ्ख्या हेर्ने हो भने महाशाखाको अनुसार सन् २०१९ मा मात्र नेपालमा स्क्रब टाइफसबाट ३ जनाको निधन भइसकेको छ ।

स्क्रब टाइफसको समस्या अन्य प्रदेशको तुलनामा प्रदेश नं. ५ मा धेरै देखिएको महाशाखाले जनाएको छ । यो रोगको बिरामीको सङ्ख्या सबै भन्दा धेरै धादिङमा १३० र चितवनमा ५६ जनामा देखिएको महाशाखाले जनाएको छ ।एक व्यक्तिबाट अर्काे व्यक्तिमा नसर्ने स्क्रब टाइफस रोग मनसुन अर्थात् वर्षायाममा झाडी, भकारी, जङ्गल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट हुने गरेको स्वास्थ्य विज्ञहरुले बताएका छन् । यस रोगको उपचारको लागि सरकारले निःशुल्क रुपमा किटको व्यवस्था गर्दै आइरहेको पनि महाशाखाले जनाएको छ ।१५ देखि २० वर्ष पहिलादेखि यो रोगको समस्या नेपालमा देखिए पनि सरकारसँग भने ७ वर्ष पहिला देखिको मात्रै रेकर्ड रहेको छ ।

स्क्रब कस्तो रोग हो ?
स्क्रब टाइफसको सन् १९३० मा जापानमा हासिमोतोले यो रोगको पहिचान गरेका थिए । यो एक प्रकारको ज्वरोजन्य रोग हो । जङ्गल, झाडी र खुला ठाउँको बीचको भू–भागमा बढी प्रकोप हुने भएका कारण यो रोगको नाम स्क्रब टाइफस राखिएको बुझिन्छ । यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सुक्ष्म कीरा (माइट)को टोकाइबाट फैलिन्छ । यो रोग उत्पन्न गर्ने माइट सामान्यतया मुसाको कानमा गएर बस्छ अनि पूरै रस चुसेपछि झर्छ । झाडीमा मुसाको रगत चुसेर जिउने माइट नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रब टाइफस सर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुन्छ ।

नेपालमा कुनै पनि बेला महामारीको रुप लिन सक्छ सन् २०१८ मा २७ तथा सन् २०१६ मा यो संक्रमण ४८ जिल्लामा यो रोगको संक्रमण भेटिएको थियो । साढे तीन वर्षयता यो संक्रमणले ३४ जनाको मृत्यु भएको तथ्याङ्क छ । तर सरकारको तथ्याङ्कभन्दा धेरै नागरिकमा यो रोगको समस्या देखिएको स्वास्थ्य विज्ञहरुकै अनुमान छ ।

यो रोगले फेरि कुनै पनि समयमा महामारीको रुप लिन सक्ने स्वास्थ्य विज्ञहरुले बताउँदै आइरहेका छन् । आजभन्दा ३ वर्ष (०७३) मा ३२ जिल्लामा देखिएको यो रोग अहिले ६३ जिल्लामा देखिएको छ । यो कुराले पनि स्क्रब टाइफस बढ्दो अवस्थामा रहेको अनुमान लगाउन सकिन्छ ।नेपालमा लामो समयदेखि स्क्रब टाइफसको समस्या देखिए पनि भूकम्पपछि धादिङमा बढी मात्रामा मुसा देखिन थालेसँगै नागरिकले यो रोगको बारेमा चासो राखेको देखिन्छ । चिकित्सकको भनाइअनुसार समयमा उपचार भए यो रोग निको हुने रोग हो । तर ढिला भएको खण्डमा बिरामीको ज्यानसमेत जान सक्छ ।\

यसरी लाग्छ स्क्रब टाइफस डा. रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ
मनसुन अर्थात् वर्षायाममा झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट स्क्रब टाइफस सर्दछ । विशेषगरी मुसा र बिरालोको शरीरमा टाँसिएर रहने परजिवी किर्ना, उपियाँ, उडुस र जुम्राबाट मानिसमा यो रोग सर्छ । घरपालुवा जनावर भएको घरका मानिसलाई एक साताभन्दा बढी लगातार ज्वरो आएमा उनीहरूमा टाइफाइड या स्क्रब टाइफस भएको अनुमान गर्न सकिन्छ ।

उच्च ज्वरो आउनु, टाउको दुख्नु, शरीरमा बिमिरा देखिनु, आँखा रातो हुनु, खोकी लाग्नु, पसिना आउनु र ग्रन्थी सुन्निनु, टोकेको भागमा कालो दाग बस्ने स्क्रब टाइफसको लक्षणहरु हुन् । यो रोगको समयमा उपचार भएन ज्वरो बढ्दै गएर अन्य समस्याहरु पनि देखा पर्न सक्छन् । जस्तै मिर्गौला, फोक्सो, मुटुमा असर हुँदै पछि श्वासप्रश्वासमा समस्या हुने बिरामीको ज्यान जान सक्ने डा.रवीन्द्र पाण्डे बताउँछन्

उनका अनुसार समयमै रोगको निदान गरेमा यसको उपचार सस्तो छ । २—३ सय रुपैयाँको औषधि खाँदा नै यो रोग निको हुन्छ । डेङ्गुुसँग यसका लक्षण धेरै मिल्ने भएकोले डेङ्गु परिक्षण गर्दा स्क्रब टाइफसको पनि परिक्षण गर्नु उपयुक्त हुने डा.पाण्डे बताउँछन् । जनस्वास्थ्य प्रयोगशाला टेकुमा ५ सय रुपैयाँमा यसको परिक्षण गरिन्छ ।व्यक्तिगत सरसफाइसँगै घर वरपर सफा राख्ने तथा मुसा, किर्ना, सुलसुलेलगायतका किरा नियन्त्रण गर्ने, घर बाहिर काम गर्दा बुट तथा पञ्जा लगाउने आदिबाट यो रोग रोकथाम गर्न सकिने डा. पाण्डेको सुझाव छ ।
रातोपाटीबाट साभार !

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja