गण्डकी प्रदेशसभामा मन्त्रीको जवाफ



पोखरा

गण्डकी प्रदेशसभाको बुधबारको बैठकमा शून्य तथा विशेष समयमा प्रदेशसभा सदस्यले उठाउनुभएको प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनुभएको छ ।

आन्तिरक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रदेशसभा सदस्यले बैठकमा राख्नुभएको जिज्ञासाको सरकारकोतर्फबाट जवाफ दिनुभएको हो ।

आन्तिरक मामिलामन्त्री चुमानले गत साउन २० गते राति बाग्लुङको तमानखोला गाउँपालिकामा गएको पहिरामा परेर निधन भएका तीन जनाको परिवारलाई जिल्ला प्रशासनबाट रु तीन लाख ५० हजार तथा घाइते तीन जनालाई जनही रु २५ हजारका दरले राहत प्रदान गरिएको जानकारी दिनुभयो ।

त्यसैगरी लमजुङको दोर्दी खोलामा आएको बाढीबाट मृत्यु भएका तथा बेपत्ताका परिवारलाई सरकारले रु ५० हजारका दरले राहत प्रदान गरेको उहाँले प्रदेशसभालाई जानकारी गराउनुभयो ।

भौतिक पूर्वाधार विकासमन्त्री बस्नेतले वर्षायाममा बाढीपहिराले प्रदेशका विभिन्न जिल्लाका सडकमा क्षति पु¥याएको र सरकारले तत्कालै सडक मर्मत गरी यातायात सञ्चालन गरेको बताउनुभयो । सङ्घ, प्रदेश र स्थानीय तीनै तहका सरकारका बीचमा विकास निर्माणका योजनामा समन्वय र सहकार्य भइरहेको बताउँदै उहाँले आगामी दिनमा पनि समन्वयका साथ अघि बढ्ने स्पष्ट पार्नुभयो ।

पर्यटनमन्त्री लम्सालले आन्तिरक भ्रमण वर्षको तयारीलाई तीव्रता प्रदान गर्न प्रदेशका ११ वटै जिल्ला तथा ८५ स्थानीय तहमा पनि भ्रमण वर्ष मूल आयोजक समिति गठन गरी प्रचारप्रसारमा जोड दिइने बताउनुभयो । आगामी असोजदेखि पुस महीनासम्ममा १५ लाख आन्तरिक पर्यटक ल्याउने सरकारको योजना रहेको बताउँदै उहाँले प्रदेशका दुई हजार २०० निजामती कर्मचारीलाई रु २५ हजार भ्रमण खर्च दिएर एक हप्ताका लागि होमस्टेमा पठाइने जानकारी दिनुभयो ।

शून्य तथा विशेष समयमा प्रदेशसभा सदस्य मीना गुरुङ, कृष्ण थापा, विन्दुकुमार थापा, हरिशरण आचार्य, प्रभा कोइराला, विष्णुप्रसाद लामिछाने र मेखलाल श्रेष्ठले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

बैठकमा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले ‘पारिश्रमिक र सुविधासम्बन्धी केही प्रदेश कानूनलाई संशोधन गर्न बनेको विधेयक’को प्रतिवेदनसहितको विधेयकसभासमक्ष प्रस्तुत गर्नुभएको थियो ।

सभामुख नेत्रनाथ अधिकारीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त प्रदेश लोकसेवा आयोग गठनसम्बन्धी विधेयक प्रमाणीकरण भएको व्यहोराको पत्र सभामा वाचन गर्नुभएको थियो । प्रदेशसभाको अर्को बैठक आज भदौ ५ गते दिनको १ बजे बस्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja