देशभर रोपाइँ : चितवनमा दुई प्रतिशत मात्र



पोखरा

वर्षा नहुँदा मध्य असारसम्म पनि जिल्लामा थोरै जग्गामा धान रोपाइँ भएको छ ।

देशभर किसानले दही चिउरा खाएर रमाइलो गर्दा यहाँका किसान धान रोपाइँ गर्न आकाशतिर हेरेर पानीको पर्खाइमा छन् । कृषि ज्ञान केन्द्र भरतपुरका बाली विकास अधिकृत माधव पौडेलका अनुसार शुक्रबारसम्म दुई दशमलव पाँच प्रतिशत मात्र धान रोपाइँ भएको छ । मनसुन सक्रिय नभएका कारण किसानले धान रोप्न नपाएको उहाँले बताउनुभयो । गत वर्ष यतिबेला १५ प्रतिशत धान रोपाइँ भएको थियो । बीउ डढ्दा उत्पादन घट्ने कृषकलाई चिन्ता छ । जिल्लामा २८ हजार छ सय हेक्टरमा बर्खे तथा र पाँच सय हेक्टरमा चैते धान रोप्ने गरिएको पौडेल बताउनुहुन्छ । बर्खे धानको उत्पादकत्व तीन दशमलव चार मेट्रिक टन तथा चैते धानको उत्पादकत्व चार दशमलव दुई मेट्रिक टन रहेको छ ।

यसैबीच कृषि ज्ञान केन्द्र र भरतपुर महानगरपालिकाको सहयोगमा पश्चिम चितवनको दिव्यनगरमा १६औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । बृहस्पति धानबाली पकेट सञ्चालक समितिले कार्यक्रमको आयोजाना गरेको हो । कार्यक्रममा सांसद कृष्णभक्त पोख्रेल, प्रदेशसभा सदस्य घनश्याम दाहाल, प्रजिअ जितेन्द्र बस्नेत र कृषि ज्ञान केन्द्रका प्रमुख सुधिर श्रेष्ठले एकीकृत खेती प्रणाली अपनाएर उत्पादकत्व बढाउनुपर्नेमा जोड दिनुभयो ।

बोरिङको पानीले रोपाइँ महोत्सव

दाङको तुलसीपुर उपमहानगरपालिका–१५ कञ्जुवारमा बोरिङको पानीले रोपाइँ महोत्सव गरिएको छ । उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कञ्जुवारमा डिप बोरिङको पानी जम्मा गरी रोपाइँ महोत्सव गरिएको बताउनुभयो । तुलसीपुर उपमहानगर कृषि शाखाका कुलराज चौधरीका अनुसार आजसम्ममा आधा रोपाइँ भइसक्नुपर्नेमा पानी नपर्दा न्यून रुपमा धान रोपाइँ गरिएको छ । “सिँचाइको निकै समस्या छ, डिप बोरिङ, लिफ्टिङ र स्यालो ट्युवेलमार्फत रोपाइँ गर्न थालेका छौँ”, उहाँले भन्नुभयो । अधिकांश खेतमा आकासे पानीको भरमा धान रोपाइँ हुने गरेको छ । जिल्लामा ३९ हजार हेक्टर जग्गा धान उत्पादनका लागि उपयुक्त छ । गत वर्ष करीब ३७ हजार हेक्टरमा मात्रै धान रोपाइँ गरिएको थियो । तीस ३० हजार हेक्टर जग्गामा आकासे पानीको भरमा धान रोपाइँ गर्ने गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख कृष्णबहादुर बस्नेतले बताउनुभयो ।

सिन्धुलीमा तीन प्रतिशत रोपाइँ

पर्याप्त वर्षा नहुँदा हालसम्म जिल्लामा तीन दशमलव पाँच प्रतिशत मात्र धान रोपाइँ सकिएको छ । सिँचाइको अभावमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले बताउनुभयो । गत वर्ष असार १५ गतेसम्ममा झण्डै ४५ प्रतिशत खेतमा धान रोपाइँ गरिएको थियो । असार मध्यसम्ममा जिल्लाको १६ हजार ४८२ हेक्टरमध्ये ५७६ हेक्टरमा मात्र धान रोपाइँ गरिएको ढकालले बताउनुभयो । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, तीनपाटन गाउँपालिका र मरिण गाउँपालिकाको केही ठाउँमा धान रोपाइँ भए पनि सुनकोशी गाउँपालिका, गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकामा धानको ब्याड राख्न समस्या भएको छ ।

बाँकेमा दुई प्रतिशत धान रोपाइँ

धान दिवस सम्पन्न भइसक्दासम्म बाँकेमा पर्याप्त रुपमा धान रोपाइँ हुन सकेको छैन । सिँचाइ सुविधा भएका केही ठाउँमा रोपाइँ गरिए पनि आकासे पानीको भर पर्नुपर्ने ठाउँमा किसानले रोपाइँ गर्न नसकेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालले बताउनुभयो । जिल्लामा हालसम्ममा दुई प्रतिशत मात्र रोपाइँ गरिएको छ । सिँचाइ सुविधा भएको खजुरा गाउँपालिकाको गौघाटलगायत केही वडामा मात्र धान रोपाइँ गरिएको छ । जिल्लाको झण्डै ५२ हजार हेक्टर खेतीयोग्य जमीनमध्ये २७ प्रतिशतमा सिँचाइ सुविधा छ । जिल्लामा धान रोपाइँ हुने कूल ३६ हजार ५०० हेक्टर जग्गा छ । गत वर्ष प्रतिहेक्टर चार मेट्रिक टनका दरले एक लाख ४६ हजार मेट्रिक टन धान उत्पादन भएको थियो ।

बैतडीमा ४० प्रतिशत रोपाइँ

जिल्लामा ४० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । अधिकांश ठाउँमा आकासे पानीको भरमा रोपाइँ गरिएको हो । सिँचाइ सुविधा भएका ठाउँमा गत जेठ तेस्रो सातादेखि रोपाइँ शुरु भएको कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादर चन्दले बताउनुभयो । दशरथचन्द नगरपालिकाको सेरा, रातामाटा, पञ्चेश्वर, गोकुलेश्वरलगायत महाकाली, सुर्नया र जमाडी गाडको छेउछाउमा चैते मकै भित्र्याएपछि धान रोपाइँ गरिन्छ । रोपाइँ गर्न असार उपयुक्त मानिने चन्द बताउनुहुन्छ । पाटन नगरपालिकाको पाटन र सलेना, डिलासैनी गाउँपालिका, सिगास गाउँपालिका तथा दशरथचन्द नगरपालिका धानखेतीको पकेट क्षेत्र हो । जिल्लामा नौ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja