पशुको स्वस्थ्यका लागि परजीवी नियन्त्रण आवश्यक



पोखरा

पशु स्वास्थ्यमा देखिएको परजीवी प्रकोप नियन्त्रण गर्न सकेमा मुलुकमा पच्चीस प्रतिशतले उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घको चौथो स्थापना दिवसका अवसरमा पोखरा–२० स्थित मौजा आँटीघरमा आयोजित सरोकारवालासँगको अन्तरक्रिया तथा पशु स्वास्थ्य, बाँझोपन निवारण शिविरमा उक्त कुरामा जोड दिइएको हो । पशुको स्वास्थ्य परीक्षणमा देखिएको जुका, चुर्नालगायत विभिन्न खालका परजीवीका कारण उत्पादनमा कमी आउनाका साथै मानव स्वास्थ्यमा समेत असर पर्ने गरेको छ ।

पोखरा महानगरपालिका–२० का वडाध्यक्ष सिम गुरुङले कृषकहरूलाई पशुका लागि आवश्यक औषधि वितरण गर्र्दै गोठदेखि ओठसम्म शुद्धताको खाँचो आवश्यक रहेकामा जोड दिनुभयो । व्यावसायिक बाख्रापालनको पकेट क्षेत्रको रुपमा रहेको पोखराको विकट मौजा गाउँका किसानका गोठमा देखिएको पशु स्वास्थ्यको अवस्था र उपचारमा सहयोग गर्न प्राविधिक टोलीलाई आग्रह गर्दै उहाँले त्यसका लागि महानगर र वडास्तरबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मौजा बाख्रापालन कृषि सहकारी संस्थाका अध्यक्ष दुर्गाबहादुर गुरुङले गाउँबाट वार्षिक रु ७० लाख बराबरको खसी र बोका बिक्री हुँदै आएको जानकारी गराउँदै सरकारबाट पाउने अनुदान वास्तविक किसानले सुलभ रूपमा पाउनुपर्ने माग गर्नुभयो ।

नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक सङ्घ नेपालका महासचिव सुरेशकुमार श्रेष्ठले उत्पादनमा वृद्धि र कृषकको समृद्धिका लागि ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा पशु तथा कृषि प्राविधिकको व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । शिविरमा पशुको शारीरिक विकास र परजीवी नियन्त्रणका साथै बाँझोपनबाट जोगाउने खालका रु ४० हजार मूल्य बराबरका विभिन्न औषधि कृषकलाई निःशुल्क वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja