म्याग्दी डेङ्गु रोगको जोखिममा



पोखरा

हिमाली जिल्ला म्याग्दीमा पनि डेङ्गु रोगको जोखिम देखिएको छ । छिमेकी जिल्ला बागलुङ र पर्वतमा चार जना डेङ्गु रोगको बिरामी भेटिएपछि म्याग्दीमा पनि सर्तकता अपनाउन आवश्यक रहेको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

सोमबार जिल्ला प्रशासन कार्यालयमा आयोजित ‘डेङ्गु रोग नियन्त्रणसम्बन्धी छलफल कार्यक्रम’मा सवारीसाधनका ग्यारेजमा रहेका टायर, गमला, फूलदानी, पानीट्याङ्की, पानीको मुहान, फोहर सङ्कलन केन्द्र, कवाडी राखिएका ठाउँको अवस्थालाई हेर्दा बेनी डेङ्गु जोखिममुक्त नभएको उनीहरुले बताएका छन् ।

स्वास्थ्य कार्यालयका प्रमुख प्रकाशराज शर्माले म्याग्दीमा कुनै पनि बेला डेङ्गु रोग फैलिन सक्ने भएकाले सर्तकता अपनाउनुपर्ने बताउनुभयो । “डेङ्गु नियन्त्रणको एक मात्र उपाय भनेको नियमित सरसफाइ मात्रै हो”, उहाँले भन्नुभयो, “पानी जम्न सक्ने भाँडामा लामखुट्टेले फुल पार्ने भएकाले त्यसमा सबै सचेत हुनुपर्छ ।” लाखमुट्टेको फुल नष्ट गर्नका लागि पनि सफा पानी जम्न नदिने र नियमित सफा गर्नुपर्ने उहाँको भनाइ छ ।

गण्डकी प्रदेशसभाका सदस्य विनोद केसीले प्रदेश सरकारले डेङ्गु रोग नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रमलाई प्राथमिकतामा राखिएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले जिल्लाभित्र सचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा सञ्चालन गरिने बताउनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, रघुगङ्गा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, उपाध्यक्ष कमला तिलिजा, मङ्गला गाउँपालिकाका उपाध्यक्ष सिर्जना केसी, धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम छन्त्याल, अन्नपूर्ण गाउँपालिका उपाध्यक्ष केशमाया मगरलगायत विभिन्न राजनीतिक दल तथा सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो ।

एडिस जातको लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गु रोग जुनसुकै उमेर समूहका व्यक्तिमा पनि देखिन सक्छ । लामखुट्टेले दिउँसोको समयमा टोकेमा डेङ्गु लाग्ने सम्भावना बढि हुने भएकाले यसको नियन्त्रणका लागि सम्बन्धित सबै पक्ष गम्भीर हुनुपर्नेमा सहभागीहरुले जोड दिएका छन् ।

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको तथ्याङ्कअनुसार पोखरामा २१ जना ट्राफिक प्रहरीहरु सङ्क्रमित रहेका र जसमध्ये १८ जना डेङ्गुका बिरामी रहेको र तीन जनाको रिर्पाेट आउन बाँकी रहेको छ । म्याग्दीबाट व्यापारिक तथा अन्य विभिन्न कारणले पोखरा आवतजावत हुने भएकाले पनि संक्रमणको जोखिम रहेकाले यसप्रति सचेत हुनुपर्नेमा उनीहरुले जोड दिएका छन् ।

डेङ्गु संक्रमण हुँदा असाध्यै ज्वरो आउने, टाउको र आँखाको गेडी तथा आँखाको पछिल्लो भाग एवं ढाड, हातजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिमिरा आउने, नाक तथा गिजाबाट रगत आउनेलगायत लक्षण देखिन्छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja