गाउँपालिकाबाट मगर भाषामा पढाइ शुरु



पोखरा

जिल्लाको माछापुच्छ्रे गाउँपालिकाले मगर जातिको बाहुल्य रहेको वडा नं ५ रिभान मोहरास्थित माछापुच्छ्रे आधारभूत विद्यालयमा सोही भाषाको पढाइ शुरु गरेको छ ।

शुक्रबार विद्यालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य रामजी बराल र गाउँपालिका प्रमुख कर्ण गुरुङले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वबहादुर रानालाई मगर भाषाको पाठ्यपुस्तक हस्तान्तरण गरेर पठनपाठन शुरु भएको घोषणा गर्नुभयो । संविधानले नेपालमा बसोबास गर्ने प्रत्येक नागरिकलाई कानूनबमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने हकको व्यवस्था गरेसँगै ४८ घरधुरीमध्ये ४६ मगर समुदाय रहेको सो गाउँको विद्यालयमा जिल्लामै पहिलोपटक मगर भाषाको शिक्षण शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

विसं २०३१ मा स्थापना भएको सो विद्यालयमा हाल २७ बालबालिका अध्यनरत रहेकोमा २६ मगर जातिका रहेको विद्यालयका प्रधानाध्यापक जीवनाथ अधिकारीले बताउनुभयो । आधारभूत तहमा १०० पूर्णाङ्कको स्थानीय भाषाको पाठ्यक्रम अध्यापन गराउन सकिने प्रावधानअनुसार मगर सङ्घले प्रकाशन गरेको ‘मगराती ढुट्’ कक्षा चार र पाँचमा पढाइने र ‘मगर ढुट् पाहाक’ कक्षा तीन तथा एक र दुईमा पनि सोही भाषाको विषय अध्यापन गरिने विद्यालयले जनाएको छ । चार जना शिक्षकको दरबन्दी रहेको विद्यालयमा एक जना मगर भाषा बोल्ने शिक्षक रहेको र तुरुन्तै अर्को पनि सोही भाषाको शिक्षक नियुक्त गरी भाषा अध्यापन गरिने प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।

मातृभाषामा शिक्षा लिन पाउने बालबालिकाको संवैधानिक अधिकारलाई सुनिश्चित गर्नको लागि गाउँपालिकाको तेस्रो गाउँसभाले पारित गरेको नीतिअनुसार मगर समुदाय बाहुल्य सो विद्यालय छनोट गरिएको गाउँपालिकाका प्रमुख गुरुङले बताउनुभयो । प्रमुख गुरुङले मातृभाषाको माध्यमबाट लिइने शिक्षाले सिकाइ उपलब्धि बढ्नुका साथै अरु भाषा सिक्न मद्दत पुग्ने र मातृभाषाको संरक्षण हुने उल्लेख गर्नुभयो । उहाँले वडा नं २ को अर्को तामाङ बाहुल्य विद्यालयमा पनि यसै वर्षभित्रमा तामाङ भाषाको पठनपाठन शुरु गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja