मुसहर पुरुषको औसत आयु ४० वर्ष मात्रै



पोखरा

उठ्ने बित्तिकै रक्सी खाने, दिउँसो पनि रक्सी खाने र बेलुका फेरि रक्सी खाएर सुत्ने उनीहरुको दिनचर्या नै हो ।

मानिसले काम गरेर थकाइ मार्न कहिलेकाहीँ पिउँछन् । सधैं पिउनेले थोरै मात्रै रक्सी पिएर सुत्छन् तर, मनहर्वा बस्तीमा सबैजसो पुरुष रक्सी खानकै लागि जन्मेका जस्ता देखिन्छन् । यहाँका पुरुष एकाबिहानै रक्सी सेवन गरेर एक आपसमा गालीगलौज, झै–झगडा र कुटपिट नगरेको कुनै दिन नै हुँदैन भन्दा हुन्छ । काम गर्न नमान्नु, तास, जुवा, रक्सीमा मात्नु र श्रीमतीलाई पिट्नु पनि यहाँका पुरुषहरुको दिनचर्या नै हो ।

शिक्षाको उज्यालो घामले नछोएको यस बस्तीका व्यक्तिहरु छोराछोरी पढाउने चाहना नै राख्दैनन् । आफ्ना छोराछोरीलाई विद्यालयबाट टाढै राख्न चाहन्छन् । बालबालिकालाई पढाउनुको साटो उनीहरुका लागि गाई, बाख्रा, सुँगुर, बँगुर किनिदिने र त्यसको हेरचाहमा लगाएर २/४ पैसा आर्जन गर्न लगाउने कामलाई उनीहरु प्राथमिकता दिन्छन् । महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं ७ स्थित मनहर्वा मुसहर बस्तीको पुरुषहको औसत आयु ४० वर्ष मात्रै रहेको छ ।

नेपाल सरकारले तोके अनुसार हरेक नेपालीको औसत आयु ६० वर्ष रहे पनि यस बस्तीका मुसहर पुरुषहरुको औसत आयु ४० वर्ष मात्रै रहेको छ । एकसय २५ घरधुरी रहेको यस बस्तीका पुरुषहरु अत्यधिक रक्सी खाने गरेका कारण ४० वर्षभन्दा बढी नबाँचेको उनीहरुको भनाइ छ । यहाँका मुसहरहरु बिहान उठ्ने बित्तिकै रक्सी खाने, दिनभरि काम गर्ने, काम गर्दागर्दै दिउँसै रक्सी खाने र फेरि बेलुका कमाएर ल्याएको पैसाबाट रक्सी खाएर सुत्ने गरेका कारण उनीहरु अल्पायुमै मर्ने गरेको स्थानीय मुसहर महिला निर्मला सदाले बताइन् ।

बाइस वर्षकै उमेरमा विधवा भएकी मुसहर महिला इन्दु सदाले ३ वर्ष पहिले मात्रै पति दुखा सदालाई गुमाइन् । आफ्नो पतिको ३२/३३ वर्षको उमेरमा अत्यधिक रक्सी सेवन गरेकै कारण मृत्यु भएको उनी बताउँछिन् ।

अल्पायुमै आफन्तको मृत्युवरण देखेकी तुलसी सदाले पनि रक्सी सेवनबाट शुरु हुने यहाँका पुरुषहरुको दैनिकीले नै उनीहरुको आयु खुम्च्याइदिएको बताइन् । स्थानीय महिला मरनी सदाका अनुसार आ–आफ्ना पुरुषका बारेमा कुन दिन अप्रिय समाचार सुन्नु पर्ने हो भन्ने भय पालेर यहाँका महिलाले दिन गुजार्न परिहरेको छ । यस गरीब बस्तीमा कुनै पनि मुसहरको घरमाथि टिनको छानो छैन । सबैको घर खर, बाँस, झारपातबाट बनेको छन् र सबैको छानो चुहिने अवस्थाका छन् । ईंटा, ढुङ्गा र सिमेन्टले बनेको पक्की घर त हेर्नकै लागि भए पनि कसैको त्यस बस्तीमा छँदै छैन ।

दैनिक रक्सी खाएका पतिबाट प्रताडित यस बस्तीका महिलाहरुले आफूहरुको बस्तीमा रक्सीमाथि प्रतिबन्ध लगाइदिन स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरुसँग पटक पटक गुहारिसकेको भए पनि त्यसको सुनुवाइ भएको छैन ।

गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले यस बस्तीका मुसहरको बानीबेहोरामा परिवर्तन ल्याउन नगरपालिकाले थुप्रै कामहरु गरेको बताउनुहुन्छ । बालबालिकाहरुको पठनपाठन नियमित होस् भन्ने उद्देश्यले पनि यस वस्तीमा रहेका विद्यालयलाई विभिन्न सेवा सुविधाहरु दिइएको उहाँ बताउनुहुन्छ । आफू अनपढ भएकाले आफ्ना सन्तानलाई पनि सधैं अनपढ नै राख्ने सोच यहाँको अभिभावकले पालेको देखिन्छ ।

करीब २ वर्ष पहिले मनहर्वा बस्तीमा हास्य कालाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) आएर बस्तीका सबै बालबालिकाहरुलाई विद्यालय पठाउन आग्रह गर्दै शैक्षिक सामग्री बाँडेका थिए । सबै महिला, पुरुषहरुलाई रक्सी सेवन, झै झगडा, गालीगलौज र कुटपिट जस्ता घटनाहरु नघटाउन पनि उनीहरुले सल्लाह दिएका थिए । त्यो बेला घरघरबाट मेला भर्न आएजस्तै उर्लेर आएका मुसहरहरुले सोही दिनदेखि आफूहरु राम्रो बाटोमा हिँड्ने प्रण गरेका थिए तर, कुकुरको पुच्छर सधैं बाङ्गो भनै जस्तै एकाध परिवार र व्यक्ति बाहेक मनहर्वाका सबै मुसहरहरुको स्वभावमा खासै परिवर्तन आएन ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja