नेपाल भ्रमणमा आएका विदेशी पर्यटकका उजुरी



पोखरा

नेपाल भ्रमणमा आएका विदेशी पर्यटकले आफूहरु माथि चोरी, ठगी, लुटपाट, पाकेटमार, दुव्र्यवहारलगायतका घटना भएको भन्दै उजुरी दिन थालेका छन् ।

नेपाल घुम्न आउने विदेशी पर्यटकको सुरक्षा र पर्यटकलाई पर्ने समस्या समाधान गर्न विसं २०३५ माघ १२ गते स्थापना भएको पर्यटक प्रहरीमा विदेशी पर्यटकले उजुरी दिएका हुन् । पर्यटक प्रहरीमा चालू आर्थिक वर्षमा ६०० उजुरी दर्ता भएका हुन् । साउनमा ५०, भदौमा ३५, असोजमा ६५, कात्तिकमा ८०, मङ्सिरमा ५४, पुसमा ५३, माघमा ३७, फागुनमा ३२, चैतमा ५८, वैशाखमा ८२ र जेठमा ५४ उजुरी परेका छन् ।

पर्यटक प्रहरीले पर्यटकका लागि आवश्यक सूचना प्रवाह गर्ने, पर्यटकबाट आएका उजुरी निवेदन छानबिन र कारवाही गर्ने, इजाजत नभई पथप्रर्दशक कार्य गर्नेमाथि नियन्त्रण तथा कारवाही गर्ने, फौजदारी अपराध सम्बन्धमा सम्बन्धित दूतावासमा सम्पर्क राखी स्थानीय प्रहरीमार्फत कारवाही अगाडि बढाउने, होटल, ट्राभल, ट्रेकिङ, ¥याफ्टिङ एजेन्सीमा निरीक्षण गर्नेलगायतका काम गर्दै आएको छ ।

पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख, प्रहरी निरीक्षक अमृतबहादुर बस्नेत पर्यटक प्रहरीमा पर्ने उजुरीमध्ये सबैभन्दा धेरै सामान हराएको विषयमा पर्ने गरेको बताउनुहुन्छ । “सामान हराएको मात्र ४५४ उजुरी पर्यटक प्रहरीमा परेको छ”, उहाँ भन्नुहुन्छ । पर्यटक प्रहरीमा सामान हराएको बाहेक चोरी ९८, ठगी २४, लुटपाट तीन, पाकेटमार छ, दुव्र्यवहार चार, दुर्घटना एक, क्षति चार र अन्य छ उजुरी दर्ता भएका छन् । पर्यटक प्रहरीले हाल काठमाडौँ उपत्यकाभित्र १० र उपत्यका बाहिर १६ स्थानबाट पर्यटकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रहरी प्रधान कार्यालयमा २२७ को दरबन्दी कायम गरिएको छ । चालू आवमा मात्र काठमाडौँको बौद्ध, चितवनको पटिहानी र तनहुँको बन्दीपुरमा कार्यालयले सेवा विस्तार गरेको छ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेसँगै पर्यटक प्रहरीको आवश्यकता र औचित्य बढ्दै गएको छ । पर्यटक प्रहरीले पर्यटकलाई आवश्यक पर्ने सेवा प्रदान गर्न रारा ताल, बाँके, कञ्चनपुर, इलाम, धनकुटालगायतका नौ प्रमुख पर्यटकीय गन्तव्यका लागि पर्यटक प्रहरी माग गरिएको पर्यटक प्रहरी प्रमुख बस्नेत बताउनुहुन्छ । पर्यटक प्रहरीले पर्यटकको सुरक्षा र पर्यटकलाई पर्नसक्ने समस्या समाधानका लागि ‘पर्यटक प्रहरी मोबाइल एप्स’ सञ्चालनमा ल्याएको छ ।

एप्समा पर्यटक प्रहरी रहेको स्थान, पर्यटकले नेपालमा बस्दा गर्न हुने काम र गर्न नहुने काम, हटलाइन नम्बर, कुनै घटना घटिहालेमा प्रहरीलाई खबर गर्ने तरिका, पर्यटकका प्रतिक्रिया लेख्न मिल्ने बताइएको छ । विदेशबाट आउने पर्यटकमध्ये ९० प्रतिशत पर्यटक ठमेल भित्रिने भएकाले उक्त पर्यटकलाई लक्षित गरेर ठमेलमा ‘महानगरीय पर्यटक सूचना केन्द्र’ समेत सञ्चालनमा ल्याएको छ । उक्त केन्द्र सञ्चालनमा ल्याएसँगै पर्यटक प्रहरीको प्रधान कार्यालय भृकुटीमण्डपबाट दिने सेवा सुविधा ठमेलबाट प्रदान गरिने पर्यटक प्रहरीले जनाएको छ ।

पर्यटक प्रहरी नेपाल प्रहरीको भए पनि उनीहरुको सेवा सुविधा भने पर्यटन विभागमार्फत हुँदै आएको छ । पर्यटक प्रहरी परिचालन निर्देशिका नहुनु, विभिन्न मुलुकको भाषाको ज्ञान नहुनु, पर्यटक प्रहरीलाई आवश्यक तालीम नहुनुलगायत पर्यटक प्रहरीभित्र समस्याका रुपमा रहेका छन् ।

पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे पर्यटक प्रहरीको आवश्यकतालाई हेरेर अन्य ठाउँमा पनि विस्तार गर्दै लैजाने बताउनुहुन्छ । “नयाँ स्थानमा पर्यटक प्रहरी राख्नका लागि आएका मागलाई अध्ययन गरी नेपाल प्रहरीमा पठाउने र प्रहरीले सदर गरेपछि उक्त ठाउँमा पर्यटक प्रहरी खटाउने गरेका छौँ”, उहाँ भन्नुहुन्छ । नेपालको पर्यटन विकासमा पर्यटक प्रहरीले महत्वपूर्ण भूमिका खेलेको उहाँको भनाइ छ ।

महानिर्देशक घिमिरे मुलुकको आर्थिक मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रलाई व्यवस्थित गर्ने कुरामा विभाग गम्भीर भएर लागेको बताउनुहुन्छ ।

RSS

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja