‘विद्यालयमा प्रहरी अभियान’ सञ्चालन



पोखरा

इलाका प्रहरी कार्यालय भीमाद र बेलचौताराले ‘विद्यालयमा प्रहरी अभियान’ सञ्चालन गरेको छ । क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थीलाई मानव बेचबिखन, घरेलु हिंसा, लागुऔषधलगायतका विषयमा सचेतना जगाउने उद्देश्यले प्रहरीले सो अभियान सञ्चालन गरेको हो ।

विद्यालय र क्याम्पस तहमा अध्ययनरत विद्यार्थी बढी मात्रामा लागुऔषध दुव्यर्सनीमा फस्न सक्ने भएकाले विद्यालयमै पुगेर सचेतना कक्षा शुरु गरिएको इलाका प्रहरी कार्यालय भीमादका प्रहरी नायब निरीक्षक भेषराज रेग्मीले जानकारी दिनुभयो । भीमाद नगरपालिका–६ स्थित जनज्योति क्याम्पसबाट शुरु गरिएको अभियानअन्तर्गत वडा नं ८ को मङ्गलोदय माध्यमिक विद्यालय, वडा नं १ को सिद्धार्थ माध्यमिक विद्यालय, वडा नं २ को बालविकास माध्यमिक विद्यालय, वडा नं १ को हिमालयन माध्यमिक विद्यालय र वडा नं ५ को दीपक माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रहरी नायब निरीक्षक रेग्मीका अनुसार उक्त अभियानअन्तर्गत विद्यार्थीलाई मानव बेचबिखन, घरेलु हिंसा, लैङ्गिक हिंसा, ट्राफिक सचेतना, लागुऔषध तथा साइबर क्राइमका बारेमा सचेतना प्रदान गरिएको छ । विद्यालय तहका बालबालिकादेखि नै यस प्रकारको सचेतना जगाउन सकिए सभ्य समाज निर्माण गर्न सहयोग पुग्ने रेग्मीले जानकारी दिनुभयो ।

यसैगरी शुक्लागण्डकी नगरपालिकाका सरस्वती माध्यमिक विद्यालय, जनकल्याण माध्यमिक विद्यालय, राजपुर माध्यमिक विद्यालय, जनप्रिय माध्यमिक विद्यालय, खैरेनीटार माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम सम्पन्न गरेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिनुभयो । प्रहरीले विद्यार्थीलाई महिला तथा बालबालिकामाथि हुने यौनजन्य अपराध, साइबर अपराध, ट्राफिक सचेतना, लागुऔषध दुव्र्यसनी तथा अपराध न्यूनीकरणमा विद्यार्थीको भूमिका लगायतका विषयमा सचेतना प्रदान गर्ने गरेको गिरीले बताउनुभयो ।

कुटपिटमा संलग्न पक्राउ

साथीलाई बोत्तल प्रहार गरी घाइते बनाएको अभियोगमा इलाका प्रहरी कार्यालय बेलचौताराले चार युवालाई सोमबार पक्राउ गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेस्थित एक होटलमा मनोज कार्कीलाई बियरको बोत्तलले हानी घाइते बनाएको अभियोगमा प्रहरीले ती युवालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका वीरबहादुर थापा, सुमन खड्का, सुमित थापा र लोकबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो । आइतबार राति भएको झगडामा टाउको र दाहिने हातमा चोट लागेका कार्कीलाई पोखरामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja