सुन एक हजार २०० ले बढ्यो, तोलाको ७२ हजार ५००



पोखरा

पछिल्लो डेढ महीनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्यमा प्रतितोला रु एक हजार २०० ले वृद्धि भएको छ । छापावाला सुनको मूल्य प्रतितोला रु ७२ हजार ५०० कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु ७१ हजार ३०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजार २०० का दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला रु ७२ हजार २०० पुगेको छ । शुक्रबार तेजाबी सुन प्रतितोला रु ७१ हजारमा कारोवार भएको थियो । सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । यसअघि प्रतितोला रु ५/१० का दरले वृद्धि हुँदै आएको चाँदीको मूल्यमा आज प्रतितोला रु २० वृद्धि भएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला रु ८५० पुगेको महासङ्घले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला रु ८३० मा खरीदबिक्री भएको थियो ।

गत साउनको शुरुआतदेखि नै सुनको मूल्य उकालो लाग्न थालेको थियो । साउन महीनामा सुनको मूल्य प्रतितोला रु सात हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले वृद्धि भएको थियो । भदौ महीना लागेपछि पनि दुई पटक सुनको मूल्य वृद्धि भएको छ । भदौमा छापावाला र तेजाबी सुन प्रतितोला रु एक हजार ५०० ले वृद्धि भएको छ ।

साउन १ गते छापावाला सुन प्रतितोला रु ६४ हजार ५००, तेजाबी सुन रु ६४ हजार २०० र चाँदी प्रतितोला रु ७४५ मा कारोबार भएको थियो । साउन ३१ र ३२ गते छापावाला सुन प्रतितोला रु ७१ हजार ५००, तेजाबी सुन रु ७१ हजार २०० तथा चाँदी प्रतितोला रु ८४० मा कारोबार भएको महासङ्घले जनाएको छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५२८.५० अमेरिकी डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।

अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।

सुनको मूल्य वृद्धि भएसँगै सुनको खपत भने ह्वात्तै घटेको छ । दैनिक २०/२५ किलो सुन खपत हुने नेपाली बजारमा पछिल्लो समय मुस्किलले १० किलो पनि बिक्री हुन नसकेको महसङ्घले जनाएको छ । अहिले सुन किन्नेभन्दा पनि गहना बेच्नेको घुइँचो लाग्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja