पहिराको जोखिममा तनहुँका ३६ वडा
पोखरा
केही दिनअघि परेको वर्षापछि आएको बाढी र पहिरामा परी देशका विभिन्न जिल्लामा ६९ जनाको ज्यान गयो ।
अरु ३८ जना घाइते भए र ३१ जना बेपत्ता छन् । सो¥ह हजारभन्दा बढी घरपरिवार विस्थापित भए । प्रत्येक वर्ष बाढी र पहिराबाट धेरै नेपालीले ज्यान गुमाइरहेका छन् । तनहुँ जिल्लामा यस वर्ष बाढी र पहिराबाट क्षति भएको छैन । गत असार २९ गते राति परेको वर्षाले म्याग्दे गाउँपालिका–१ गुणादीमा एक घर भने पहिराले भत्काएको छ जसबाट रु ७/८ लाख क्षति भएको अनुमान गरिएको छ ।
जिल्लामा अहिलेसम्म बाढी र पहिराले क्षति नपु¥याए पनि ८५ मध्ये ३६ वडा भने पहिराको जोखिममा छन् । जिल्ला विपद् व्यवस्थापन समिति तनहुँले बनाएको विपद् प्रतिकार्य योजनानुसार जिल्लाका दश वटै स्थानीय तहका ३६ वडा पहिको जोखिममा रहेको पाइएको छ । पहाडी तथा भिरालो भूबनोटका कारण अधिकाँश क्षेत्रमा पहिको बढी जोखिम छ । यस्तै आगलागी, बाढी, खडेरी र सडक दुर्घटनाको जोखिम पनि जिल्लामा उत्तिकै रहेको समितिले जनाएको छ ।
शुक्लागण्डकी नगरपालिका–१, १०, भिमाद नगरपालिका–१, ५, ६, ७, ८, भानु नगरपालिका–४, ६, १०, ११, व्यास नगरपालिका–७, ८, ९, ११, १२, आँबुखैरेनी गाउँपालिका–४ र ६ पहिरोको जोखिममा छन् । त्यस्तै, रिसिङ गाउँपालिका–१, २, ६, ७, ८, घिरिङ गाउँपालिका–३, ४, ५, बन्दीपुर गाउँपालिका–१, २, ४, ५, ६, म्याग्दे गाउँपालिका–१, २, ३ र देवघाट गाउँपालिका–४ र ५ पनि पहिरोको उच्च जोखिममा छन् ।
त्यस्तै बाढीबाट जिल्लाका २९ वडा जोखिममा छन् । व्यास नगरपालिका–१, २, ३, ५, ५, ७, ८, १०, ११, १३, आँबुखैरेनी गाउँपालिका–१, २, ३, ४, शुक्लागण्डकी नगरपालिका–२, ३, ५, ५, ६, ७, ८, ९, १०, भानु नगरपालिका–११, १३, भिमाद नगरपालिका–१, देवघाट गाउँपालिका–४ र बाढीको जोखिममा छन् ।
यसका अलावा रिस्ती, साँगेखोलासँग जोडिएका नगरपालिका र गाउँपालिकाहरु, नाउदी र पाउदी खोलासँग जोडिएका नगरपालिका र गाउँपालिका, क्याङ्दी, चुँदी, मादीसेती, फिर्दी खोला र चुँदीखोलासँग जोडिएका नगरपालिका र गाउँपालिका पनि बाढीको जोखिममा छन् । विगतको घटनाका आधारमा पहिरो, बाढी, आगलागी, खडेरी लगायतबाट जोखिम क्षेत्र पहिचान गरिएको विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताउनुभयो । “पहिरो, बाढी, आगलागी, चट्याङ जिल्लाको प्रमुख प्रकोपहरु रहेकाले विपद्को अवस्थामा तयार रहने स्थितिको सिर्जना गर्न आवश्यक छ,” प्रजिअ पण्डितले भन्नुभयो – “त्यसैको तयारी स्वरुप विपद् प्रतिकार्य योजना निर्माण गरेर अगाडि बढेका छौं ।”
विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमाका लागि सङ्कटासन्नता र क्षमताको विश्लेषणका आधारमा आठ वटा विषयगत क्षेत्रहरु निर्धारण गरिएका छन् । “यस योजनाले कार्यान्वयन गर्ने संस्था र सहयोगी संस्थाहरुको भूमिका तथा जिम्मेवारीहरु स्पष्ट रुपमा पहिचान गरेको छ,” प्रजिअ पण्डित भन्नुहुन्छ – “हरेक विषयगत क्षेत्रलाई एक निश्चित संस्थाले नेतृत्व गरेको छ ।” पण्डितका अनुसार जिल्लाभित्र विपद् सम्बन्धी कुनै घटना घटेको जानकारी हुनासाथ कार्ययोजनामा उल्लिखित क्षेत्रगत अगुवा निकायहरु एवं सहयोगी संस्थाहरु सक्रिय हुनेछन् ।
जिल्लामा समन्वय तथा सूचना व्यवस्थापन, खोजतलास तथा उद्धार, खाद्य व्यवस्थापन, आपत्कालीन आवास तथा गैर खाद्य सामग्री, खानेपानी, सरसफाइ र स्वास्थ्य प्रबद्र्धन, स्वास्थ्य तथा पोषण, आपत्कालीन शिक्षा र संरक्षण गरी आठ विषयगत क्षेत्र गठन भएका छन् । आपत्कालीन अवस्थामा उद्धार गर्न जिल्लामा पर्याप्त मात्रामा सामग्रीहरु तयारी अवस्थामा राखिएका छन् । कृष्णदल गणले सेनानीको कमाण्डमा एक गुल्म फौज, बञ्चरो, फायर स्वाटर, फायर रेक, फायर साभेल, एक्सटिङ्गुइसर, क्याराबिनर फिगर, लाइफ ज्याकेट लगायतका सामग्री व्यवस्थापन गरेको प्रमुख सेनानी अनन्तबहादुर सिंहले जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयले उद्धारका लागि २५ जनाको प्रहरी टोली, ट्युब, नाइलन डोरी, स्टेचर, लाइफ ज्याकेट, कोदालो, गैंची, बञ्चरो, भ¥याङ, सशस्त्र प्रहरी बल नेपाल नं २३ गणले प्रहरी निरीक्षकको कमाण्डमा ५५ जनाको प्रहरी टोली, लाइफ ज्याकेट, ट्युब, फलामको गल, प्लाष्टिक डोरी, जगदल गणले अधिकृतको कमाण्डमा फौज, फायर पञ्जा, लाइफ ज्याकेट, दङ्गा नियन्त्रण सुट, नेपाल रेडक्रस सोसाइटीले खाद्यान्न राहत सामग्री, तालीम प्राप्त जनशक्ति, स्वास्थ्य कार्यालयले उपचार टोली, इमर्जेन्सी बफर स्टक औषधि, स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखेको छ ।
त्यस्तै शिक्षा, विकास तथा समन्वय इकाई, कृषि ज्ञान केन्द्र, सडक डिभिजन कर्याालय, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, भू तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालय, गैरसकारी संस्था महासङ्घ, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय लगायतले पनि विपद्का बेला आवश्यक सामग्रीको व्यवस्थापन गरी तयारी अवस्थामा राखेको छ । विपद् व्यवस्थापन समितिले बाढीपहिरो, आगलागी, हावाहुरी लगायत विपद्को प्रतिकार्य योजना बनाएको प्रजिअ पण्डित बताउनुहुन्छ । “हालसम्म विपद्बाट जिल्लामा अप्रिय घटना नभएपनि पूर्व तयारीका काम शुरु गरिसकेका छौ,” प्रजिअ पण्डितले भन्नुभयो, “वर्षात्को समयमा राजमार्गमा अवरोध आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै शुक्लागण्डकीको दुलेगौंडा र आँबुखैरेनीमा ठूला उपकरणको व्यवस्थापन गरेका छौं ।”
सम्भावित विपद् पर्दा खटिनुपर्ने राष्ट्रसेवकहरुलाई आवश्यक अवस्थामा बाहेक बिदा नबस्न, बस्नै परेमा आलोपालो गरी सम्भाव्य कार्यमा बाधा नहुने गरी मात्र बस्ने व्यवस्था मिलाइएको छ । जिल्लाका दश स्थानीय तहले विपद् व्यवस्थापनका लागि रु एक करोड भन्दा बढीको विपद् कोष स्थापना गरेका छन् । विपद्बाट पीडित हुने सर्वसाधारणका लागि राहत, आगलागी नियन्त्रण, महामारी नियन्त्रण लगायतका काम गर्ने उद्देश्य सहित स्थानीय तहले आर्थिक वर्ष २०७६/७७ का लागि रु एक करोड २७ लाखको विपद् व्यवस्थापन कोष स्थापना गरेका हुन् ।
चार नगरपालिका र छ गाउँपालिका रहेको तनहुँमा धेरै स्थानीय तहले विपद् व्यवस्थापन सञ्चालन कार्यविधि र ऐन निर्माण गरेका छन् केही स्थानीय तहले कार्यविधि निर्माणको प्रकृया शुरु गरेका छन् । जिल्लाको सबैभन्दा ठूलो नगरपालिका व्यास नगरपालिकाले विपद् व्यवस्थापनका लागि रु ३० लाखको कोष स्थापना गरेको छ ।
विपद् व्यवस्थापन कोषका लागि भानु नगरपालिकाले रु ३० लाख, भीमाद नगरपालिकाले रु २० लाख र शुक्लागण्डकी नगरपालिकाले रु १० लाख विनियोजन गरेका छन् । त्यसैगरी, बन्दीपुर गाउँपालिकाले रु १० लाखको कोष स्थापना गरेको छ ।
विपद् व्यवस्थापन कोषका लागि देवघाट गाउँपालिकाले रु १० लाख, म्याग्दे गाउँपालिकाले रु ७ लाख, रिसिङ गाउँपालिकाले रु ५ लाख, घिरिङ गाउँपालिकाले रु ५ लाख, आँबुखैरेनी गाउँपालिकाले रु १० लाख विनियोजन गरेका छन् ।
RSS