पुरोहितको दक्षिणा रु एक सय एक



पोखरा

माडी नगरपालिकाले पण्डितलाई दक्षिणास्वरुप दिइने पैसा निर्धारण गरेको छ । नगरपालिकाको दोस्रो कार्यपालिका बैठकले दक्षिणास्वरुप रु १०१ कायम गरेको हो । नगरपालिकाको दोस्रो नगरसभाको निर्णय आज सार्वजनिक गर्दै नगरप्रमुख ठाकुर ढकालले समाजमा हुने भड्किलोपनलाई नियन्त्रण गर्न यो निर्णय गरिएको बताउनुभयो ।

निर्णय कार्यान्वयनका लागि सम्पूर्ण नगरवासीलाई अपिल गरिने उहाँले जानकारी दिनुभयो । हुने खानेले विवाह, व्रतबन्ध, पूजाआजालगायतका शुभकार्यमा बढी दक्षिणा दिने र हुँदा खानेले थोरै दक्षिणा दिने गर्दा समाजमा विभेद् निम्तिएको भन्दै नगरपालिकाले विभेद् अन्त्यका लागि यो निर्णय गरेको ढकालले बताउनुभयो ।

यस्तै माडीवासीले वैवाहिक कार्य गर्दा घरमा नै गर्नुपर्ने भएको छ । कार्यपालिका बैठकले घरमा विवाह गर्दा खर्च कम हुने भएकाले घरमा नै गर्नुपर्ने प्रावधान अघि सारेको हो । यसले खर्चमा कटौती हुने र देखावटी गरिने खर्चको नियन्त्रणसँगै समाजमा हुने विभेद्लाई समेत केही मात्रामा रोक्न सहयोग पुग्ने विश्वास रहेको प्रमुख ढकालले बताउनुभयो ।

ढकालका अनुसार पार्टी प्यालेसमा विवाह गर्नुपर्ने बाध्यता रहेमा त्यहाँ गरिने खर्चको केही रकम नगरपालिकालाई बुझाउनुपर्ने हुन्छ । सो रकमबाट नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि खर्च गरिने उहाँले जानकारी दिनुभयो ।

अहिले नगरपालिकाले अभिभावक गुमाएका बालबालिकाका लागि आवास सञ्चालन गरिरहेको छ । वडा नम्बर ६ लक्ष्मीवासमा रहेको सो आवासमा ३७ जना बालबालिका आश्रित रहेका छन् । माडीमा तीन वटा पार्टी प्यालेस सञ्चालनमा रहेका छन् भने अन्य खुल्ने क्रममा छन् । नगरपालिकाको कार्यपालिका सदस्यबाट तत्काल शुरुआत हुनेगरी दक्षिणा निर्धारण गरिएको नगरपालिकाका प्रवक्ता शिवहरि सुवेदीले जानकारी दिनुभयो ।

प्रवक्ता सुवेदीले एकै परिवारमा दुई वटा छोरी जन्मेको भए दुवै जनालाई उच्च माध्यमिक तहसम्म निःशुल्क शिक्षा प्रदान गर्ने बताउनुभयो । छुवाछुत प्रथा हटाउन छुवाछुतविरुद्धको दिवसमा सहभोज आयोजना गर्ने कार्यपालिकाले निर्णय गरेको छ ।

कार्यपालिका बैठकले नगरपालिका–९ मा रहेको प्याउलीमा बाल शिक्षा केन्द्र स्थापना गर्ने र नगरपालिकाको भूगोल, जनसङ्ख्या, भूउपयोगको अवस्था एवं आर्थिक सामाजिक पक्ष समेटी नगरको वृत्तचित्र तयार गर्ने निर्णय भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja