पार्टी वैचारिक दृष्टिकोणले चल्नुपर्छ



पोखरा

(नेपाली काँग्रेस निती तथा अनुसन्धान प्रतिष्ठान विभाग केन्द्रिय सदस्य तथा महाधिवेसन प्रतिनिधि ईश्वर दत्त बरालसँग पोखरा आजले लिएको अन्तरवार्ता)

काँग्रेसलाई कस्तो निती नियम ल्याएर परिवर्तन गर्न सकिन्छ अथवा देश र जनताको भावना बुझेर काँग्रेस अगाडि बढ्न के गर्नुपर्छ? केपी ओली सरकारको काण्ड मात्र उजागर गरेर काँग्रेस सत्तामा आउन खोजेको हो की?
अहिलेको परिस्थितिलाई हेर्ने हो भने कम्युनिष्टले काँग्रेस, काँग्रेसले कम्युनिष्ट तथा अन्य राजनीतिक पार्टिहरुबिच एकअर्कालाई दोष लगाएर आफु बलियो भइन्छ भन्ने मानसिकताले दोष लगााइरहेका छन् । वास्तवमा जुन मान्छे या पार्टी या संगठनको विचार, दृष्टिकोण, तागत,कार्यक्रम हुँदैन, त्यसले गालि गर्छ ।

काँग्रेससँग तागत छैन?
विपी कोइरालापछि नेपाली काँग्रेसमा विचार त्यति सम्प्रेषण भएको, विचारले समाजलाई निर्देशित गर्न खोजेजस्तो देखिँदैन । गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइरालामा केहि त्यागहरु पाइन्छ तर विपी कोइरालाले जस्तो पार्टीलाई, कार्यकर्ता तथा कार्यक्रमहरुलाई विचारद्वारा निर्देशित गर्नुपर्छ भन्ने उहाँहरुमा खासै पाइँदैन । अहिलेका सभापति शेर बहादुर देउवाको पालासम्म आइपुग्दा पार्टीलाई व्यक्तिगत स्वार्थमा केन्द्रित गराएको, पार्टीमा आफ्नो मान्छे राख्ने प्रवृति पाइन्छ । यसैले पार्टीलाई कमजोर बनाएको छ ।

अहिले काँग्रेसकै कति कार्यकर्ताहरुले शेरबहादुरकै कारणले पार्टी कमजोर भएको र फेरि उहाँ पार्टी सभापतिमा लड्नुभयो भने पार्टी छाड्ने बताएका छन्, तर तपाईँले गणेशमानसिंह हुँदै गिरिजाप्रसाद कोइरालाकै पालादेखी पार्टी कमजोर भएको बताउनुभयो नि
शेर बहादुर देउवा पार्टी सभापति भएपछि पार्टीभित्रका कमजोरी, पार्टीभित्रका विकृतिहरु स्वभाभिक रुपमा लिनैपर्छ । तर मैले भन्न खोजेको के हो भने यो परिस्थितिको निर्माण किन भयो भन्ने महत्वपूर्ण हो । सभापतिले या अरु कसैले के कति गल्ति गरे भन्ने कुनै पनि चिजको परिणाम एकैचोटि देखिने होइन । अहिले काँग्रेसमा भएको विभाजन हिजोदेखिकै विकृतिको भोलुम बढ्दै गएको हो । पार्टीभित्र अहिले व्यक्तिगत स्वार्थको लागि लडाईँ गर्ने धेरै छन् । जबसम्म व्यक्तिगत स्वार्थको लागि लडाईँ भइरहन्छ तबसम्म पार्टी कमजोर भइरहन्छ । पार्टी कमजोर भएको अर्को कारण पार्टीमा भएको गुटबन्दीले पनि हो । शेरबहादुर देउवा, रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौलालगायतका नेताहरुमा आन्तरिक द्वन्द्व छ । राजनीतिक विचार हराएको छ, जसले गर्दा पार्टीलाई कमजोर बनाउँदै लगेको छ ।

पार्टीलाई अगाडि बढाउन के गर्नुपर्ला ?
पार्टी एक्कासी कमजोर भएको होइन । विपीपछिका काँग्रेस अग्रजहरुले जुन गल्ति दोहोर्याए, त्यो अब हट्नुपर्छ । गल्ती कहाँबाट सुरु भयो त्यसलाई पत्ता लगाई पार्टीमा सुधार गर्ने निती ल्याइनुपर्छ । पार्टीभित्र निती तथा कार्यक्रम ल्याउने, पार्टीमा विचार सम्प्रेषण गर्ने गर्नुपर्यो । पार्टीभित्र हाबी भएको व्यक्तिगत स्वार्थको लडाइँ हटि विचारको लडाइँ हुनुपर्यो अनि त्यसको बहस हुनुपर्यो । जहाँ विचारको द्वन्द्व हुन्छ, त्यहाँ द्वन्द्वपछि फेरि पार्टीभित्र एकता हुन्छ । पार्टी भनेको विचार हो, त्यसकारण अब पार्टीले विचारहरु लिएर हिँड्नुपर्यो । कुनै सभापति या पार्टीको उच्च पदमा भएको व्यक्तलाई पार्टीलाई उचाइमा लैजान सबैले साथ दिनुपर्यो, जसको कारणले गर्दा सभापति लगायतका पार्टीको जिम्मेवारी सम्हालेकाहरुलाई पार्टीको जिम्मेवारी बोध होस् ।

नेपाली काँग्रेसलाई कसरी सुदृढिकरण गरेर पहिलो पार्टी बनाउन सकिन्छ?
नेपाली काँग्रेसले आफुलाई समाजवादी पार्टी हो भनेर मान्ने हो भने , नेताले आफु समाजवादी भएको चरित्र सार्वजनिक रुपमा जनताले बुझ्ने गरी इम्प्रेसन दिन सके भने पार्टी पहिलो बन्ने सम्भावना हुन्छ । समाजवाद भनेको सम्पत्ति बाँड्ने मात्र नभई आचरण र अनुसाशन पनि हो । जबसम्म यी गुणहरु नेतामा हुँदैन, तबसम्म उनीहरुले नेतृत्व गरेर पार्टी समाजवाद हुँदैन र जनताले पनि पत्याउँदैनन् । नेताहरुले चारित्रिक शुद्धता र आर्थिक शुद्धताको प्रमाण जनतालाई सार्वजनिक रुपमा दिनुपर्छ ।

फरक सन्दर्भमा, काँग्रेसले गरेको जागरण अभियानले नेपाली काँग्रेस कत्तिको जागृत भयो?
जागरणले पार्टी संगठन र कार्यकर्ताहरुबिच क्रियाशिलता ल्याउने काम गरी केहि उपलब्धी अवश्य दिएको छ । तर त्यसले पार्टीमा ठूलो परिवर्तन आइहाल्यो, काँग्रेस बलियो भइहाल्यो भन्ने मलाई लाग्दैन ।

अब काँग्रेस कस्तो खालको कार्यक्रम लिएर जनतामा जानुपर्छ ?
ठुलाठुला भाषण गरेर, कम्युनिष्टलाई गालि गरेर, गाउँगाउँमा गएर प्रचार गरेर मात्र पार्टी बलियो हुँदैन । यसका लागी नेताहरु सुध्रिनुपर्यो, नेताहरुले चारित्रिक शुद्धता र आर्थिक शुद्धताको प्रमाण जनतालाई सार्वजनिक रुपमा दिनुपर्यो, स्पष्ट रुपमा आफ्ना दृष्टिकोणहरु विचार गरेर बैठक बसेर ल्याउनपर्छ । अहिलेको बजेट बाँडेको जसरी बाँड्नु भएन । अनुभवि नेताहरुले अरु नेताहरुलाई पनि जिम्मेवारी हस्तान्तरण गरी लिडरसिपको मौका दिनुपर्यो ।

नेता र कार्यकर्ताहरुमा भएका समस्याहरु हटाउन कस्तो खालको प्रशिक्षण कार्यक्रमहरु गर्नुपर्ला?
मलाई के लाग्छ भने पार्टीभित्र जुन अनुशासनहिनता, भ्रष्टाचार छ र त्यसलाई अन्त्य गर्न पार्टी जुन तरीकाले लागेको छ , त्यहि तरिकाले पार्टिले भ्रष्टाचार नियन्त्रण गर्न सक्दैन । आर्थिक भ्रष्टाचारले नैतिक भ्रष्टाचार पनि गराउँछ । त्यसकारण आचरणकै शुद्धता हुनु जरुरी छ । हरेक नेता तथा कार्यकर्ता कुनै न कुनै रुपमा व्यावसायिक हुनुपर्यो । नेताले भाषण गरेर मात्र हुँदैन, कुनै न कुनै आय आर्जनको गतिविधिमा पनि संलग्नता हुनुपर्यो । नेताले पनि काम गर्छन भन्ने कुराले जनताले उसको आर्थिक शुद्धतालाई पत्याउँछन्, र उसलाई भ्रष्टाचार गर्नुपर्दैन भन्ने कुरा बुझ्छन् ।
अर्को कुरा, नेता कार्यकर्तामा टिम वर्क हुनुपर्यो र विकासका खाका कोरी छलफल गर्ने हुनुपर्यो । पदमै पुग्नुपर्छ भन्ने मान्छेमा भएको धारणालाई पदमा नरहे पनि विकास गर्न सकिन्छ भन्ने कुरा बुझाउने तालिम गर्नुपर्छ । नेताहरुले राजनीति भनेको सेवाको लागि हो र राजनीतिमा लागेको मान्छेले कमाउन पाउँदैन भन्ने जब हामीले बुझाउन सक्छौँ तब नेता कार्यकर्ताका केहि समस्याहरु हट्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja