विषादी प्रयोगले माछा लोप हुँदै



तस्वीर: तनहुँको व्यास नगरपालिका–५ अलैचेका सन्तबहादुर थापा माछा मार्न साँगेखोलामा जाल हान्दै । करेन्ट र विष प्रयोगले साँगेखोलामा माछा लोप हुँदै गएको थापाको गुनासो छ ।

पोखरा

तनहुँको व्यास नगरपालिका–५ अलैँचेका सन्तबहादुर थापाले साँगेखोलामा माछा मार्न थालेको ३४ वर्ष पुग्यो । घरबाट माछा मार्न जाल बोकेर हिँडेको दिनमा उहाँ खाली हात फर्किनुपरेन । दिनमा १० किलोसम्म माछा मारेर बिक्री गर्नुभएका उहाँलाई आजभोलि दिनमा एक/दुई किलो माछा मार्न पनि मुस्किल छ ।

साँगेखोलामा माछा मार्न जाल हानिरहेका बेला भेटिनुभएका थापाले आजभोलि खोलामा माछा पाउनै गाह्रो भएको गुनासो गर्नुभयो । थापाले भन्नुभयो, “करेन्ट लगाउने, विष हाल्ने प्रवृत्ति बढेपछि आजभोलि माछा लोप हुँदै गएको छ । माछा पाउनै छाडियो ।” थापाका अनुसार जाल हानेर भन्दा करेन्ट र विष हाल्दा बढी र छिटो माछा पाइने भएकाले युवाले यसको प्रयोग गर्न थालेका छन् । जाल बोकेर दिनभरि हिँड्दा आफूले १० किलोसम्म माछा मारेको अनुभव सुनाउँदै थापाले अहिले मुस्किलले दुई किलोसम्म माछा मार्ने गरेको बताउनुभयो ।

कुनै समय माछाका लागि प्रसिद्ध रहेको यस खोलामा अहिले विषादी प्रयोगले माछामा कमी आएकाले विष र करेन्ट प्रयोगलाई नियन्त्रण गर्नुपर्ने थापाले माग गर्नुभयो । व्यास नगरपालिका–५ पतेनीका जितबहादुर दरैले दुई वर्षदेखि साँगेखोलामा माछा मार्दै आउनुभएको छ । घर निर्माणको काम गर्ने दरैले फुर्सदको समयमा खोलामा माछा मार्ने गरेको बताउनुभयो । “पहिला–पहिला खुट्टामा माछा ठोक्किन्थ्यो, तर अहिले माछा पाउन गाह्रो छ,” दरैले भन्नुभयो ।

दरैले बढीमा छ/सात किलोसम्म माछा मार्ने गरेको बताउँदै अचेल दुई किलो मार्न धौधौ पर्ने जानकारी दिनुभयो । उहाँका अनुसार साँगेखोलामा माछा निकै कम रहेको छ । विष र करेन्ट प्रयोगले माछा लोप हुँदै गएको हुन सक्ने दरैले बताउनुभयो । “पहिला–पहिला प्रशस्त माछा पाइने साँगेखोलामा माछा लोप हुँदैछ, विष र करेन्ट हान्ने कार्यलाई सम्बन्धित निकायले रोक लगाउनुपर्छ”, उहाँले भन्नुभयो । बल्छीको प्रयोगले आफूले माछा मार्ने गरेको उहाँले सुनाउनुभयो । साँगखोलाको माछा किलोको रु एक हजार २०० सम्म बिक्री हुने गरेको छ । माछाका लागि बजारको कुनै समस्या नरहेको र माछा बेचेर घरखर्च चलाउन सहयोग पुगेको दरैले बताउनुभयो । करेन्ट प्रयोग र विष प्रयोगले खोलामा रहेका माछासँगै अन्य जलप्राणी पनि लोप हुने भएकाले सम्बन्धित निकायले यसलाई रोक लगाउनुपर्ने आवाज उठ्न थालेको छ ।

रासस

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja