व्यास नगरपालिकाको पाश्र्वचित्र तयार



पोखरा

तनहुँको व्यास नगरपालिकाको विकासको विद्यमान अवस्था, सम्भावना र स्रोतका सम्बन्धमा आवश्यक सूचना व्यवस्थापन गर्न पाश्र्वचित्र तयार पारिएको छ । नगरपालिकाको भौगोलिक, सामाजिक, आर्थिक, पूर्वाधारलगायत क्षेत्रको विद्यमान स्थिति झल्काउन पाश्र्वचित्र तयार गरिएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको जनसाङ्ख्यिक, भू–जैविक, भौतिक, मानवीय, आर्थिक, सामाजिक, वातावरण र संस्थागत क्षेत्रको विषयगत र वस्तुगत स्थिति चित्रण हुने गरी वस्तुगत विश्लेषण विवरणसहितको पाश्र्वचित्र तयार गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेशराज पन्तले जानकारी दिनुभयो ।

एकाउण्टीबिलिटी इनिसियटिभ काठमाडौँको प्राविधिक सहयोगमा निर्माण गरिएको पाश्र्वचित्रमा नगरपालिकाको धार्मिक एवं ऐतिहासिक पृष्ठभूमि, राजनीतिक एवं प्रशासनिक अवस्था, भौगोलिक अवस्थिति, भूउपयोग, संस्कृति, पर्यटनलगायतका क्षेत्र समावेश गरिएको छ । “पाश्र्वचित्रमा आवश्यक सूचना तथा तथ्याङ्क व्यवस्थित रुपमा पस्तुत गर्ने प्रयास गरिएको छ”, प्रमुख प्रशासकीय अधिकृत पन्तले भन्नुभयो, “यो दस्तावेज व्यास नगरपालिकाको बारेमा जानकारी लिन चाहने सबैका लागि उपयोगी हुनेछ र नगरको विकास योजना बनाउन आधारस्तम्भको रुपमा रहनेछ ।”

पन्तका अनुसार स्थानीय सरकारको सेवा प्रवाहमा चुस्तता र विकास प्रक्रियालाई यथोचित गति प्रदान गर्न खण्डिकृत र क्षेत्रगत सूचनासहितको नगर वस्तुगत विवरण जरुरी हुन्छ । “सरकारले गाउँ तथा नगर क्षेत्रको समग्र वस्तुस्थिति झल्किने वस्तुगत विवरणको ढाँचा तयार गर्न पत्राचार गरेको थियो”, उहाँले भन्नुभयो, “वस्तुगत विवरणले स्थानीय तहमा तर्जुमा हुने योजनाका लागि सूचनाको आधार तयार गर्न महत्वपूर्ण हुन्छ ।”

कूल चौध वडा रहेको नगरपालिकामा २३५ टोल छन् । पूर्वमा भानु नगरपालिका र बन्दीपुर गाउँपालिका, पश्चिममा शुक्लागण्डकी नगरपालिका र म्याग्दे गाउँपालिका, उत्तरमा कास्की र लमजुङ जिल्ला तथा दक्षिणमा रिसिङ्ग र देवघाट गाउँपालिका पर्दछ । नगरपालिकामा विभिन्न जातजातिका मानिस बसोबास गर्दै आइरहेका छन् । सबै जातिहरुले आफ्नो संस्कृतिअनुरुप चाडपर्व एवं वेषभूषालाई विशेष महत्व दिएर उत्साहका साथ मनाउँदै आइरहेका छन् ।

सात हजार वैदेशिक रोजगारीमा

पाश्र्वचित्रमा उल्लेख भएबमोजिम नगरपालिका क्षेत्रभित्रका ७ हजार ८२१ जना वैदेशिक रोजगारीका लागि विदेशिएका छन् । कूल जनसङ्ख्या ७१ हजार ८०९ मध्ये २.९ प्रतिशत जनसङ्ख्याको मुख्य पेशा सरकारी जागिर, २.५ प्रतिशतको निजी जागिर, ४ प्रतिशतभन्दा बढीले ज्यालामजदुरी र ११ प्रतिशत वैदेशिक रोजगारीमा गएको पाश्र्वचित्रमा उल्लेख छ ।

पाश्र्वचित्रमा उल्लेख भएबमोजिम नगरक्षेत्रभित्रका तीन महीनाभन्दा कम समय खान पुग्ने परिवार सङ्ख्या २५.९ प्रतिशत छ । त्यस्तै ६ महीनासम्म खान पुग्ने परिवारको सङ्ख्या १९.१, ९ महीनासम्म खान पुग्ने परिवारको सङ्ख्या १३.७, १२ महीनासम्म खान पुग्ने परिवारको सङ्ख्या ४१.३ प्रतिशत रहेको नगरपालिकाले जनाएको छ ।

पाँच सय १८ घरपरिवार सुकुम्वासी

नगरपालिका क्षेत्रभित्र ५१८ घरपरिवार सुकुम्वासी रहेको पाश्र्वचित्रमा उल्लेख गरिएको छ । जसअनुसार वडा नं १ मा २२, २ मा २, ३ मा ३, ४ मा ५, ५ मा ७४, ६ मा ३२, ७ मा ११, ९ मा १३, १० मा ८८, ११ मा ८५, १२ मा १६६, १३ मा ३० र १४ माख १७ घरपरिवार सुकुम्वासी छन् । सुकुम्वासी परिवारले नगरपालिकाभित्र भएको सार्वजनिक जग्गा, नेपाल सरकारको ऐलानी जग्गा तथा मठमन्दिरको गुठी जग्गा भोगचलन गर्दै आएका छन् ।

पाश्र्वचित्रमा प्रमुख पेशा, खाद्यान्न उपलब्धतासम्बन्धी विवरण, धर्म अनुसारको जनसङ्ख्या विवरण, मातृभाषाको आधारमा जनसङ्ख्या विवरण, जातिगत आधारमा जनसङ्ख्या विवरण, बसोबासको अवस्थासम्बन्धी विवरण, स्वास्थ्य तथा पोषण विवरणलगायत समावेश गरिएको नगरपालिकाले जनाएको छ ।

एक सय ४२ घरमा छैन शौचालय

तनहुँ खुल्ला दिशामुक्त जिल्ला घोषणा भइसके पनि नगरपालिकाको १४२ घरधुरीमा अझै पनि शौचालय निर्माण नभएको तथ्याङ्क सार्वजनिक भएको छ । नगरपालिकाले तयार गरेको पाश्र्वचित्रमा नगर क्षेत्रभित्रका १४२ घरधुरीमा चर्पी नभएको तथ्याङ्क सार्वजनिक भएको हो ।

नगरपालिकाको कूल जनसङ्ख्याको ०.९८ प्रतिशतमा चर्पी नबनेको पाश्र्वचित्रमा उल्लेख छ । चर्पीको आकार हेर्ने हो भने सुलभ शौचालय सबैभन्दा बढी चलनचल्तीमा रहेको पाइएको छ । त्यस्तै ८७.४४ प्रतिशत घरमा सुलभ शौचालय रहेको छ भने ५.६७ घरमा खाल्डोवाला शौचालय रहेको छ ।

नगरपालिका–१ को ९, २ को १, ३ को २, ४ को १, ५ को ५, ६ को १८, ७ को ११, ८ को १५, ९ को ५, १० को ३, ११ को १२, १२ को १६, १३ को १३ र १४ को ३१ घरधुरीमा अझै पनि चर्पी नरहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको कूल घरधुरीमध्ये १.४ प्रतिशतले अशुद्ध पानी प्रयोग गर्ने गरेका छन् । पिउने पानीको गुणस्तरको आधारमा करीब ४९ प्रतिशत घरधुरीले स्वच्छ पानी उपभोग गर्ने गरेको र ४४ प्रतिशतले सामान्य पानी उपभोग गर्ने गरेका छन् । नगरपालिकाका अनुसार ९ हजार ९९९ घरधुरीले शुद्ध, ८ हजार ९५६ घरधुरीले सामान्य र २७७ घरधुरीले अशुद्ध पानी उपभोग गर्ने गरेको तथ्याङ्कमा उल्लेख छ ।

त्यस्तै १३.८ प्रतिशत घरपरिवारले उमालेको, २८.८ प्रतिशतले फिल्टर गरेको पानी पिउने गरेको तथा ५६ प्रतिशतभन्दा बढी घरधुरीले पानी शुद्ध पार्ने कुनै विधि नै नअपनाइ खानेपानीको प्रयोग गरेको देखिएको छ । कूल दुई हजार ६ सय ६७ घरधुरीले उमालेर, ४७ घरधुरीले क्लोरिन ट्याब्लेट प्रयोग गरेर, पाँच हजार ७८० घरधुरीले फिल्टर गरेर, ११८ घरधुरीले ‘प्युरिफायर’ गरेर पानी उपभोग गर्ने गरेको तथा ११ हजार ३४७ घरधुरीले सिधै पानी उपभोग गर्ने गरेका छन् ।

नगरपालिकाभित्रका ६० प्रतिशतभन्दा बढी घरपरिवारले खानेपानीको प्राथमिक स्रोतसम्म पुग्न कुनै समय खर्चिनु नपर्ने तथा ९७ घरपरिवारले पनि अझै पनि एक घण्टाभन्दा बढी समय खानेपानीका लागि खर्च गर्नुपर्ने तथ्याङ्कमा छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja